शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : कर्जाको ब्याजदर महँगियो, कोरोना सङ्क्रमण बढ्यो

मङ्गलबार, २४ साउन २०७९, २१ : ०३
मङ्गलबार, २४ साउन २०७९

आज २०७९ साउन २४ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

बाबुराम पनि सत्ता गठबन्धनमै

प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई पनि पाँच दलीय सत्ता गठबन्धनमा समेट्ने बताएका छन् । बाबुरामलाई सँगै लिएर जान गठबन्धन तयार रहेको पनि उनको भनाइ छ ।

‘एउटा पसल थापिहालौँ, थोत्रो माल बेचिहालौँ’ भनेर पार्टी एकीकरण गरिएको होइन भनेका बाबुरामले २०७९ असारमा सोही पार्टीलाई ‘क्षेत्रीयतावादी’ आरोप लगाउँदै आफूलाई त्यसबाट अलग तुल्याए । अहिले उनले नेपाल समाजवादी पार्टी गठन गरेका छन् । तर सुरुदेखि उनलाई साथ दिँदै आएका नेताहरू नेपाल समाजवादी पार्टी गठन गर्दासम्म उनको साथ छाडेर एकपछि अर्को गर्दै हिँडिरहेका छन् ।

कहाँ हरायो आदिवासी जनजाति आन्दोलन ?

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानमा २८औँ विश्व आदिवासी दिवस मनायो । वर्षमा एक पटक आदिवासी दिवस मनाउने कर्मकाण्डी बाहेक नेफिन अहिले सुतेको जस्तो देखिन्छ । नवलपरासीमा हालै सम्पन्न नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) को दसौँ महाधिवेशनबाट काँग्रेस समर्थित ग्याल्जेन लामा शेर्पा महासंघको अध्यक्षमा चुनिएका छन् । निवर्तमान अध्यक्ष जगत बराम त गुमनामै भए, बरु निवर्तमान उपाध्यक्ष गोविन्द छन्त्यालले संस्थालाई केही चलायमान बनाए ।

नेपाली चिया आयातमा कडाइ गर्ने भारतको तयारी

भारतले नेपालमा उत्पादित चिया आयातमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । भारतको यो तयारीका बीच  नेपाल सरकार भने चुपचाप बसिरहेको छ । भारतले नेपाली चिया आयातमा कडाइ गर्ने जानकारी पाएपछि राष्ट्रिय चिया तथा विकास बोर्डले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई जानकारी गराएको थियो ।​

बर्खास्त न्यायाधीशको तर्क

बर्खास्तीमा परेकी उच्च अदालतकी पूर्व न्यायाधीश रेणुका साहले योग्यता नपुगी न्यायाधीशमा नियुक्त भएको भए पनि न्यायाधीश नियुक्त भइसकेपछि त्यससम्बन्धी विषय उठाउन नपाउने जिकिर गरेकी छिन् । बर्खास्तीपछि पुनर्बहालीको माग गर्दै साउन १९ गते सर्वोच्च अदालतमा दायर रिटमा न्यायाधीश साहले न्यायाधीशमा नियुक्त भइसकेपछि योग्यतासम्बन्धी विषय हेर्ने अधिकार न्यायपरिषद्लाई नभएको जिकिर गरेकी हुन् ।

कर्जाको ब्याजदर महँगियो 

तरलता अभावको प्रत्यक्ष प्रभाव बैंकिङ ब्याजदरमा परेको छ । अघिल्लो वर्ष सरदर ७ प्रतिशत रहेको बैंकिङ आधारदर (बेसरेट) चालु आर्थिक वर्षको सुरुवातमा नै दोहोरो अंक नाघेको हो । 

कर्णालीमा गैरसांसदलाई ६ महिना मन्त्री

सुर्खेत । कर्णालीका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रहेका छिरिङ्ग डम्डोल (कार्चेन) लामाको ६ महिने कार्यकाल सोमबार सकिएसँगै उनी सरकारबाट बाहिरिएका छन् । गैर सांसदलाई संविधानले बढीमा ६ महिनासम्म मात्र मन्त्री बन्न छुट दिएको छ । सोही सुविधा अनुसार उनी ०७८ माघ २३ देखि ०७९ साउन २३ सम्म मन्त्री बनेका हुन् ।

कोरोना सङ्क्रमण बढ्यो

नेपालमा कोरोना सङ्क्रमणको ग्राफ निरन्तर उकालो लागिरहेको छ । सङ्क्रमण दर बढिरहँदा नमुना परीक्षण दर भने घट्दो छ । साउन १ गते ३ हजार ४१ नमुना परीक्षण गर्दा १३५ जनामा सङ्क्रमण पुष्टि भएको थियो । साउन २३ गते दैनिक सङ्क्रमितको सङ्ख्या बढेर ९३४ पुगिसक्दा पनि नमुना परीक्षण दर भने जम्मा ५ देखि ६ हजारको आसपासमा घुमिरहेको छ । 

गोकुल बास्कोटालाई कति सहज 

यसपटक काभ्रेको निर्वाचन क्षेत्र नम्बर–२ को चुनावी माहोल रोचक बन्ने देखिएको छ । बलियो संगठन भएको दावी गर्दै आएको नेकपा एमालेसँग पाँच दलीय गठबन्धनको भिडन्त रोचक हुने अनुमान गरिएको छ ।

देउवाका प्रतिस्पर्धी भट्ट कञ्चनपुरबाट चुनाव लड्ने 

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवम् सुदूरपश्चिम इन्चार्ज खगराज भट्टले कञ्चनपुरबाट चुनाव लड्ने तयारी गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुराबाट तीन पटक पराजित भएका भट्ट गठबन्धन भएपछि चुनाव लड्न कञ्चनपुर झर्ने तयारी गरेका हुन् ।

प्रहरीका १३१ जना डिएसपीको सरुवा

नेपाल प्रहरीका १३१ जना प्रहरी नायव उपरिक्षक (डिएसपी)हरुको सरुवा भएको छ । आईजीपी धीरज प्रताप सिंहले डिएसपीहरुको सरुवा गर्ने निर्णय गरेका हुन् । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप