बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पाल्पामा सोमप्रसाद पाण्डेयले जोगाउलान् वर्चश्व ?

गठबन्धन भर्सेस एमाले यस्तो छ अंकगणित
बुधबार, २५ साउन २०७९, ०७ : ४५
बुधबार, २५ साउन २०७९

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन मङ्सिर ४ गते हुने निधो भएसँगै दलहरु उम्मेदवार चयन तथा जित–हारको सम्भावित लेखाजोखामा व्यस्त हुन थालेका छन् । यसै क्रममा पाल्पा जिल्लामा पनि सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्ष नेकपा एमालेले चुनावी जोड-घटाउ गर्न थालेका छन् ।

प्रतिनिधिसभातर्फ २ वटा निर्वाचन क्षेत्र रहेको पाल्पामा २०७४ मा भएको निर्वाचनमा दुवै क्षेत्र एमालेले जितेको थियो । क्षेत्र नम्बर १ बाट एमालेका दल बहादुर राना र क्षेत्र नम्बर २ बाट एमालेकै सोमप्रसाद पाण्डेय प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

अहिले परिस्थिति केही बदलिएको छ । त्यतिबेला एमाले र माओवादी केन्द्रबीचको गठबन्धनमा एमालेले दुवै सिटमा जित हासिल गरेको थियो । तर अहिले एमाले विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीमात्र होइन, माओवादी, नेपाली काँग्रेससहितको गठबन्धन एमालेका लागि ठुलो चुनौती बन्ने देखिएको छ ।

पाल्पा क्षेत्र नम्बर २ बाट निर्वाचित सोमप्रसाद पाण्डेय अहिले नेकपा एकीकृत समाजवादीमा छन् । उनी सोही पार्टीबाट गठबन्धनका उम्मेदवारका रुपमा प्रतिनिधिसभा निर्वाचनमा उत्रने तयारी गरिरहेका छन् । एकातिर पार्टी विभाजन भएको अवस्था र अर्कोतिर पाँच दलीय गठबन्धन एकजुट भएको परिस्थिति नेकपा एमालेका लागि प्रतिकुल हुने देखिन्छ ।

पाल्पा क्षेत्र नम्बर १ :

अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट निर्वाचित एमालेका दलबहादुर राना फेरि उम्मेदवार बन्ने तरखरमा छन् । एमालेबाटै राधाकृष्ण कँडेल, प्रदेशसभा सदस्य नारायण आचार्य पनि उम्मेदवारका आकांक्षी छन् ।

राधाकृष्ण २०७० को संविधानसभा निर्वाचनमा एमालेबाट विजयी भएका थिए । उनी अहिले एमालेको लुम्बिनी प्रदेश इन्जार्जसमेत छन् । यस्तै, आचार्य सोही निर्वाचन क्षेत्र अन्तर्गत प्रदेशसभा (ख) बाट निर्वाचित हुन् । उनी एमालेका पूर्व जिल्ला अध्यक्षसमेत हुन् । त्यसकारण पाल्पा क्षेत्र नम्बर १ बाट एमालेलाई उम्मेदवार छान्न कठिन देखिन्छ ।

यो निर्वाचन क्षेत्रबाट अघिल्लो निर्वाचनमा उम्मेदवार बनेका काँग्रेसका विजयराज घिमिरे अस्वस्थ छन् । उनी दोहो¥याएर उम्मेदवार बन्ने सम्भावना कम छ । काँग्रेसबाटै ज्ञानबहादुर गाहा र देवराज ढकालको पनि चर्चा छ । गाहा नेपाली काँग्रेसको पाल्पा जिल्ला उपसभापति हुन् भने ढकाल पनि पार्टीको पूर्व जिल्ला उपसभापति हुन् ।

पाल्पा क्षेत्र नम्बर २ :

यो क्षेत्रबाट अघिल्लो निर्वाचनमा सोमप्रसाद पाण्डेय निर्वाचित भएका थिए । एमालेबाट निर्वाचित उनी अहिले नेकपा एकीकृत समाजवादीमा छन् । अघिल्लो निर्वाचनमा माओवादी केन्द्रको सहयोगमा निर्वाचित उनलाई आसन्न निर्वाचनमा सत्तारुढ गठबन्धनको सहयोग मिल्ने भएको छ ।

उता, एमालेबाट जिल्ला इन्चार्ज ठाकुर गैरे र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व सीइओ इन्जिनियर सुशील ज्ञवालीको नाम चर्चामा छ । युवा नेता गैरेले आफू कार्यकर्तामाझ भिजेका कारण चुनाव जित्न सहज हुने भन्दै लबिङ गरिरहेका छन् भने ज्ञवालीले पनि विकासका योजनामा आफू जोडिएकाले टिकट पाएमा जित्ने दाबी गर्दै आएका छन् ।

यता नेपाली काँग्रेसबाट वीरबहादुर राना, हरि प्रसाद नेपाल, नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा चिरञ्जीवी नेपालको नाम चर्चामा छ । राना पार्टीका निवर्तमान  जिल्ला सभापति तथा हाल लुम्बिनी प्रदेशको सिंचाई मन्त्री हुन् भने नेपाल यसअघि सोमप्रसाद पाण्डेयसँग पराजित भएका नेता हुन् ।

यद्यपि यो क्षेत्रमा प्रतिनिधिसभातर्फ नेकपा एकीकृत समाजवादीबाट सोमप्रसाद पाण्डेय उम्मेदवार बन्ने र प्रदेशसभातर्फका दुई सिटमा एउटा माओवादी केन्द्रले र अर्को सिट नेपाली काँग्रेसले लिने गरी उम्मेदवारको टुंगो लाग्न सक्ने जानकारहरु बताउँछन् ।

यस्तो छ अंकगणित

२०७४ सालको निर्वाचनमा पाल्पा क्षेत्र नं १ मा ३२ हजार ५४९ मत ल्याएर दलबहादुर राना विजयी भएका थिए । भने उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार विजय घिमिरेले २३ हजार ९९३ मत प्राप्त गरेका थिए ।

२०७४ मा पाल्पाको क्षेत्र नम्बर २ बाट एमालेका उम्मेदवार सोमप्रसाद पाण्डेले ३४ हजार ८९९ मत ल्याउँदै काँग्रेसका उम्मेदवार हरिप्रसाद नेपाललाई पराजित गरेका थिए । नेपालले २४ हजार ५५४ मत प्राप्त गरेका थिए ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पाल्पा १ मा एमालेका वडा अध्यक्षका उम्मेदवारहरूले ३४ हजार ७७१ मत पाएका छन् भने नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवारहरूले २७ हजार १५० मत पाएका छन् । यस्तै, माओवादीका वडा अध्यक्षका उम्मेदवारले एक हजार १६४ मत पाएका छन् ।

पाल्पा २ मा एमालेका वडा अध्यक्षका उम्मेदवारहरूले ३० हजार ५३६ मत पाएका छन् भने नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवारहरूले २९ हजार ०३९ मत पाएका छन् । यहाँ माओवादीका वडा अध्यक्षका उम्मेदवारहरूले ४ हजार ३१३ मत र नेकपा एकीकृत समाजवादीका वडा अध्यक्षका उम्मेदवारहरूले ४३३ मत पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप