शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

उच्च अदालतमा २७ न्यायाधीश पदका लागि दुई विशिष्ट श्रेणीसहित २७७ को निवेदन (नामावलीसहित)

तल्लो तहको पदमा जान पनि सचिवको दौडधूप !
बुधबार, २५ साउन २०७९, ०९ : ५२
बुधबार, २५ साउन २०७९

उच्च अदालतमा रिक्त २७ न्यायाधीशका लागि २७७ जनाको निवेदन परेको छ । न्याय परिषद्का अनुसार २७ सिटका लागि सबैभन्दा धेरै कानुन व्यवसायीबाट १६१ जनाले निवेदन पेस गरेका छन् । संविधान अनुसार उच्च अदालतको न्यायाधीश पदका लागि योग्यता पुगेका जिल्ला न्यायाधीश, न्याय सेवाका कर्मचारी, कानुन व्यवसायी लगायतले आवेदन दिएका हुन् । नेपालको संविधानको धारा १४० मा उच्च अदालतको मुख्य न्यायाधीश तथा न्यायाधीशको नियुक्ति र योग्यता सम्बन्धी व्यवस्था गरिएको छ ।

उक्त धाराको उपधारा २ मा ‘कानुनमा स्नातक उपाधि प्राप्त गरी जिल्ला न्यायाधीशको पदमा कम्तीमा ५ वर्ष काम गरेको वा कानुनमा स्नातक उपाधि प्राप्त गरी वरिष्ठ अधिवक्ता वा अधिवक्ताको रूपमा कम्तीमा १० वर्ष निरन्तर वकालत गरेको वा कम्तीमा १० वर्ष कानुनको अध्यापन, अन्वेषण वा कानुन वा न्याय सम्बन्धी अन्य कुनै क्षेत्रमा निरन्तर काम गरेको वा न्याय सेवाको कम्तीमा राजपत्राङ्कित प्रथम श्रेणीको पदमा कम्तीमा पाँच वर्ष काम गरेको नेपाली नागरिक उच्च अदालतको मुख्य न्यायाधीश तथा न्यायाधीशको पदमा नियुक्तिका लागि योग्य मानिनेछ’ भन्ने व्यवस्था रहेको छ ।

सोही संवैधानिक व्यवस्था अनुसार योग्यता पुगेका व्यक्तिहरुबाट आवेदन लिई २७ पदका लागि त्यसको तीन गुणा अर्थात् ८१ जनाको सर्ट लिष्ट प्रकाशनको तयारी भइरहको न्याय परिषद्ले जनाएको छ ।
न्याय परिषद्का अनुसार आवेदन दिनेमा दुई जना विशिष्ट श्रेणी (सचिव सरह) का उम्मेदवार पनि छन् । न्याय परिषद्का अनुसार विशिष्ट श्रेणीबाट सरकारी वकिल समूहका सचिव अर्थात् हाल महान्यायाधिवक्ता कार्यालयमा नायब महान्यायाधिवक्ता रहेका विश्वराज कोइराला र सरकारी वकिल समूहबाटै श्यामकुमार भट्टराईले उच्च अदालतका न्यायाधीशका लागि आवेदन दिएका छन् । भट्टराई हाल बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा सचिव पदमा कार्यरत छन् । 

नेपाल सरकारले जारी गरेको वरियताक्रम अनुसार नेपाल सरकारको सचिव वा विशिष्ट श्रेणीको पद १३ औं वरियताको पद हो भने उच्च अदालतको न्यायाधीश पद १४ औं वरियताको पद हो । यद्यपि केही सचिवहरुले भने लामो समयसम्म जागिर खानकै लागि आवेदन हालेका छन् । निजामति सेवामा ५८ वर्षसम्म मात्रै जागिर खान पाइन्छ भने उच्च अदालतको न्यायाधीश हुँदा ६३ वर्षसम्म जागिर खान पाइन्छ । आवेदन हालेका दुई सचिवमध्ये विश्वराज कोइरालाको अवधि करिब २२ महिना मात्रै बााकी छ । उनी उच्च अदालतको न्यायाधीश नबनेको अवस्थामा सचिवको ५ वर्षे कार्यकालका आधारमा उनी २०८१ जेठ महिनामा अवकाशमा जानेछन् । अर्का सचिव श्यामकुमार भट्टराई भने अझै साँढे तीन वर्ष सचिव पदमा काम गर्न पाउनेछन् । 

२७ जना न्यायाधीश पदका लागि जिल्ला अदालतमा न्यायाधीशका रुपमा कार्यरत ७५ जनाले आवेदन दिएका छन् । आवेदन दिनेमा २०६३ असारमा न्यायाधीश बनेका राधाकृष्ण उप्रेतीदेखि २०७२ साउन २१ गते न्यायाधीशमा नियुक्त भएकी अवनी मैनाली भट्टराईसमेत छन् । आवेदन दिनेमा जिल्ला न्यायाधीशको वरियतामा एक नम्बरमा रहेका राधाकृष्ण उप्रेती यसभन्दा अगाडि तीनपटकको उच्च अदालतको न्यायाधीश नियुक्तिमा छुटाइएका जिल्ला न्यायाधीश हुन् । 

त्यसैगरी यसपटक ११ जना अध्यापक, अन्वेषकहरुले पनि उच्च अदालतका न्यायाधीश पदका लागि आवेदन दिएका छन् ।  २७७ जनामध्ये १६१ जना कानुन व्यवसायी, ७५ जना जिल्ला न्यायाधीश, १३ जना न्याय समूहका कर्मचारी, ९ जना सरकारी वकिल समूहका कर्मचारी, ८ जना कानुन समूहका कर्मचारी र अन्वेषक, अध्यापकबाट ११ गरी कुल २७७ जनाको आवेदन परेको हो, जसमा १९ जना महिला रहेका छन् । 

यस्तो छ, उच्च अदालतका न्यायाधीश पदका लागि आवेदन हाल्ने २७७ जनाको नामावली :

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप