शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

धनुषा क्षेत्र नम्बर ३ मा एमाले नेतृ जुलीकुमारी महतोद्वारा उम्मेदवारी घोषणा

बुधबार, २५ साउन २०७९, १३ : ४५
बुधबार, २५ साउन २०७९

नेकपा एमालेकी पोलिटब्युरो सदस्य जुलीकुमारी महतोले धनुषाको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी घोषणा गरेकी छन् । अगामी मंसिर ४ गते प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन घोषणा भएसँगै उनले धनुषा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी घोषणा गरेकी हुन् ।  उनले विगतभन्दा यसपटक निकै सहज हुने देखेपछि उम्मेदवारी घोषणा गरेको बताइन् ।

यस क्षेत्रमा स्थानीय तहको निर्वाचनमा एमालेले राम्रो मत प्राप्त गरेको बताउँदै उनले भनिन्, ‘विगतमा करिब १५ सयभन्दा कम मतले आफुले पराजित भएपनि जनता र पार्टीका नेता तथा कार्यकर्ताहरु सँग राम्रो सम्बन्ध रहेकाले मलाई चुनाव लड्नका लागि समेत व्यापक दवाव आइरहेको छ, त्यसैले उम्मेदवारी घोषणा गरेकी हुँ ।’

उनले भनिन्, ‘पाँच दलीय गठबन्धन भएपनि एमालेले एक्लै स्थानीय तहको निर्वाचनमा मत परिणाम राम्रो ल्याउन सफल भएको छ र यसपटक गठबन्धनभित्रै पनि व्यापक असन्तुष्टिहरू छन्, तथापि आफुसँग जनता रहेकाले एमालेको जीत सुनिश्चित छ ।’ 

उनले प्रतिनिधि तथा प्रदेशसभा सदस्य पदमा प्रत्यक्षबाट ५० प्रतिशत महिलालाई निर्वाचनमा उम्मेदवार बनाउन एमालेलगायत विभिन्न दलसँग आग्रह समेत गरिन् । उनले महिलालाई समानुपातिक कोटामा सिमित नगरि प्रत्यक्ष तर्फबाट पनि उम्मेदवार बनाएर निर्वाचनमा उम्मेदवार बनाउन माग गरिन् ।  

विगतको प्रतिनिधिसभा निर्वाचनमा पूर्वमन्त्री महतो काँग्रेसका नेता समेत रहेका पूर्व गृहमन्त्री विमलेन्द्र निधिसँग करिब १५ सय मतले पराजित भएकी थिइन् । ०७४ मा भएको निर्वाचनमा नेकपा माओवादी केन्द्र र एमालेको गठबन्धनबाट माओवादीका रामसिंह यादव उम्मेदवार थिए । 

यता नेता निधिले भने लोकतान्त्रिक समाजवादी पार्टी नेपालसँग समेत गठबन्धनका लागि लविंग थालेका छन् । गठबन्धनको तर्फबाट राजेन्द्र महतो वा विमलेन्द्र निधिमध्ये कुनै एकजना उम्मेदवार बन्ने अड्कलबाजी छ । धनुषाको क्षेत्र नम्बर ३ मा नगराईन नगरपालिका, धनौजी नगरपालिका, मुखियापट्टि मुसहरनीया गाउँपालिका र जनकपुरधाम उपमहानगरपालिकाको १० वटा वडा पर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप