शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेकै शीर्ष नेता चुनाव लड्न अनिच्छुक !

बुधबार, २५ साउन २०७९, १४ : ५१
बुधबार, २५ साउन २०७९

नेकपा एमालेको ‘हाई कमाण्ड’ मानिएको केन्द्रीय सचिवालयमा रहेका १९ जना शीर्ष नेतामध्ये केही नेताले मंसिरमा हुने निर्वाचनमा चुनावी प्रतिस्पर्धा गर्न अनिच्छा प्रकट गरेका छन् । खर्चिलो चुनाव, पार्टीभित्र मौलाएको घात–अन्तरघात र गुटगत प्रतिस्पर्धाका कारण चुनाव जित्न सकस हुने देखिएपछि उनीहरुले अनिच्छा देखाएका हुन् । यसरी चुनावी प्रतिस्पर्धा गर्न अनिच्छा जनाउने शीर्ष नेताहरुमा उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र रामबहादुर थापा ‘बादल’ तथा उपमहासचिव विष्णु रिमाल छन् ।

ज्ञवाली गत २०७४ को निर्वाचनमा पनि चुनाव लड्नबाट पछि हटेका थिए । त्यसबेला पार्टीले चुनाव लड्न सुझाव दिएपनि निर्वाचन महँगो हुनेभन्दै पछि हटेका ज्ञवालीले यो पटक पनि आफूलाई चुनाव लड्ने इच्छा नरहेको बताएका छन् ।

‘मलाई चुनाव लड्ने कुनै इच्छा छैन । चुनाव जितेर पदमा पुग्ने भन्दा पनि पार्टी र संगठन राम्रो बनाउनुपर्छ भन्ने मेरो मान्यता रहँदै आएको छ’, ज्ञवालीले रातोपाटीसँग भने, ‘त्यसैले मैले अहिले नै उठ्छु उठ्दिनँ भन्न त मिल्दैन तर मलाई आकर्षण छैन ।’ विगतमा ज्ञवाली दाङ-३ बाट निर्वाचन लड्ने गरेका थिए ।

त्यस्तै अर्का उपाध्यक्ष अष्टलक्ष्मी शाक्य अघिल्लो निर्वाचनमा बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएपनि यो पटक प्रदेश र संघ कतैपनि निर्वाचन नलड्ने मनस्थितिमा छिन् । उनले पनि खर्चिलो निर्वाचन प्रणालीबाट त्रसित भएको भन्दै चुनाव लड्न इच्छा नभएको निकटहरुसँग बताउने गरेकी छन् ।

उनी निकट नेताहरुका अनुसार प्रदेश सभामा नदोहोरिने र संघमा जित्ने निश्चित नभएकाले अनिच्छा देखाएकी हुन् । ‘जित्नलाई निकै पैसा खर्च गर्नुपर्ने हुन्छ । अहिलेको निर्वाचन  खर्चिलो छ । कहाँबाट पैसा ल्याउने ?’ आफू निकटका नेताहरुलाई शाक्यले भन्ने गरेकी छन् ।

२०७४ सालको निर्वाचनमा उनी काठमाडौं ८ को प्रदेशसभा ‘ख’बाट निर्वाचित भएकी थिइन् । त्यसबेला शाक्यले ५ हजार १६९ मत ल्याउँदै काँग्रेसका देवरत्न डंगोललाई पराजित गरेकी थिइन् ।
नेकपा विभाजनपछि माओवादीबाट एमाले प्रवेश गरेका अर्का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ पनि प्रत्यक्ष निर्वाचन नलड्ने सोचमा पुगेको उनी निकटका नेताहरु बताउँछन् । नेता बादल यसअघि माओवादी कोटामा राष्ट्रिय सभा सदस्य भएपनि उनको कार्यकाल सकिएको छ । गृहजिल्ला चितवन रहेका थापा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र (३)एउटै पर्छ । 

चितवन ३ बाट २०७४ को निर्वाचनमा प्रतिनिधि सभामा निर्वाचित प्रचण्डले यसपटक पनि सोही क्षेत्रबाट उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । सो क्षेत्रमा यो पटक प्रचण्डले काँग्रेस, नेकपा समाजवादीसहितको साथ पाउने निश्चित छ । यस्तोमा बादल प्रचण्डसँग निर्वाचन लड्न नसकिने र त्यो बाहेक अन्त उनका लागि निर्वाचन क्षेत्र समेत नभएकाले समानुपातिकतिरै बस्ने निकटकाहरुलाई बताउने गरेका छन् । यद्यपी बादलको मतदाता नामावलीमा नाम चितवन १ मा भएकाले त्यहाँ चुनाव लड्न कतिपयले सुझाव दिएपनि उनले त्यहाँसमेत अनिच्छा देखाउने गरेका छन् ।

ज्ञवाली, शाक्य र थापापछिका प्रत्यक्ष निर्वाचन लड्न अनिच्छा प्रकट गर्नेमध्येका एमालेका अर्का नेता हुन् विष्णु रिमाल । उपमहासचिव रहेका रिमालको स्थायी घर नुवाकोट हो । नुवाकोटको चुनावी मैदानमा उनी खासै भिजेका भने छैनन्  । त्यसकारण पनि उनले चुनाव लड्न अनिच्छा प्रकट गरेको एमाले वृत्तमा चर्चा छ । रिमाल स्वयंले भने यसबारे मुख खोलेका छैनन् ।

‘उहाँ अहिलेसम्म चुनाव लड्नुभएको छैन । यस पटक पनि इच्छा देखाएको बुझिँदैन । बरु राष्ट्रिय सभातिर जाने उहाँको सोच बुझिन्छ’, एमालेका एक केन्द्रीय सदस्यले भने, ‘अहिलेसम्म चुनाव नलडेपनि पार्टीको उपमहासचिव हुनुभएको छ त्यसैमा सन्तुष्ट हुनुहुन्छ ।’ रिमाल ओलीका खास विस्वासपात्रमध्येका एक मानिन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप