बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बाबुरामलाई ‘स्पेस’ दिएपछि तातियो गोरखाको चुनावी माहोल, माओवादी र काँग्रेसबीच हानथाप

बुधबार, २५ साउन २०७९, १५ : ०९
बुधबार, २५ साउन २०७९

आसन्न निर्वाचनका लागि गोरखा जिल्लामा सत्तारुढ गठबन्धनलाई सिट बाँडफाँटमा निकै सकस पर्ने देखिएको छ । खासगरी गठबन्धनका दुई ठुला दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच उम्मेदवारीका लागि हानथाप देखिएको हो ।​ जसपाबाट अलग भएका डा. बाबुराम भट्टराईलाई पनि सत्तारुढ गठबन्धनमै समेट्ने तयारी भएपछि गठबन्धनभित्र भागबण्डाको सकस अझ बढ्ने देखिएको छ । किनकि, डा. भट्टराई गोरखाबाटै प्रतिनिधित्व गर्दछन् ।

गोरखा जिल्लामा प्रतिनिधिसभातर्फ दुई र प्रदेशसभातर्फ चार निर्वाचन क्षेत्र छन् । प्रतिनिधिसभातर्फ गोरखाका दुई क्षेत्रमध्ये एक नम्बर क्षेत्र माओवादीका हरिराज अधिकारीले प्रतिनिधित्व गर्छन् भने क्षेत्र नम्बर दुई नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले । अधिकारी २०७४ सालको चुनावमा एमाले–माओवादीसहितको वाम गठबन्धनबाट निर्वाचित भएका थिए भने भट्टराई नेपाली काँग्रेससहितको लोकतान्त्रिक गठबन्धनबाट निर्वाचित भएका थिए ।

२०७४ सालको चुनावमा गोरखा क्षेत्र नम्बर १ बाट हरिराज अधिकारी २९ हजार ८ सय ६० मत ल्याएर विजयी भएका थिए भने काँग्रेसका चिनकाजी श्रेष्ठले २६ हजार ६४३ मत ल्याएर पराजित भएका थिए ।​ प्रदेशसभातर्फ क्षेत्र नम्बर १ को ‘क’बाट माओवादीकै लेखबहादुर थापा मगर र ‘ख’बाट एमालेका रामशरण बस्नेत निर्वाचित भएका थिए । यो क्षेत्र माओवादी प्रभाव क्षेत्र भएकाले माओवादीबाटै उम्मेदवार बन्न आकांक्षीहरु धेरै देखिएका छन् ।

पोलिटब्यूरो सदस्य हरि अधिकारी, केन्द्रीय सदस्य लेखबहादुर थापा मगर, अमर गुरुङ, कृष्ण धिताल र सुशीला सिम्खडाले उम्मेदवारीका लागि दाबी गरेका छन् । यस क्षेत्रबाट काँग्रेसका चिनकाजी श्रेष्ठ, नन्दप्रसाद न्यौपाने स्वर्णिम वाग्ले, राजेन्द्र बजगाईं लगायत पनि उम्मेदवार बन्न आकांक्षी देखिएका छन् । तर, माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् प्रदेशसभा सदस्य लेखबहादुर थापा मगरले प्रतिनिधिसभा क्षेत्र माओवादीले लिएर प्रदेशसभामा काँग्रेसले लिने गरी सहमति हुन सक्ने बताए ।

‘चुनावको मिति घोषणा भयो । जिल्लामा प्रदेश र प्रतिनिधिसभामा दाबी गर्न थालेका छन्,’ थापाले भने, ‘यस क्षेत्रबाट प्रतिनिधिसभामा माओवादीले लिएर प्रदेशमा काँग्रेसलाई समेट्ने गरी सहमति हुन सक्न हुन्छ ।’ यो क्षेत्रमा माओवादी केन्द्रले अघिल्लो निर्वाचनमा जितेकाले फेरि आफूले नै गठबन्धनबाट उम्मेदवारी पाउनुपर्ने दाबी गरेको छ भने अर्कोतिर काँग्रेसले पनि जिल्लामा आफ्नो जनाधार राम्रो रहेको दाबी गर्दै टिकटको दाबी गरिरहेको छ ।

यस्तै गोरखा क्षेत्र नम्बर २ बाट बाबुराम भट्टराई निर्वाचित सांसद हुन् । २०७४ सालको चुनावमा बाबुरामलाई वाम गठबन्धनबाट अलग गरेपछि उनी काँग्रेससँग तालमेल गरेर लोकतान्त्रिक गठबन्धनबाट निर्वाचित भएका थिए ।

वाम गठबन्धनबाट भने यो क्षेत्रबाट माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ उम्मेदवार भएका थिए । बाबुरामले ३१ हजार ८०७ मत ल्याएर विजयी हुँदा नारायणकाजी २४ हजार ९३३ मत ल्याएर पराजित भएका थिए ।

यस क्षेत्रबाट आसन्न निर्वाचनमा नारायणकाजीले चुनाव लड्ने तयारी गरेका छन् । प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न उनी राष्ट्रियसभा सदस्यबाट राजीनामा दिन तयार रहेको बताइन्छ । सोही अनुसार उनले भेटघाट र छलफललाई अघि बढाएका छन् ।

यद्यपि, प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनमा बाबुराम भट्टराईलाई समेट्ने प्रतिबद्धता जनाइसकेका कारण सिट बाँडफाँटमा सकस हुने देखिएको हो । बाबुरामलाई गठबन्धनबाट उम्मेदवार बनाइएको अवस्थामा नारायणकाजीले यो क्षेत्रबाट उम्मेदवार बन्न नपाउने चर्चा पनि चलिरहेको छ ।

बाबुरामलाई गठबन्धनमा नसमेटिएको अवस्थामा भने माओवादीबाट नारायणकाजीका अतिरिक्त स्थायी समिति सदस्य हितराज पाण्डे, पोलिटब्यूरो सदस्य चुडामणि खड्का, लेखनाथ न्यौपाने लगायतले दाबी गर्ने देखिएको छ । ती नेतामध्येबाट नारायणकाजीले चुनाव लड्ने अवसर पाउने नेता कार्यकर्ता बताउँछन् । यस्तै काँग्रेसबाट सुरेन्द्र पाण्डे पनि आकांक्षी छन् । तर गठबन्धनबाट बाबुराम उम्मेदवार बन्ने अवस्थामा काँग्रेस प्रदेशसभामा सीमित हुने देखिन्छ ।

स्थानीय तहको अंकगणित यस्तो छ

गोरखा र पालुङटार दुई नगरपालिका सहित ११ स्थानीय तह छन् । कुल ११ स्थानीय तहमध्ये गत वैशाख ३० गतेको चुनावमा नेकपा माओवादी केन्द्रले ९ तह र नेपाली काँग्रेसले जम्मा २ स्थानीय तहमात्रै जितेको छ ।

क्षेत्र नम्बर १ मा चुम नुव्री, धार्चे, आरुघाट, भिमसेन थापा,  गण्डकी, सहिद लखन थापा गाउँपालिका पर्छन् । यस्तै गोरखा नगरपालिकाको १ वडादेखि ८ सम्म १ नम्बर क्षेत्रमै पर्छन् । जसमध्ये आरुघाटको प्रमुख र उपप्रमुख दुवै काँग्रेसले जितेको छ । गण्डकी गाउँपालिका उपप्रमुख र गोरखा नगरपालिका उपप्रमुख मात्रै काँग्रेसले जितेको छ भने अरु सबै माओवादीले जितेको छ । अधिकांश वडा अध्यक्षसमेत माओवादीले जितेको छ ।

यस्तै क्षेत्र नम्बर २ मा पालुङटार नगरपालिका, गोरखा नगरपालिका ८ देखि १४ वडासम्म पर्छन् । यो क्षेत्रमा सिरानचोक, अजिरकोट, बारपाक सुलिकोट गाउँपालिका पर्छन् । यहाँ सिरानचोक गाउँपालिका प्रमुख उपप्रमुख बाहेक अरु सबै पालिकाको प्रमुख र उपप्रमुख माओवादीले जितेको छ । यस क्षेत्रमा पर्ने अधिकांश वडा माओवादीले जिते पनि सगम्रमा काँग्रेसको मत बढी देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप