मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

विद्युतीय गाडीको मात्र ‘अटो शो’ गर्ने तयारीमा नाडा

बुधबार, २५ साउन २०७९, १७ : ०४
बुधबार, २५ साउन २०७९

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले विशुद्ध ‘ईभी अटो शो’ को आयोजना गर्ने भएको छ । फ्यूल भेहीकल अर्थात् पेट्रोलियम गाडीको आयातमा कडाई भएसँगै नाडाले ईभी अर्थात् विद्युतीय गाडीहरूको मात्र अटो शो गर्ने तयारी गरेको हो । त्यसो त दशैं अघि नै ईभी अटो शो गर्ने गरी नाडाले तयारी गरेको अध्यक्ष ध्रुव थापाले रातोपाटीसँग बताए । 

‘पहिलो पटक नाडाले ईभी अटो शो को परिकल्पना गरेको छ । सरकारले विदेशी मुद्रा सञ्चितिलाई कारण देखाउँदै सवारी साधनको आयातमा कडाईसँगै एलसी बन्द गरेपछि नयाँ गाडीहरु ल्याउन पाएका छैनौं । तर, विद्युतीय गाडीहरु केहीँ मात्रामा आइरहेका छन् । प्राप्त, उपलब्ध विद्युतीय गाडीहरुलाई नै लिएर अटो शो किन नगर्ने ? भन्ने सोच हामीमा आएको छ । त्यसैले यसको विषयमा हामी अन्तिम छलफलमा छौं’ थापाले रातोपाटीसँग भने । 
यसै विषयमा छलफल गर्न बिहीबार दिउँसो १ बजे नाडाको केन्द्रीय समिति बैठक बोलाएको छ । यदि छलफल सकारात्मक भए दशैं अघि नै ईभी अटो शो आयोजना गरिने उनले बताए । 

पेट्रोलियम गाडीसहित ईभी अटो शो हुने हो ? भन्ने हाम्रो प्रश्नमा अध्यक्ष थापाले भने, ‘होइन, विशुद्ध ईभी अटो शो हो । यस्तो अटो शो धेरै देशहरुमा हुने गरेका छन् । तर, हामीले भने पहिलो पटक परिकल्पना गरेका हौं । हेरौं कति सफल हुन्छौं ।’

वर्षेनी दशैं–तिहारको मुखमा नाडा अटो शो को आयोजना गर्दै आएको नाडाले गत दुई वर्ष कोभिड–१९ का कारण अटो शो गर्न पाएन । दुई वर्षपछि यस वर्ष हुन लागेको अटो शो पनि सरकारले गाडी आयातमा कडाइ गरेसँगै रोकिन पुगेको छ । नाडाले आगामी भदौ ७ गतेदेखि १२ गतेसम्म नाडा अटो आयोजना गर्ने तयारी गरेको थियो । तर, मौद्रिक नीति मार्फत सरकारले गाडी आयातको प्रतिवन्धलाई निरन्तता दिँदै एलसी बन्द थप भदौ १५ गतेसम्म जारी राख्ने बताएसँगै अटो शो प्रभावित हुन पुगेको हो । तर, यदी भोलि, बिहीबारको नाडाको छलफल सफल भए दशैँअघि नै ईभी अटो शो भने हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप