शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भीम रावलको प्रश्न : कालापानीमा विदेशी फौज आएर बुलडोजर चलाउँदा किन नबोलेको ?

बुधबार, २५ साउन २०७९, १७ : ३९
बुधबार, २५ साउन २०७९

नेकपा एमालेका नेता डा. भीम रावलले सरकार संविधानमा उल्लेखित कानूनलाई बेवास्ता गरेर देशप्रति बेइमानी गर्न लागिपरेको बताएका छन् । नेपाली पुरुषसँग विवाह गर्ने महिलालाई तत्काल नागरिकता दिने कुरा नेपालको हितमा नरहेको उल्लेख गर्दै यो संविधान विपरित भएको बताएका हुन् ।

बुधवार काठमाडौंमा नेपाली चलचित्र काँडे तारको बारेमा जानकारी दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । उनले हरेक देशमा विवाह हुनेबित्तिकै कोही पनि विदेशी नागरिकलाई देशको नागरिकता दिने प्रावधान नरहेको र नागरिकता प्राप्तिका लागि केही समय कुर्नुपर्ने स्थिति रहेको भन्दै नेपालले ल्याएको संशोधित नागरिकता विधेयकले देशकै नागरिकलाई अल्पमतमा पार्ने बताए ।

उनले अनुहारको आधारमा नागरिकता रोक्न खोजेको भन्नेहरु देशलाई विखण्डन गर्ने तत्व भएको पनि बताए । उनले भने, ‘हामीले नागरिकताका बारेमा बारम्बार भनेका छौँ । देशभक्त नेपालीले नागरिकता पाउनुपर्छ । तर विवाह गरेर आउनेबित्तिकै नागरिकता दिने भन्ने कुरा छ, त्यो हुनु हुँदैन । नागरिकता लिनलाई नेपालीसँग विवाह गर्ने महिलाले ७ वर्ष कुर्नुपर्छ भन्दा भारतविरोधी काम भयो भन्न मिल्छ ? हरेक देशमा यति वर्षपछि भन्ने त कानून छ ।’

उनले भने, ‘अनुहारको आधारमा नागरिकता रोक्न खोजेको भन्नेहरु देशलाई विखण्डन गर्ने तत्व हुन् । नागरिकताको बारेमा संविधानमा उल्लेखित गर्दा दिएको वचनबाट पछि हट्नु भनेको देशप्रतिको बेइमानी हो । संसारमा कुनैपनि देशले नागरिकतालाई खुकुलो बनाउँदैन । तर नेपाल यति धेरै ठूलो जनसंख्या भएका देशका बीचमा बसेर खुकुलो बनाइरहेको छ ।’

नेता रावलले नेपालले आफ्ना सीमानामा नियमन गर्न आवश्यक रहेको समेत बताए । उनले नेपालीहरुले अन्तर्राष्ट्रिय कानुनअनुसार भारतसँग सुमधुर सम्बन्ध कायम राख्न सीमाको व्यवस्थापन गर्न जरुरी रहेको बताए । नेता रावलले सुस्ता, कालापानी, सन्दकपुर लगायतका देशका ७७ ठाउँमा सीमा अतिक्रमणमा परेको भन्दै बहुमतको बलियो सरकारले सीमा समस्याको समाधानका लागि भारतसँग छलफल गर्न आवश्यक रहेको बताए । उनले भने, ‘नेपाल मात्रै यस्तो देश हो, जसले संसारका सबैभन्दा ठूला र सबैभन्दा बढी जनसंख्या भएको देशको बीचमा रहेर न सन्धिबाट तय भएको, न कुनै कानुनबाट तय भएको कुन बेलाको कुन शासकको सनकको भरमा हाम्रो सीमानालाई अन्तर्राष्ट्रिय कानून बमोजिम नियमन गरिएको छैन । हामीले नियमन गर्ने कुरा भारतप्रति द्वेष राखेको होइन । जसरी भारतले बंगलादेश सँगको सीमानालाई काँडेतार लगाएको छ, हामी नेपालीहरुले अन्तर्राष्ट्रिय कानुनअनुसार भारतसँग सुमधुर सम्बन्ध कायम राख्न सीमाको व्यवस्थापन गर्न जरुरी छ ।’ 

उनले भने, ‘सीमानाका सुस्ता, कालापानी, सन्दुकपुर अतिक्रमणमा परेको छ । ७७ भन्दा बढी ठाउँका सीमाना अतिक्रमणमा परेका छन् । हाम्रो सीमा समयमा नै नियमन नगर्ने हो भने मनमोहन नेतृत्वको सरकारले भारतसँग कतिपय कुरा समयानुसार हुनुपर्छ भनेर राख्दा भारतले स्वीकारेका थियो । तर मलाई आश्चर्य लाग्छ, २०५१/०५२ को नेकपा एमालेको अल्पमतको सरकारले त त्यति कुरा उठाएको थियो भने अहिले कति दल मिलेर बनेको बहुमतको सरकारले किन कुरा नउठाएको ? सीमानाको रक्षाका कुरामा किन बोल्दैनन् । उहाँहरु संवेदनशील हुनुहुन्न् । कालापानीमा विदेशी फौज आएर मातृभूमिको छातीमाथि बुलडोजर चलाउँदा किन नबोलेको ?’

उनले चीनले परराष्ट्रमन्त्री डा.नारायण खड्का अहिले चीन भ्रमणमा रहेको भन्दै नेपालसँगको सीमा विवादका बारेमा छलफल गरेर वास्तविकता जनतालाई जानकारी गराउनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप