बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौंडा बजारमा एकैदिन ५४ वटा पसलको अनुगमन

बुधबार, २५ साउन २०७९, २० : ०५
बुधबार, २५ साउन २०७९

जिल्ला प्रशासन कार्यालय मकवानपुरको संयुक्त अनुगमन टोलीले बुधबार एकैदिनमा हेटौंडा बजार क्षेत्रका ५४ वटा पसल तथा व्यवसायहरूको अनुगमन गरेको छ । प्रशासन कार्यालयको संयोजनमा विषयगत कार्यालय, हेटौडा उपमहानगरपालिका, मकवानपुर उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्च, नेपाल पत्रकार महासंघ मकवानपुरको सहभागितामा ५ वटा अनुगमन टोलीले बजारको अनुगमन गरेको हो ।

टोलीले हेटौंडा बजार क्षेत्रको ११ वटा होटल, स्वीट्स एवं फस्टफुड पसल, ६ वटा अस्पताल तथा स्वास्थ्य संस्था, ६ वटा मासुपसल, २ वटा सुपरमार्केट तथा गोदाम घर १० वटा हार्डवेयर पसल, ३ भेटनरी औषधी पसल, ९ वटा फेन्सी पसल, ५ वटा चल्ला तथा दाना पसल र १/१ वटा मोबाइल पसल/डेरी पसलको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा अनुमति बिना सञ्चालन गरिएको ३ वटा पसल तथा व्यवसायलाई बन्द गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । कार्यालयका अनुसार अनुमति बिना सञ्चालनमा आएका १/१ वटा पोलिक्लिनिक, भेटेरिनरी औषधी पसल र डेन्टल क्लिनिकलाई बन्द गरिएको छ ।

त्यस्तै ६ वटा पसल तथा व्यवसायलाई तत्काल जरिवाना गरी चेतावनी दिइएको छ । कार्यालयले ५ पसल तथा व्यवसायबाट तत्काल जरिवाना गरी ७० हजार रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले दिएको जानकारी अनुसार आँगन स्वीट्स एवं फास्टफुड र राजधानी स्वीट्सबाट २०/२० हजार रुपैयाँ जरिवाना संकलन गरिएको छ भने इटिसी जनरल सप्लायर्सबाट १५ हजार रुपैयाँ, न्यू यू एण्ड आई सु–सेन्टरबाट १० हजार रुपैयाँ र अल्फा डेन्टल क्लिनिकबाट ५ हजार रुपैयाँ जरिवाना संकलन गरिएको छ ।

त्यस्तै २ वटा अस्पतालले अनुमतिभन्दा बढी क्षमताको बेड सञ्चालन गरेको पाइएकोले स्वीकृतभन्दा बढी क्षमताको अनुमति लिन निर्देशन दिइएको छ भने होटल व्यवसायमा सरसफाई नभएको, अखाद्य तेल तथा अन्य वस्तुको प्रयोग, अस्वस्थ खानेपानीको प्रयोग जस्ता समस्या रहेकोले तत्काल सुधार गर्न सचेत गराइएको कार्यालयले जनाएको छ । त्यसैगरी दर्ता तथा अनुमति नलिएका व्यवसायलाई १ हप्ताभित्र दर्ता तथा अनुमतिको प्रक्रिया पूरा गर्न निर्देशन दिइएको छ भने शिवशक्ति सप्लायर्स, हेटौडाको ११२ बोरा चामल अर्को आदेश नभएसम्मका लागि विक्री वितरणमा रोक लगाइएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप