बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कतार प्रहरीमा पठाइदिने भन्दै विज्ञापन निकाल्ने मेनपावरमा छापा, महत्त्वपूर्ण कागजात नियन्त्रणमा

बुधबार, २५ साउन २०७९, २० : ३४
बुधबार, २५ साउन २०७९

कतार प्रहरीमा भर्ना खुलेको भन्दै विज्ञापन निकाल्ने एक मेनपावर कम्पनीमा वैदेशिक रोजगार विभागले छापा मारेको छ । कतार प्रहरीमा पठाउने भनि अन्तर्वार्ताको मिति समेत तोकिएको विज्ञापनको पत्र सार्वजनिक भएपछि विभागले अल ताक्वेत ओभरसिजमा छापा मारेको हो । 

छापा मारेर उक्त विज्ञापनसम्बन्धी महत्वपूर्ण कागजातहरु नियन्त्रणमा लिएको विभागका निर्देशक डम्बर बहादुर सुनुवारले जानकारी दिए । पत्रिकामा विज्ञापन निकालेको कटिङ देखाउँदै ओभरसिजको नाममा साउन २५, भदौ १ र २ गते अन्तर्वार्ताको मिति समय तय गरिएको थियो । २०० जनाको डिमान्ड देखाएर उक्त कम्पनीको नामबाट विज्ञापन सार्वजनिक गरिएको थियो । 

उक्त संस्थाले विभिन्न व्यक्तिहरुबाट १५ लाख रुपैयाँसम्म उठाइरहेको भन्ने सूचना आएपछि छापा मारेर महत्वपूर्ण कागजात नियन्त्रणमा लिइएको निर्देशक सुनुवारले बताए । आकस्मिक अनुगमनको क्रममा गतिविधि शंकास्पद देखिएपछि कतार प्रहरीसँग सम्बन्धित कागजातहरु नियन्त्रणमा लिइएको उनले बताए । अन्तर्वार्ताको लागि होटल हायातामा हल बुकिङ गरिएको थियो । 

कम्पनीले नक्कली विज्ञापन प्रकाशित गरेर प्रत्येक व्यक्तिबाट १५ लाखका दरले पैसा उठाइरहेको भन्ने गुनासो विभागमा पुगेको थियो । सोही आधारमा आकस्मिक अनुगमन गरिएको उनले बताए । गत वर्ष पनि यही कम्पनीमाथि ठगीको आरोप लागेको थियो । अन्तिममा आएर सरकारले कतार प्रहरीको माग नलिने निर्णय गरेको थियो । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कतार प्रहरीको डिमान्ड श्रम सम्झौताअनुसार प्रमाणीकरण गर्न अनुमति दिएको केही दिनपछि नेपाली दूतावासले अल ताक्वेत ओभरसिज नेपालले ल्याएको माग रद्द गरेको थियो । कतारस्थित नेपाली दूतावासले कतार प्रहरीका लागि पठाएको २ सय जनाको डिमान्ड रद्द गरेको थियो । कतारको आन्तरिक मन्त्रालयले यहि अल ताक्वेत ओभरसिजलाई २ सय जनाको डिमान्ड कतार प्रहरीमा कामदार लिन प्रमाणीकरण गरेको थियो ।

ओभरसिजले कामदार भर्ना प्रक्रिया जारी राखेकै अवस्थामा नेपाली दूतावासले कामदार पठाउने तयारी रद्द गर्न विभागलाई पत्र पठाएको थियो । सोही आधारमा विभागले रद्द गरेको थियो । रद्द गरेको एक वर्ष नपुग्ने पुनः प्रक्रिया थालिएको भन्दै ओभरसिजको नाममा विज्ञापन सार्वजनिक भएको हो । कतार प्रहरीमा लामो समयदेखि नेपाली कामदार लैजाने चर्चा लामो समयदेखि चल्दै आएको छ । तर, अहिलेसम्म लैजान सकिएको छैन् । 

यसअघि २०७६ को फागुनमा १७९ जना नेपाली कामदारलाई कतार प्रहरीमा लगिएको थियो । उनीहरुको कार्यक्षमता सन्तोषजनक पाएपछि कतारको आन्तरिक मन्त्रालयले कतार प्रहरीमा नेपाली भर्ना गर्ने निर्णय गरेको थियो । तर, भर्ना छनौट प्रक्रियामा लाखौंको चलखेल सुरु भएपछि अन्ततः उक्त अवसर नेपालबाट गुमेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप