शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : ‘त्यो पर्दैन’ भन्न नपाइने, ६० जिल्लामा डेंगु

बुधबार, २५ साउन २०७९, २१ : १२
बुधबार, २५ साउन २०७९

आज २०७९ साउन २५ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

कम्युनिस्टको बेमेलले प्रदेश १ को नामकरण हल्लामै सीमित

सरकारले संघ र प्रदेशको निर्वाचन आगामी मङ्सिर ४ गतेलाई तोकिसकेको छ । आफ्नो कार्यकाल सकिन अब साढे ३ महिना मात्रै बाँकी छँदा पनि प्रदेशसभाले आफ्नो प्रदेश १ को नामकरण गर्न सकेको छैन । 

थप ८६८ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा देशभर थप ८६८ जनामा कारोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा ३ हजार ६१४ पीसीआर परीक्षणमा ४९६ र ३ हजार ९१ एन्टिजेन परीक्षणमा ३७२ जनामा संक्रमण पुष्टि भएको हो । २४ घण्टामा कूल ६ हजार ७०५ जनाको नमुना परीक्षण गरिएको थियो ।

‘त्यो पर्दैन’ भन्न नपाइने

राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त सपथसम्बन्धी विधेयक २०७९ प्रतिनिधिसभाबाट पारित भएको छ । बुधबार बसेको बैठकमा सो विधेयक बहुमतले पारित भएको हो ।  सार्वजनिक पद धारण गर्ने व्यक्तिले पद तथा गोपनीयताको शपथ लिने सम्बन्धमा कानुनी व्यवस्था गर्न वाञ्छनीय भएकोले संघीय संसदले सो ऐन बनाएको हो ।

यता बुधबारको प्रतिनिधिसभा बैठकको सुरुवातमा सभाहलमा उल्लेख्य सांसदहरु थिए । तर बैठकको अन्त्यतिर विधेयक पारित हुने क्रममा गणपूरक संख्या नै नपुगेपछि पारित हुन ठिक्क बेला भएको विधेयक रोकिन पुग्यो । विधेयक पारित गर्न चाहिने कम्तिमा ६९ जना सांसद सभामा नभएपछि सभामुख अग्निप्रसाद सापकोटाले साउन २९ गते आइतबारसम्मका लागि बैठक स्थगितको घोषणा गरे । 

एसले दियो नेताहरुलाई जिम्मेवारी

नेकपा (एकीकृत समाजवादी) ले मंसिर ४ मा हुने निर्वाचनबारे पूर्व तयारी गर्न विभिन्न नेताहरुलाई जिम्मेवारी तोकेको छ । बुधबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले निर्वाचन आयोगमा दल दर्ता गराउने जिम्मा उपमहासचिव समेत रहेका नेता गंगालाल तुलाधरलाई दिएको छ । 

कारखानामा आगलागी

काठमाडौंको बालाजुस्थित बाइसधारामा आगलागी भएको छ । जुत्ता चप्पल बनाउने कारखानामा आगलागी भएको उपत्यका प्रहरी कार्यालयका एसपी सन्तोष सिंह राठौरले रातोपाटीलाई बताए ।

बाढीको वितण्डा

काठमाडौं उपत्यकामा मंगलबार राति परेको झरीका कारण बागमती र सहायक नदीमा पानीको बहाव उल्लेख्य बढेको छ । भक्तपुरको मनोहरा खोला वरपरका सुकुम्वासी बस्तीमा बाढी पसेको छ ।

नेपालीलाई ठग्छन् दलाल

स्याङ्जाका सूर्यप्रकाश गिरी दुबई बसेको १० वर्षभन्दा बढी भयो । दुबईमा बसेर उनी नेपालीलाई भिजिट भिसामा बोलाउने काम गर्छन् । त्यसका लागि उनले प्रतिव्यक्ति दुई लाखदेखि ५ लाखसम्म रूपैयाँ लिन्छन् ।

काँग्रेसको अभिमुखीकरणको कार्यतालिका

नेपाली काँग्रेसले स्थानीय तहमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रमको कार्यतालिका तय गरेको छ । बुधबार विहान पार्टी कार्यालयमा महामन्त्री गगन थापाको सभापतित्वमा बसेको पदाधिकारी बैठकले अभिमुखीकरण कार्यक्रमको कार्यतालिका तय गरेको हो । 

६० जिल्लामा डेंगु देखियो

बर्खायाम लागेसँगै गएको एक महिना अवधिमा ४ सय डेंगुका केस भेटिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गएको पुस महिनादेखि अर्थात् छ महिनाको अवधिमा ३४७ डेंगुको केस पुष्टि भएको छ । यद्यपि गएको एक महिनामै थप ४ सय केस थपिएको छ । ​

चुनावी चर्चा

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन मङ्सिर ४ गते हुने निधो भएसँगै दलहरु उम्मेदवार चयन तथा जित–हारको सम्भावित लेखाजोखामा व्यस्त हुन थालेका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप