बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

हृदयेश त्रिपाठी एक्लै चुनाव लड्लान् कि फेरि एमालेसँग तालमेल गर्लान् ?

बिहीबार, २६ साउन २०७९, ०७ : २३
बिहीबार, २६ साउन २०७९

नवलपरासी जिल्लाबाट पाँच पटक जित हासिल गरेका हृदयेश त्रिपाठीले हालै नयाँ दल गठन गरेका छन् । अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र समूहका नामबाट राजनीतिक गतिविधि बढाएका उनले एमालेसँग तालमेल गरी एमालेकै चुनाव चिह्नबाट चुनाव जितेका थिए । यस पटक उनी एक्लै चुनाव लड्लान् कि फेरि एमालेसँगै तालमेल गर्लान् भन्नेमा चासो बढेको छ ।

लुम्बिनी प्रदेशको पश्चिम नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको क्षेत्र नम्बर १ बाट उनी उम्मेदवार बन्ने लगभग पक्का छ । स्थानीय निर्वाचनको केही अघि उनले आफ्नै नेतृत्वमा जनता प्रगतिशील पार्टी गठन गरेका थिए । यद्यपि, एकातिर सत्तारुढ गठबन्धन चुनावी मैदानमा उत्रिने भएपछि उनलाई गठबन्धन बिना एक्लै चुनाव जित्न सहज भने छैन ।

२०४८ साल यता दुई संविधानसभा निर्वाचनसहित ६ वटा संसदीय निर्वाचनमध्ये पाँच वटामा जितेका त्रिपाठी दोस्रो संविधानसभा निर्वाचनमा भने काँग्रेसका देवकरण प्रसाद कलवारसँग पराजित भएका थिए ।

आसन्न निर्वाचनमा त्रिपाठी उम्मेदवार बन्ने निश्चित रहेको जनता प्रगतिशील पार्टीको जिल्ला संयोजक राधेरमण पाण्डेले रातोपाटीलाई बताए । यद्यपि तालमेलका बारेमा भने निर्णय भइनसकेको उनको भनाइ छ ।

सो क्षेत्रमा एमाले पनि एक्लै जित्न सक्ने अवस्थामा छैन । अघिल्लो निर्वाचनमा एमालेले आफ्नै चुनाव चिह्न दिएर त्रिपाठीलाई उम्मेदवारमात्र बनाएर, चुनावसमेत जिताएका कारण आसन्न निर्वाचनमा पनि त्रिपाठीलाई सघाउन सक्ने स्थानीय एमालेका कार्यकर्ता बताउँछन् ।

गठबन्धनबाट काँग्रेसको दाबी

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको क्षेत्र नम्बर १ मा सत्तारुढ गठबन्धनबाट काँग्रेसले दाबी गर्ने देखिएको छ । सो क्षेत्रमा अन्य दलको तुलनामा काँग्रेस र एमालेकै बाहुल्यता रहेका कारण गठबन्धनबाट काँग्रेसले दाबीको तयारी गरेको हो ।

यद्यपि, काँग्रेसले कसलाई उम्मेदवार बनाउने भन्ने निश्चित हुन बाँकी छ । सो क्षेत्रबाट उद्योगपति विनोद चौधरीले पनि उम्मेदवारीका लागि आकांक्षा राखेका छन् । गठबन्धनभित्र सहमति जुटाएर काँग्रेसले चौधरीलाई उम्मेदवार बनाउने सम्भावना रहेको स्थानीय कार्यकर्ता बताउँछन् ।

यसअघि त्रिपाठीसँग पराजित भएका देवकरण प्रसाद कलवार र नेपाली काँग्रेसका प्रदेश महामन्त्री विक्रम खनाल पनि उम्मेदवार बन्ने आकांक्षामा छन् ।

यता एमालेबाट पनि उम्मेदवारका आकांक्षी देखिएका छन् । त्रिपाठीसँग तालमेल नभएको अवस्थामा एमालेबाट प्रदेशसभा सदस्य तथा एमाले जिल्ला अध्यक्ष दीपेन्द्र कुमार अधिकारीले उम्मेदवारीमा दाबी गर्ने कार्यकर्ताहरू बताउँछन् ।

क्षेत्र नम्बर १ मा २०७४ को अंकगणित यस्तो छ

२०७४ सालमा एमालेसँग सहकार्य गरेर मैदानमा गएका त्रिपाठीले ३८ हजार ५९२ मत ल्याउँदा नेपाली काँग्रेसका देव करणले ३३ हजार ५९१ मतमात्र ल्याएका थिए ।

हालै सम्पन्न स्थानीय तह निर्वाचनमा वडा अध्यक्षहरुले पाएको मत हेर्दा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ मा काँग्रेसको मत ३० हजार ३४२ छ । यस्तै एमालेका वडाअध्यक्षहरूको मत २६ हजार ७७९ छ । यस्तै, राप्रपाको ६ हजार ६८७, माओवादी केन्द्रको ५ हजार ३४७, जसपाको ३ हजार ५५९, नेकपा एकीकृत समाजवादीको एक हजार १४१ मत छ ।

उल्लेखित तथ्यांकको आधारमा यो क्षेत्रमा सत्तारुढ गठबन्धन बलियो देखिन्छ । त्यसैले त्रिपाठीलाई एक्लै प्रतिस्पर्धामा जान सहज छैन ।

क्षेत्र नम्बर २ मा देवेन्द्रराज कँडेलको दाबी

नवलपरासी क्षेत्र नम्बर २ मा भने काँग्रेसका देवेन्द्रराज कँडेलले दाबी गर्ने भएका छन् । २०७४ सालको निर्वाचनमा यो क्षेत्रबाट उनी नै निर्वाचित भएका कारण आसन्न निर्वाचनमा पनि गठबन्धनका तर्फबाट उनकै दाबी प्रवल हुने देखिएको छ ।

सो क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित काँग्रेसका वैजनाथ कलवारका अनुसार अघिल्लो निर्वाचनमा जितेका ठाउँमा जितेकै दललाई सिट बाँडफाँट गर्ने गठबन्धनको नीति रहेका कारण क्षेत्र नम्बर २ मा गठबन्धनबाट कँडेलकै उम्मेदवारी हुने निश्चितजस्तै छ ।

२०७४ मा कँडेलले ३४ हजार १३० मत ल्याएर जित्दा नेकपा माओवादी केन्द्रका घनश्याम यादवले जम्मा २३ हजार ८९८ मतमात्र पाएका थिए । यो क्षेत्रमा एमालेबाट बैजनाथ चौधरीले उम्मेदवारी दिनसक्ने चर्चा छ । उनी एमाले लुम्बिनी प्रदेशको सहइन्चार्ज तथा लुम्बिनी प्रदेशका पूर्व मन्त्रीसमेत हुन् ।

क्षेत्र नम्बर २ मा २०७४ को अंकगणित यस्तो छ

२०७४ को निर्वाचनमा क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका  देवेन्द्रराज कँडेलले ३४ हजार १३० मत ल्याउँदै नेकपा माओवादी केन्द्रका घनश्याम यादवलाई पराजित गरेका थिए । यादवले २३ हजार ८९८ मत ल्याएका थिए ।

तर अहिले माओवादी केन्द्र सत्तारुढ गठबन्धनमा छ । त्यसैले अघिल्लो निर्वाचनमा जितेका कँडेलले नै फेरि उम्मेदवारीको मौका पाएमा अनौठो मान्नु पर्दैन । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा काँग्रेसका वडा अध्यक्षहरूले २५ हजार ६८६ मत पाएका छन् भने एमालेका उम्मेदवारहरुले २३ हजार ३४२, माओवादी केन्द्रका ९ हजार १५१ मत पाएका छन् ।

यस्तै राप्रपाको ८ हजार ८७८, जसपाको ३११, लोसपाको ४ हजार ५८० मत छ । यहाँ पनि तुलनात्मक रुपमा सत्तारुढ गठबन्धनकै मत बढी देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप