शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काभ्रेमा १७ मतदान केन्द्र परिवर्तन

बिहीबार, २६ साउन २०७९, १४ : ४०
बिहीबार, २६ साउन २०७९

गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा रहेकामध्ये १७ मतदान केन्द्र परिवर्तन गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले जिल्लास्थित राजनीतिक दलको सर्वदलीय सहमतिका आधारमा आगामी मङ्सिर ४ गतेको प्रदेशसभा सदस्य तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १७ मतदान केन्द्र परिवर्तन गरिएको जनाएको छ ।

कार्यालयका अनुसार खानीखोला गाउँपालिका–२ स्थित फलामेटारमा रहेको साविक गाविस भवन मतदान केन्द्र बालविकास माध्यमिक विद्यालयमा सारिएको छ । यस्तै तेमाल गाउँपालिका–९ मा रहेको कुशेश्वर मावि मेच्छे पौवाको मतदान केन्द्र वडा कार्यालयमा सारिएको छ । 

छ स्थानीय तहमा गरिएको मतदान केन्द्र परिवर्तनमध्ये सबैभन्दा धेरै नमोबुद्ध नगरपालिकामा परिवर्तन भएका हुन् । नमोबुद्ध–२ को जनकल्याण मावि बुच्चाकोटको केन्द्र वडा कार्यालयमा सारिएको जिल्ला निर्वाचन अधिकारी उमेश राईले जानकारी दिए । सोही नपा वडा नं ३ को कालिका आधारभूत विद्यालय भेँडाबारीबाट वडा कार्यालयमा सारिएको छ । त्यस्तै वडा नं ६ को कालिगङ्गा आधारभूत विद्यालय चरङ्गेफेदीबाट वडा कार्यालयमा सारिएको छ ।

नमोबुद्ध–९ को बागदेवी आधारभूत विद्यालय बाग्माराबाट नेपाने बुद्धपार्कमा मतदान केन्द्र सारिएको छ । वडा नं १० को च्यामथुम्का पाटीबाट पञ्चकन्या माविमा सारिएको छ । त्यस्तै पनौती नपा–२ को वडा भवन कुशादेवीबाट कुशादेवी माविमा सारिएको छ । पनौतीकै वडा नं २ को ३ नं वडा कार्यालय नयाँपुलबाट विहावार आवासीय माविमा केन्द्र सारिएको हो । ६ नं को वडा कार्यालय दलिञ्चोकबाट स्थानीय गोरखनाथ आधारभूत विद्यालयमा केन्द्र सारिएको छ ।

पाँचखाल नपा–३ समाजकल्याण प्रावि तामाघाटबाट दुग्धेश्वरी माविमा सारिएको कार्यालयले जनाएको छ । महाभारत गाउँपालिका–५ को तत्कालीन गाविस भवन बुढाखानीबाट ग्रामोन्नती मावि चार किल्लामा केन्द्र सारिएको हो । वडा नं ६ को गाविस भवन बनखुचौरबाट आजाद माविमा सारिएको छ । 

त्यस्तै रोशी गाउँपालिका–५ को गाविस भवन लुरपुङ्गडाँडाबाट भूमिस्थान माविमा केन्द्र सारिएको हो । बनेपा नपा–१२ का दुवै केन्द्र सारिएको छ । वडा कार्यालय देउरालीबाट गणेशभारती माविको नयाँ भवनमा केन्द्र सारिएको हो भने गणेश भारती माविको नयाँ भवन देउरालीबाट वडा कार्यालय देउरालीमा सारिएको छ । 

परिवर्तन हुने मतदान केन्द्रका सबै मतदाताको नामावलीसमेत सारिएको कार्यालय प्रमुख राईले बताए । जिल्लामा स्थानीय तह निर्वाचनमा एक सय ८९ वटा मतदानस्थल तथा तीन सय ८१ मतदान केन्द्र व्यवस्थित गरिएको थियो । स्थानीय तह निर्वाचनमा काभ्रेपलाञ्चोकमा ३० दल दर्ता भएका थिए । उक्त निर्वाचनमा जिल्लामा तीन लाख तीन हजार पाँच सय ६० मतदाता रहेकामा आगामी आम निर्वाचनमा आठ हजारभन्दा बढी मतदाता थपिने भएको कार्यालयले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप