बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

ताप्लेजुङमा रोचक भिडन्त :  योगेश भट्टराईलाई एमालेकै तिलकुमारको टक्कर

बिहीबार, २६ साउन २०७९, १४ : ४९
बिहीबार, २६ साउन २०७९

सुदूरपूर्वको जिल्ला ताप्लेजुङमा नेकपा एमालेले चुनावी तयारीलाई तीव्र पारेको छ । एमाले केन्द्रीय सचिवसमेत रहेका पूर्वमन्त्री योगेश भट्टराईको चुनाव क्षेत्र रहेको ताप्लेजुङमा आगामी निर्वाचनको सम्भावित परिणामलाई लिएर अनेक अड्कलबाजी भइरहेको छ ।

एमालेका उपाध्यक्ष सुवास नेम्वाङ र पार्टी सचिव भट्टराईले संयुक्त रुपमा बुधबार जिल्लास्तरीय प्रशिक्षण आयोजना गरे । आउँदो भदौ १५ सम्ममा पार्टीका आन्तरिक गतिविधि सँगसँगै चुनावी तयारी तीव्र पारिएको सचिव भट्टराईले बताए ।

एक्लाएक्लै लड्दा आफूले सहज तरिकाले चुनाव जित्नेमा ढुक्क रहेको उनी बताउँछन् । ‘एक्लाएक्लै लड्दा हामी सहज तरिकाले चुनाव जित्छौं, गठबन्धन हुँदा पनि एमाले एक्लै ठूलो पार्टी छ,’ उनले भने, ‘नेकपा एकीकृत समाजवादीका धेरै साथीहरु एमालेमै फर्किँदैछन्, माओवादीका साथीहरु पनि काँग्रेसलाई किन मत हाल्ने भन्ने कुरा गरिरहनुभएको छ ।’

एमालेबाटै संघीय सांसदमा निर्वाचन लड्ने चाहना राख्ने अर्का नेता हुन् तिलकुमार मेन्याङ्वो । उनले यस पटक आफूले उम्मेदवारी दिने बताए । ‘अघिल्लो पटक चुनाव लड्दा हामीले योगेश भट्टराईज्यूलाई सघाएका हौं, उहाँलाई जितायौं पनि, यस पटक मलाई सहयोग गर्नुपर्छ भनेर योगेशजीलाई भनेको छु,’ उनले भने, ‘अघिल्लो पटक निर्वाचन लड्दा पनि अर्को पटक मलाई छोड्ने गरी सहमति भएको थियो ।’ एमालेभित्र उनले पनि दावेदारी प्रस्तुत गरेपछि ताप्लेजुङको चुनाव रोचक हुने देखिएको छ । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निकट मानिने मेन्याङ्बोले सशक्त दाबी गर्ने भनेपछि योगेशलाई अप्ठ्यारो पर्ने देखिएको एमालेकै नेताहरु बताउँछन्। आदिवासी लिम्बू समुदायको बाहुल्य रहेको जिल्लामा मेन्याङ्बो सशक्त उम्मेदवार हुने आकलन गरिएको छ ।

यस्तै काँग्रेसबाट पूर्वमन्त्री मणि लामा, इच्छाराम गुरुङ, केशव प्रसाद दाहाल, लिला बोखिमलगायतको नाम चर्चामा छ । पार्टी सभापति शेरबहादुर देउवा नजिकका नेता भएको कारण गठबन्धनबाट मणि लामाले टिकट पाउने सम्भावना रहेको स्थानीय बताउँछन् । काँग्रेसबाट जिल्ला सभापति गजेन्द्र तुम्मेहाङको पनि दाबी रहेको बताइएको छ ।

यस्तै माओवादी केन्द्रबाट खिलप्रसाद बुढाथोकी (पराग)ले दाबी गरेका छन् । गठबन्धन गर्दा पनि संघमा एमालेसँग कडा प्रतिस्पर्धा हुने गठबन्धन दलहरुको आकलन छ । यद्यपि योगेश भट्टराईभन्दा मेन्याङ्बो बलियो हुने अवस्था रहेको स्थानीय बताउँछन् ।

‘योगेश भट्टराईले केन्द्रीय नेता भएर पनि यहाँको विकास निर्माण धेरै गर्न नसकेको अवस्था देखियो, त्यसकारण उनैलाई किन जिताउनु भन्ने पनि छ,’ एमाले निकट एक नेताले भने, ‘१० बुँदे पक्षधर भएको कारण पनि पार्टी अध्यक्षबाट भट्टराईले टिकट नपाउने हो कि भन्ने देखिन्छ ।’

तिलकुमारले टिकट पाउँदा एमालेभित्र अन्तरघात पनि नहुने ती नेता बताउँछन् । तर भट्टराई उम्मेदवार बन्न सबैले चाहना राख्नु स्वाभाविक भए पनि टिकट वितरण भइसकेपछि सबै एकजुट भएर निर्वाचनमा होमिने बताउँछन् ।

‘हामी चुनावमा कसले टिकट लिने भन्ने विषयमा सबैले सबैसँग छलफल गर्छौं, आ–आफ्नो पक्षमा लविङ गर्छौं, अनि जसले टिकट पाउँछ उसलाई सबैले सहयोग गर्छौं,’ भट्टराईले भने, ‘यो हाम्रो आन्तरिक सहमति हो ।’

स्थानीय तह निर्वाचनको परिणाम

स्थानीय निर्वाचन २०७९ मा गठबन्धन दलहरु काँग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीका वडाध्यक्षहरुको मत जोड्दा २५ हजार १२ हुन्छ । जबकि एमाले एक्लैको मत २४ हजार २९५ छ ।

‘निर्वाचन जित्ने कुरामा त ढुक्क छु,’ तपाई नै लड्ने हो र जित्नुहुन्छ भन्ने प्रश्नमा भट्टराई भन्छन्, ‘हाम्रो आन्तरिक एकता पनि विगतमा भन्दा दह्रो छ ।’

एक नगरपालिका र ८ गाउँपालिका रहेको ताप्लेजुङमा एमालेले ३ गाउँपालिका जितेको छ । काँग्रेसले १ नगरपालिका, ३ गाउँपालिका तथा माओवादी केन्द्रले ं१ गाउँपालिकामा जित निकालेको छ । ६१ वडा रहेको ताप्लेजुङमा एमालेले २९, काँग्रेसले १५, माओवादी केन्द्रले १०, नेकपा एसले २ वटा वडा जितेको छ । यस्तै अन्य ४ वडा स्वतन्त्रले जितेका छन् ।

वडागत मत जोड्दा पार्टीहरुको अवस्था

०७४ सालको निर्वाचनमा वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका योगेशकुमार भट्टराईले २९ हजार ४ सय ७९ मत ल्याएर विजयी हुँदा काँग्रेसका केशवप्रसाद दाहालले १६ हजार ८८८ मत ल्याएका थिए । प्रदेश निर्वाचन क्षेत्र नम्बर ‘क’ मा वाम गठबन्धनबाटै उम्मेदवार बनेका एमालेका बलबहादुर साम्सोहाङले १५ हजार ४१७ मत ल्याएर विजयी हुँदा नेपाली काँग्रेसकी लिलादेवी बोखिम (लिम्बू)ले १० हजार ९७४ मत ल्याएकी थिइन् ।

यस्तै प्रदेश निर्वाचन क्षेत्र नम्बर ‘ख’ मा वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका टंक आङबुहाङ्ग लिम्बूले १२ हजार १९८ मत ल्याउँदा उनको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिपेन्द्रकुमार सेन्दाङले ७ हजार ५८७ मत ल्याएका थिए । आङ्बुहाङ्ग अहिले एमालेमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप