शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भागबण्डामा माओवादीको फर्मुला : काँग्रेस र बाँकी चार दललाई ५०–५० प्रतिशत सिट

बिहीबार, २६ साउन २०७९, १५ : ५२
बिहीबार, २६ साउन २०७९

काठमाडौं । सत्ता गठबन्धनमा नेपाली काँग्रेसले प्रतिनिधिसभातर्फ १६५ सिटमध्ये १०० सिटमा दाबी गरेपछि नेकपा माओवादी केन्द्रले भागबण्डाको नयाँ फर्मुला अघि सारेको छ । १६५ सिटलाई शत प्रतिशत मानेर काँग्रेसलाई ५० प्रतिशत र गठबन्धनका बाँकी चार दललाई ५० प्रतिशत सिट बाँडफाँट हुनुपर्ने माओवादीको तर्क छ ।

‘काँग्रेस एक सय सिट दाबी गरेको छ । गठबन्धन गरेर एकल बहुमत ल्याउने रणनीतिमा काँग्रेस देखिन्छ । गठबन्धनमा ठुलो पार्टी काँग्रेस होला । त्यसमा हामीहरुले नै भोट हालेर हुने हो,’ प्रचण्ड निकट एक स्थायी समिति सदस्यले भने, ‘गठबन्धनमा कुनै एउटा पार्टीलाई मात्रै ठुलो बनाउने गरी तालमेल हुँदैन । गठबन्धनको समझदारी अनुसार सिट बाँडफाँट हुनुपर्छ ।’

उनका अनुसार भागबण्डाका लागि काँग्रेस एउटा हिस्सा हुने र अर्को हिस्सामा माओवादी सहित चार दल हुन्छन् । ‘त्यसमा ५०/५० प्रतिशत भागवण्डा हुनुपर्छ,’ उनले भने ।

काँग्रेसलाई ५० प्रतिशत दिएर बाँकी रहेको ५० प्रतिशत माओवादीसहित दलहरू मिलेर भागबण्डा गरिने ती नेताको भनाइ छ । यदि त्यसमा बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी पनि जोडिन आएमा मिलाउन सकिने उनले बताए ।

उक्त प्रस्ताव काँग्रेसलाई स्वीकार्य नभएमा माओवादीले ६० सिट लिने प्रस्ताव गरेको छ । अघिल्लो निर्वाचनमा एमालेले माओवादीलाई दिएको ५९ सिटलाई आधारविन्दु बनाएर तालमेल गर्नुपर्ने माओवादी नेताहरूको अडान छ ।

‘हामीले तत्कालीन एमालेसँग ५९ सिट लिएर उम्मेदवार उठाएका थियौँ । एमालेले आफूसहित अरू केहीलाई समेत सूर्य चिह्न दिएर उठाएको थियो । हामीले ३६ सिट जित्यौँ, एमालेले ८० सिट जित्यो,’ ती स्थायी समिति सदस्यले भने, ‘अब हुने चुनावमा पनि काँग्रेसले १०५ सिट लिएर त्यसमै एकीकृत समाजवादी, जसपा, जनमोर्चालाई मिलाउनु प¥यो । हामी ६० सिट लिन्छौँ ।’

अघिल्लो निर्वाचनमा एमालेसँग तालमेल हुँदाकै मोडालिटीमा तालमेल गर्न सकिने माओवादी केन्द्रका नेताहरू बताउँछन् । त्यतिबेला एमालेले तालमेलबाट प्रत्यक्षमा ८० र समानुपातिकमा ४१ गरेर १२१ सिट र  माओवादीले प्रत्यक्षमा ३६ समानुपातिकमा १७ गरेर ५३ सिट जितेको थियो ।

गत वैशाख ३० गतेको स्थानीय चुनावमासमेत माओवादी तेस्रो भए पनि २०७४ सालको तुलनामा सुधार भएको भन्दै प्रदेश र प्रतिनिधिसभा चुनावमा बढी सिट पाउनुपर्ने अडान लिएको छ ।

अध्यक्ष प्रचण्डले समेत माओवादी दोस्रो हुनेगरी सिट लिएर तालमेल गर्ने बताउँदै आएका छन् । गत वैशाख ३० गतेको निर्वाचनमा दोस्रो शक्ति बन्ने सम्भावना हुँदाहुँदै पनि सिट तालमेल र पार्टीभित्रको अन्तरघातले तेस्रो भएको भन्दै प्रचण्डले अब हुने चुनावमा दोस्रो हुनेगरी सिट सङ्ख्या लिएर तामलेल गर्ने बताउने गरेका छन् ।

तर माओवादी केन्द्रका स्थायी समिति सदस्य शक्तिबहादुर बस्नेतले कार्यदलमा सिट बाँडफाँटका विषयमा छलफल भइरहेकाले सार्वजनिक रूपमा सिट सङ्ख्या दाबी गर्नु अनुचित हुने बताए । ‘अहिले सिट बाँडफाँटका विषयमा कार्यदलमा छलफल भइरहेको छ । त्यसका मोडालिटी तयार हुँदैछ,’ रातोपाटीसँग बस्नेतले भने, ‘यस्तो अवस्थामा हामीले यति सिट र उति सिट भनेर दाबी गर्दा राम्रो हुँदैन, झन् त्यसले माहौल बिगार्ने काम गर्छ ।’

माओवादीले गठबन्धनमा सम्मानजनक सिट सङ्ख्या लिएर चुनावमा जाने बस्नेतले दाबी गरे ।

बाबुरामलाई माओवादीमै जोडेर ल्याउने प्रचण्डको जोड

अध्यक्ष प्रचण्डले नेपाल समाजवादी पार्टीलाई समेत माओवादीमै जोडेर गठबन्धनमा ल्याउने प्रयास गरिरहेका छन् । जसपाबाट अलग भएपछि बाबुरामले नेपाल समाजवादी पार्टी गठन गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले समेत बाबुराम नेतृत्वको पार्टीलाई गठबन्धनमा ल्याउने बचन दिइसकेका छन् । प्रचण्डले भने बाबुराम यसअघि माओवादीमै भएकाले पुनः माओवादीमै रहेर गठबन्धनमा लैजाने योजना बनाएर सोहीअनुसार गृहकार्य गरिरहेका छन् ।

यसकै सिलसिलामा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र बाबुरामले बिहीबार भेटघाट गरेका छन् । बाबुरामलाई चुनावपछि समाजवादी केन्द्र बनाउने सर्तमा माओवादीसहितको गठबन्धनमा प्रवेश गराउने तयारी भइरहेको स्रोत बताउँछ ।

बाबुराम भने माओवादीसँग सहकार्य हुन सक्ने पक्षमा रहे पनि अहिलेकै अवस्थामा माओवादीमा नफर्किने अडान लिइरहेका छन् । माओवादीका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले प्रचण्ड र बाबुरामबीचको दुरी धेरै नभए पनि अहिलेकै अवस्थाको माओवादी पार्टीमा बाबुराम फर्किन तयार नहुँदा समस्या भएको बताए ।

बाबुराम आफ्नै नेतृत्वको पार्टीलाई गठबन्धनमा राखेर सिट सङ्ख्या दाबी गर्ने तयारीमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप