शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चुनावमा लोसपा र जसपाको मिलन कति सम्भव ?

बिहीबार, २६ साउन २०७९, १७ : २२
बिहीबार, २६ साउन २०७९

जनता समाजवादी पार्टी (जसपा) पछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि पाँच दलीय गठबन्धनमा सहभागी हुने प्रयासमा छ । लोसपा सरकारमा जाने भनेर पनि खुट्टा उचालेको छ । प्रधानमन्त्री एवं काँग्रेसका सभापति शेरबहादुर देउवासँग लोसपा नेतृत्व पटक पटक वार्ता गरिरहेको छ । 

उता मधेसमा जसपा र लोसपाबीच एकता वा गठबन्धन नै आवश्यक रहेको र यी दुई दल एकापसमा मिले भने मात्र मधेसको पहिचान र अधिकार स्थापित हुने पार्टीका नेताहरुले बताउँदै आएका छन् । तर यी दुई मधेसवादी दलबीच गठबन्धनका लागि कुनै प्रयास भएको देखिँदैन ।

सिरहा क्याम्पसका सहप्राध्यापक चन्देश्वर यादवले यी दुई शक्ति नमिलेसम्म मधेसको मुद्दा र पहिचान प्राप्त नहुने विचार राख्छन् । उनले भने, ‘मधेसको चाहना छ कि यी दुई दल आपसमा मिलुन् । जनताले त्यो अनुसारको दबाब पनि दिइरहेका छन् । तर यी दुई दल आआफ्नो व्यक्तिगत स्वार्थका कारण मिल्न सकेका छैनन् ।’

यी दुई दललाई मिल्न नदिनुमा अन्तर्राष्ट्रिय चलखेलसमेत रहेको बताउँदै उनले एउटा दल भारतको नजिक रहेको र अर्को दल टाढा बताए । त्यसले पनि यी दुई दललाई मिल्न नदिएको उनी टिप्पणी गर्छन् । ‘जातीय फ्याक्टरले पनि लोसपा र जसपा मिल्न सकिरहेका छैनन्,’ उनले भने, ‘मधेसको चुनाव र राजनीतिमा जातीय फ्याक्टरले ठूलो काम गर्छ । त्यसले पनि यी दुवै दललाई मिल्न दिएको छैन । लोसपाले फरवार्ड र जसपाले ब्याकवार्ड समुदायको प्रतिनिधित्व गरिरहेको छ । त्यसैले एकले अर्कालाई स्वीकार गरिरहेका छैनन् । ’

विगतमा यसको प्रयास र अभ्यास नभएको होइन । पटक पटक मोर्चा बन्यो, गठबन्धन बन्यो । यहाँसम्म कि एकता नै भयो तर सफल भएन । किन सफल भएन, यसको गम्भीर समीक्षा दुवै पक्षले गरेर एकतामा जोड दिनुपर्ने उनको धारणा छ । सहप्राध्यापक यादवले भने, ‘काँग्रेस, माओवादी र एमाले चाहन्छ कि यी दुई दल आपसमा नमिलुन् । मधेसमा यी दुवै दल जति फुट्छन्, त्यति नै फाइदा ती दललाई हुनेछ । त्यही भएर काँग्रेस र माओवादी केन्द्रले लोसपा र जसपालाई एउटै गठबन्धनमा ल्याएर अल्झाउन चाहन्छन् ।’

अर्का राजनीतिक विश्लेषक जय निशान्त पनि मधेसमा लोसपा र जसपाको मिलन आवश्यक रहेको बताउँछन् । राजनीतिक दलहरूलाई प्रशिक्षण दिँदै आएका निशान्तले भने, ‘लोसपा एउटा लोकतान्त्रिक पार्टी हो । केन्द्रमा बन्ने लोकतान्त्रिक गठबन्धनमा उसको सहभागिता हुन्छ नै, मधेसमा पनि लोसपाको ठूलो योगदान छ । त्यसैले मधेसका दलसँग पनि उसले गठबन्धन र एकता गर्नुपर्छ ।’

जसपा र लोसपा मधेसका लागि साथ साथ लडेको र दुवै दलको योगदान बराबर रहेको बताउँदै उनले मधेसको चाहना नै दुवै दल एक भएर आओस् भन्ने रहेको बताए । दुवै दल नमिले घाटा दुवै दललाई नै हुने उनको भनाइ छ ।

विगतमा यी दुवै दलले मधेसी लोकतान्त्रिक मोर्चा बनाएर तीनवटा मधेस आन्दोलन सफल परेका छन् । तर यी दुवै दलबीच एकपटक मात्र २०७४ मा प्रतिनिधिसभा र प्रदेशसभामा मात्र चुनावी एकता भएको थियो । त्यो चुनावी गठबन्धनले दुवै दललाई फाइदा भएको जसपाका अध्यक्ष उपेन्द्र यादव र लोसपाका अध्यक्ष महन्थ ठाकुरले स्विकारेका छन् । 

२०७४ को चुनावी गठबन्धनकै कारण यी दुवै दलबीच एकता सम्भव भयो । तर त्यो एकता एक वर्ष नपुग्दै भत्कियो । एकता भत्किनुमा दुवै एक अर्कालाई दोषी देखाइरहेका छन् । लोसपाले उपेन्द्र यादव नेतृत्वको तत्कालीन समाजवादी पार्टी विभाजन हुन लागेको अवस्थामा बाध्य भएर आफ्नो दलसँग एकता गरेको तर आफ्नो स्वार्थ पुरा भएपछि अलग भएको आरोप लगाएको छ । उता जसपाले संसद विघटन गर्ने शक्ति एमालेसँग साँठगाँठ गरेर जबर्जस्ती सरकारमा गएको कारण पार्टी विभाजन भएको दाबी गर्दै आएको छ । 

त्यसो त पछिल्लो समय जसपाले एकताका लागि पटक पटक लोसपासँग प्रस्ताव गरेको छ । तर लोसपाले हालसम्म कुनै रेसपोन्स गरेको छैन । लोसपाका नेताहरू भन्छन्, ‘जसपाबाट हालसम्म एकताका लागि कुनै औपचारिक प्रस्ताव आएको छैन । मिडियामा आएको कुरालाई आधार मान्न सकिँदैन ।’

चुनावको मिति घोषणा भइसकेको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरले पनि गठबन्धनका लागि विभिन्न दलसँग कुराकानी सुरु गरेका छन् । एमाले र पाँच दलीय गठबन्धनको साथै सीके राउतको जनमत पार्टी र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीसँग पनि उनले वार्ता थालेका छन् । तर अहिलेसम्म ठोस निर्णय भएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप