शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आगामी निर्वाचनका लागि एमालेले बनायो विभिन्न समिति, भदौ पहिलो साता तीन तहको बैठक आह्वान

बिहीबार, २६ साउन २०७९, १७ : ३१
बिहीबार, २६ साउन २०७९

नेकपा एमालेले आगामी मंसिर ४ मा हुने आम निर्वाचनलाई लक्षित गरी विभिन्न निर्णय गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनको घोषणापत्र निर्माण र चुनावी परिचालन समिति गठन गरेको हो ।

एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ८ सदस्यीय चुनावी घोषणापत्र निर्माण समिति बनाएको छ । समितिमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,  उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा ‘बादल’, विष्णुप्रसाद पौडेल, महासचिव शंकर पौडेल, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेका छन् ।

यस्तै अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा निर्वाचन परिचालन समिति बनेको उनले बताए । परिचालन कमिटीमा केन्द्रीय कमिटीका सबै सदस्य तथा केन्द्रीय निकाय र आयोगका पदाधिकारी रहने गुरुङले बताए । यस्तै बैठकले एमालेले पार्टीका विभिन्न विभाग सचिव मनोनित गरेको छ ।

यता बैठकले चुनावका लागि तयारी गर्न भदौ पहिलो साता स्थायी कमिटी,पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक समेत बोलाएको छ । गुरुङका अनुसार स्थायी कमिटी बैठक भदौ सात गतेका लागि बोलाउने निर्णय गरेको छ भने ९ गते पार्टीको पोलिटब्युरो बैठक बस्ने छ । यस्तै केन्द्रीय कमिटीको बैठक भदौ १० र ११ गते बस्ने गुरुङले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप