शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अपाङ्गता भएकाहरुकाे माग–हामीले इच्छाएको व्यक्तिको सहयोगमा मतदान गर्ने व्यवस्था गरियोस्

बिहीबार, २६ साउन २०७९, १८ : ५७
बिहीबार, २६ साउन २०७९

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनका क्रममा अपाङ्गता भएकाहरुको राजनीतिक अधिकार सुनिश्चित गर्न आयोग तयार रहेको बताएका छन् । बिहिबार निर्वाचन आयोगमा अपाङ्गता भएका व्यक्तिहरुको लागि स्वावलम्बन जीवनपद्धति केन्द्र लगायत अपाङ्गताका विभिन्न क्षेत्रमा काम गर्ने संस्थाका प्रतिनिधिहरुको ज्ञापन पत्र बुझ्दै आयुक्त थपलियाले निर्वाचन कानुन संशोधनका क्रममा ती संस्थाले उठाएका माग सम्वोधन गर्ने वचनबद्धता व्यक्त गरे । 

अपाङ्गता भएका व्यक्तिहरुको लागि स्वावलम्बन जीवनपद्धति केन्द्रका प्रतिनिधिहरुले अपाङ्गता भएकाहरुको मतदानमा सहयोग पु¥याउन एकाघरका परिवारका सदस्य मात्र नभई उनीहरुले इच्छाएको व्यक्तिलाई पनि सामेल गराउन पाउने व्यवस्था गर्न प्रमुख आयुक्त थपलियासँग माग गरेका छन् । निर्वाचनको बेला गैरअपांगता भएका व्यक्तिहरूले अपाङ्गताको कोटामा उम्मेदवारी दिई दुरूपयोग हुने गरेकोले अपांगता भएको परिचयपत्र हेरेर मात्र दर्ताको व्यवस्था गराउन पनि उनीहरुले माग गरेका छन् ।

यस्तै अल्पदृष्टि भएकाहरुलाई एउटै रंगमा चुनाव चिन्ह हुने भएकोले कतिपय चुनाव चिन्ह पहिचान गाह्रो भएको, मतपत्रमा स्वस्तिक छाप लगाउने कोठा सानो भएको लगायतका समस्या सुनाएका थिए । मतदान गर्नका लागि अपाङ्गता भएकाहरुलाई सहज पहुँच मार्गको व्यवस्था गराइदिन पनि उनीहरुले माग गरेका छन् । संस्थाका अध्यक्ष टेकबहादुर गुरूङले प्रमुख आयुक्त थपलियालाई विभिन्न १५ बुँदे ध्यानाकर्षण बुझाएका छन् । 

उनीहरुले नेपालको संविधानको धारा ४१ मा राज्यका हरेक निकायमा अपांगता भएका व्यक्तिहरूको समानुपातिक प्रतिनिधित्वको व्यवस्था रहेको,  धारा ८४ को ३ मा प्रतिनिधिसभाको गठनमा अपांगता भएका व्यक्तिहरूको प्रतिनिधित्वको व्यवस्था, धारा ८६ को २ मा राष्ट्रिय सभामा प्रतिनिधित्वको व्यवस्था र धारा १७६ को ७ मा प्रदेश सभामा अपांगता भएका व्यक्तिहरूको सहभागिता संविधानले सुनिश्चित गरेकोले निर्वाचन ऐनमा पनि सो कुराको व्यवस्था गर्न आग्रह गरे । प्रमुख आयुक्त थपलियाले सो ज्ञापन पत्र बुझ्दै आयोगले सक्नेसम्मको माग सम्बोधन गर्ने उल्लेख गरे । देशभर अपाङ्गता भएका झन्डै ६ लाख मतदाता रहेको अनुमान गरिएको छ । 

हेर्नुहोस ध्यानाकर्षण पत्र:


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप