बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

छापा मार्न जाँदा जब अर्को मेनपावर कम्पनीका ८७ वटा पासपोर्ट भेटिए

बिहीबार, २६ साउन २०७९, २० : १४
बिहीबार, २६ साउन २०७९

काठमाडौंस्थित सिनामंगलमा रहेको ह्वाइट हर्स मेनपावरले विज्ञापन प्रकाशनबिना मलेसिया रोजगारीमा जाने युवाहरूको अन्तर्वार्ता लिइरहेको भन्ने सूचनाका आधारमा वैदेशिक रोजगार विभागमा आयो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले नै छापा हान्न विभागलाई निर्देशन दिएका थिए ।

त्यहि आधारमा विभागको टोली कम्पनीमा छापा हान्न निस्किएको थियो । छापा मार्ने क्रममा त्यस्तो सूचना अनुसार केही भेटिएन । विभागले छापा मार्दा किङ फिसर मेनपावरबाटै वैदेशिक रोजगारीका लागि शुक्रबार २३ जना मलेसिया जाने तयारीमा थिए । मलेसिया जान लागेका युवाहरुलाई विभागको टोलीले मेनपावरलाई कति पैसा लिएको भनेर प्रश्न सोध्दा उनीहरुले कुनै पनि शुल्क नबुझाएको जिकिर गरेका थिए । त्यस्तै मेनपावरका कर्मचारीहरूले पनि फ्रि भिसा फ्रि टिकटमै मलेसिया पठाइरहेको दाबी गरे ।

 

तर, त्यहाँ विभागको टोलीले अर्को रहस्य पत्ता लगायो । त्यो थियो,– अर्कै कम्पनीका ८७ वटा पासपोर्ट । बिहीबार दिउँसो विभागको टोलीले छापा मार्दा किङ फिसर नामक म्यानपावरका कागजात फेला परे भने ८७ थान पासपोर्ट समेत जफत गरेको थियो । पासपोर्टसँग मेडिकल रिपोर्ट पनि  राखिएको थियो । विभागले पासपोर्ट लिएर मेडिकल रिपोर्ट भने त्यही छोडिदिएको थियो । विभागले किङ फिसर र ह्वाइट हर्स मेनपावर कम्पनीका अधिकारीहरुलाई विभागमा बोलाएको छ । दुवै कम्पनी दाजु-भाइले सञ्चालन गर्दै आएका छन् । रोचक कुरा के छ भने ह्वाइट हर्स मेनपावर सञ्चालक सागर गिरी मलेसिया छन् । उनी उतैबाट आफ्नो कम्पनी चलाउँदै आएका हुन् । उनले नेपालमा कर्मचारी राखेर मलेसियाका डिमाण्डहरु आफ्नो कम्पनीमार्फत ल्याउँदै आएका हुन् । 

किङ फिसर मेनपावरमार्फत मलेसिया रोजगारीको प्रक्रिया अगाडि बढाइएका ८७ थान पासपोर्ट बरामद गरिएको विभागको अनुसन्धान अधिकृत हिमराज अर्यालले जानकारी दिए । त्यसरी कुनै म्यानपावर कम्पनीले अर्को म्यानपावर कम्पनीका कागजात प्रयोग गरेर वैदेशिक रोजगारीमा पठाउन नमिल्ने प्रावधान रहेको अधिकृत अर्यालले बताए । त्यस्तो कार्य गर्ने म्यानपावर कम्पनीलाई कारवाही हुने र त्यसको प्रक्रिया अगाडि बढाइएको उनको भनाइ छ । 

म्यानपावरले तोकिएकोभन्दा बढी शुल्कसमेत लिएको हुन सक्ने आशंका विभागले गरेको थियो । तर, छापा मार्दा त्यस्तो कुनै प्रमाण नभेटिएको अर्यालले बताए । किङ फिसरका सञ्चालक रबि गिरी हुन् । उनले मेडिकल गराउनको लागि अर्को कम्पनीलाई दिएको र त्यसबापत केही शुल्क लिएको हुनसक्ने अनुमान गरिएको छ । यस विषयमा कम्पनीका कर्मचारी र सञ्चालक दुवैले कुनै प्रतिक्रिया दिएका छैनन् । 
यस बारेमा विभागले थप अध्ययन गर्ने र तोकिएको भन्दा बढी शुल्क लिएको पाइएमा कानुन बमोजिम कारबाही गरिने अधिकृत अर्यालले बताए । 

एउटा मेनपावर कम्पनीले अर्को मेनपावर कम्पनीका पासपोर्ट लिन नपाउने भन्दै दुवै कम्पनीमाथि वैदेशिक रोजगार ऐन २०६४ अनुसार कारवाही प्रक्रिया अगाडि बढाइएको अर्यालले बताए ।  विभागले यसअघि बिहीबार मात्रै कतार प्रहरीमा पठाउन १५ लाखसम्म लिने गरेको गुनासोको आधारमा अल ताक्वेत ओभरसिजमा छापा मारेको थियो । त्यसका पनि महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो । उक्त म्यानपावरमाथि अनुसन्धान जारी रहेको विभागले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप