बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आर्मेनिया र अजरबैजान फेरि किन लड्न खोज्दैछन् ?

बिहीबार, २६ साउन २०७९, २१ : ११
बिहीबार, २६ साउन २०७९

नगोर्नो–कराबखमा सन् २०२० देखि लागु युद्धविराम लागू छ । पहिले नै कमजोर खालको सम्झौतामा टिकेको युद्धविराम यो महिनाको सुरुमा उल्लंघन भयो ।  यस उल्लंघनका लागि आर्मेनिया र अजरबैजान एकअर्कालाई दोष लगाइरहेका छन् ।

सन् २०२० को युद्धमा अजरवैजानले यो विवादित भूमिको अधिकांश हिस्सामा नियन्त्रण जमाएको थियो । त्यसयता अजरबैजानको भूमिभित्र रहेको र बहुसंख्यक आर्मेनियाली जाति बस्ने यो क्षेत्र लचिन कोरिडोरले मात्र अर्मेनियासँग जोडिएको छ । 

यही क्षेत्रमा आर्मेनियाले यो महिनाको सुरुमा गोली चलाउँदा आफ्नो एक जना सैनिक मारिएको अजरबैजानले आरोप लगाएको छ ।  सन् २०२० नोभेम्बरमा ४४ दिनको युद्धपछि आर्मेनिया, अजरबैजान र रुसबीच त्रिपक्षीय सम्झौता भएको थियो । आर्मेनियाले त्यस सम्झौता विपरित काम गरिरहेको अजरबैजानको भनाई छ । 

‘सम्झौतामा रुसी शान्ति सेनाको परिचालन सँगसँगै आर्मेनिया फौज फिर्ता गर्ने र स्थानीय सशस्त्र समूहलाई निशस्त्रीकरण गर्ने सहमति भएको थियो । तर सहमतिको २० महिनापछि पनि आर्मेनियाले यो कुरा लागू गरेको छैन,’ खजार विश्वविद्यालयका प्राध्यापक तथा राजनीतिक विश्लेषक एल्मार मुस्ताफायभले भने । 

तर नगोर्नो–कराबाखका अधिकारीले भने अजरबैजानले नै युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन् । दुई फौजबीच तनाब बढ्नुअघि अजरबैजानले ड्रोन आक्रमण गरेर दुई आर्मेनियन पृथकतावादीको हत्या गरेको थियो । त्यस घटनामा १४ जना घाइते भएका थिए । 

‘अजरबैजानले सक्छ, त्यसैले उसले अर्मेनियालाई आक्रमण गरिरहेको छ । त्यसैले पछिल्लो विवादमा अर्मेनियाले सेप्टेम्बरमा सेना फिर्ती पुरा गर्ने भनेर गरेको कुराले केही फरक पारेको छैन,’ कोलम्बिया विश्वविद्यालयमा मध्य–पूर्व, दक्षिण एशिया र अफ्रिका अध्ययनका प्राध्यापक खत्चिङ मोरादिनले भने । 

रुसले पनि अजरवैजानमाथि युद्धविराम भङ्ग गरेको आरोप लगाएको छ । रुसी रक्षा मन्त्रालयले ‘स्थिति साम्य बनाउन आवश्यक कदम चाल्न’ आह्वान गरेको छ ।  नगोर्नो–कराबाख द्वन्द्वमा पहिलेदेखि रुस अर्मेनियाको साथ छ भने टर्कीले अजरबैजानको साथ दिएको छ । 

पछिल्लो घटनाले युरोपेली संघको मध्यस्थतामा अजरवैजान र आर्मेनीयाबीच स्थायी शान्ति निर्माण गर्न चलिरहेको वार्ता प्रयासमा असर पर्नेछ ।  युरोपेली संघले सोमबार दुई पक्षलाई तुरुन्त युद्ध रोकेर वार्ताको टेबलमा फर्किन आह्वान गरेको छ । तर यथास्थिति नबदलिएसम्म दुई पक्षबीच शान्ति सम्झौताको सम्भावना निक्कै कम छ । ​ प्राध्यापक मोरादिन दुई देशबीच शान्ति सम्झौताभन्दा पनि युद्धको बढि सम्भावना बढ्दै गएको बताउँछन् । 

नगोर्नो–कराबाखको द्वन्द्वको इतिहास 

आर्मेनिया र अजरबैजान बीचको द्वन्द्वको इतिहास झण्डै तीस वर्षभन्दा पुरानो हो । सन् १९९१ मा सोभियत संघको विघटनपछि अर्मेनिया, अजरवैजान र नगोर्नो–कराबाखले स्वतन्त्रता घोषणा गरे ।  तर नगोर्नो–कराबाखको स्वतन्त्रता घोषणालाई बाँकी दुईले खारेज गरे र सो भूमिमाथि आ–आफ्नै दावी पेस गरे । 

अजरबैजानको सीमानाभित्र रहेको यो भूगोलमा केही किलोमिटर टाढास्थित मुलुक अर्मेनियाका मुलबासी अर्थात अर्मेनियन समुदाय बस्छन् । यही स्थिति नै समस्याको कारण भइदिएको छ ।  सन् १९९१ अघि तीनवटै भूभाग एउटै राज्य अर्थात सोभियत संघमा रहेकाले यो स्थितिले त्यति फरक पारेको थिएन ।  तर स्वतन्त्रतापछि यस १२,००० वर्ग किमी क्षेत्रको लागि सन् १९९२ मा अजरवैजान र अर्मेनिया युद्धमा गए । दुई वर्ष चलेको युद्धमा झण्डै ३० हजार मारिए । लाखौं मानिस विस्थापित भए । 

त्यस समय युद्ध आर्मेनियाको जितसँगै टुंगिएको थियो । त्यसमा रुसी सहायताले महत्वपूर्ण भूमिका खेलेको थियो ।  झण्डै तीस वर्षसम्मको तयारी गरेर अजरवैजानले सन् २०२० मा आर्मेनियामाथि आक्रमण गर्यो । यसपटक रुसले पहिलेजस्तो आर्मेनियालाई सघाएन बरु टर्कीले अजरवैजानलाई महत्वपूर्ण हतियार सहयोग दियो । 

६ हप्ता चलेको पछिल्लो युद्धमा कम्तिमा ६५०० को मृत्युपछि भू–भाग पुनः अजरवैजानको नियन्त्रणमा फर्किएको छ । तर त्यस भागमा अलग स्थानीय निकाय छ, जो अजरवैजानभन्दा अर्मेनियाप्रति बढी अपनत्व महसुस गर्छ । 
यो स्थितिले गर्दा सन् २०२० नोभेम्बरपछिको युद्ध विरामपछि पटक पटक तनावपूर्ण स्थिति निम्तिसकेको छ ।  –अल–जजिराबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप