बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तु–१ मा गठबन्धनबाट चक्रपाणि कि दीपकुमार ?

शुक्रबार, २७ साउन २०७९, ०६ : ३८
शुक्रबार, २७ साउन २०७९

बुटवल । आसन्न निर्वाचनमा सत्तारुढ गठबन्धनबीच भागबण्डाको मोडालिटीबारे गृहकार्य भइरहेको छ । सामान्यतया अघिल्लो निर्वाचनमा गठबन्धनभित्रका दलले जितेको क्षेत्रमा सोही दललाई उम्मेदवारी दिन लगाउने चर्चा चलिरहेको छ । यद्यपि केही क्षेत्रमा गठबन्धनभित्रकै नेता व्यवस्थापनमा समस्या देखिने भएको छ ।

२०७४ को निर्वाचनमा एमाले–माओवादी गठबन्धनका कारण धेरै क्षेत्रमा नेपाली काँग्रेसले आफ्नो बलियो प्रभावका बाबजुद हार व्यहोरेको थियो । त्यस्ता क्षेत्रमा अहिले गठबन्धनबीच भागबण्डा मिलाउन ठुलो चुनौती हुने देखिएको छ ।

कपिलवस्तुवाट पटकपटक चुनाव जितेका पूर्व मन्त्री एवं नेपाली काँग्रेसमा नेता दीपकुमार उपाध्याय अहिले आफू उम्मेदवार बन्ने या नबन्ने भन्ने अन्योलमा छन् । किनकि उनको क्षेत्रमा अघिल्लो निर्वाचनमा वाम गठबन्धनबाट माओवादी केन्द्रका चक्रपाणि खनाल विजयी भएका थिए । अघिल्लो निर्वाचनमा जितेकै आधारमा माओवादी केन्द्रका खनालले सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिने भएमा काँग्रेस नेता उपाध्यायले आफ्नो क्षेत्रमा उम्मेदवारी दिन पाउने छैनन् ।

सत्तारुढ गठबन्धनभित्र माओवादी केन्द्रका खनाल र काँग्रेसका उपाध्यायमध्ये कसलाई कपिलवस्तु–१ मा उम्मेदवार बनाउने भन्नेबारे रस्साकस्सी नै पर्ने देखिन्छ । किनकि आ–आफ्नो पार्टीमा दुवै राम्रो प्रभाव भएका नेता मानिन्छन् ।

दीपकुमार उपाध्याय कपिलवस्तुमा काँग्रेसको छुट्टै ‘ब्रान्ड’ मानिन्छन् । २०३० सालमा तत्कालीन हथौसा गाउँको प्रधानपञ्च निर्वाचित भएर राजनीतिक यात्रा सुरु गरेका उपाध्याय पटकपटक सांसद बनिसकेका छन् । उनी संघीय सरकारमा पनि सामेल भइसकेका छन् । पछिल्लो समय उनी भारतका लागि नेपाली राजदूत नियुक्त भएका थिए ।

उपाध्यायले २०४८ सालको संसदीय निर्वाचनमा कपिलवस्तु क्षेत्र नं. २ बाट राप्रपाका भगवानदास गुप्तालाई पराजित गरेका थिए । ०५१ सालको निर्वाचनमा पनि उपाध्यायले सोही क्षेत्रबाट फेरि गुप्तालाई नै पराजित गरे ।

०५६ को निर्वाचनमा भने बृजेश कुमार गुप्ताले उपाध्यायलाई पराजित गरे । पछि निर्वाचन क्षेत्र पुनरावलोकन हुँदा उपाध्याय कपिलवस्तु क्षेत्र नं.१ बाट उम्मेदवार बने । २०७० सालमा उनी सो क्षेत्रमा एमालेका बलराम अधिकारीसँग पराजित भए । २०७४ सालमा वाम गठबन्धनबाट माओवादीका चक्रपाणि खनालले उनलाई पराजित गरे । खनालले २९ हजार ६९३ मत पाउँदा उपाध्यायले २८ हजार ७४७ मत ल्याएका थिए ।

वैशाखमा सम्पन्न स्थानीय तहको मत परिणाम हेर्दा यो क्षेत्रमा नेपाली काँग्रेस नै अगाडि छ । यो क्षेत्रमा काँग्रेसका वडा अध्यक्षहरूले २८ हजार २७१ मत पाएका छन् भने एमालेले २६ हजार ८२३, जसपाले १३ हजार ५१०, माओवादीले ९ हजार ३३८, नेकपा एकीकृत समाजवादीले ३ हजार ७२२, लोसपाले ३ हजार ४२४, राप्रपाले २ हजार ४८० पाएका छन् । यस आधारमा पनि यो क्षेत्रमा सत्तारुढ गठबन्धन बलियो देखिन्छ ।

अहिले खनाल र उपाध्यायमध्ये कसलाई सो क्षेत्रमा उम्मेदवार बनाउने भन्नेबारे सत्तारुढ गठबन्धनले निर्णय लिन बाँकी छ । त्यसो त दीपकुमारका लागि कपिलवस्तु–२ पनि विकल्प हुन सक्छ । तर सो क्षेत्रमा काँग्रेसकै सुरेन्द्र आचार्य उम्मेदवार बन्ने आकांक्षा राखिरहेका छन् । त्यस कारण उपाध्यायका लागि क्षेत्र नम्बर १ मा गठबन्धन कै सहयात्री दल माओवादी केन्द्र र क्षेत्र नम्बर २ मा आफ्नै पार्टीका उम्मेदवार आकांक्षी आचार्य तगारो बन्ने देखिन्छ ।

अन्य क्षेत्रमा को–को छन् आकांक्षी ?

प्रतिनिधिसभातर्फ ३ निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा क्षेत्र नम्बर १ गठबन्धनबाट माओवादी केन्द्रको भागमा पर्ने देखिन्छ । क्षेत्र नम्बर २ र ३ मा काँग्रेसले उम्मेदवारीको दाबी गर्ने सम्भावना छ ।

क्षेत्र नम्बर १ माओवादीको भागमा परेको अवस्थामा सो पार्टीबाट चक्रपाणि खनाल नै उम्मेदवार बन्ने निश्चित छ । यहाँ एमालेबाट पूर्व सांसद बलराम अधिकारी र हाल प्रदेशसभा सदस्य विष्णु पन्थी पनि आकांक्षी देखिएका छन् ।

क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसबाट सुरेन्द्र आचार्य टिकट पाउने सम्भावना धेरै छ । हाल पार्टीको प्रदेश महामन्त्रीसमेत रहेका उनी गत निर्वाचनमा पराजित भएका थिए ।

यो क्षेत्रमा एमालेबाट वृजेशकुमार गुप्ता चुनाव लड्ने तयारीमा छन् । २०७४ सालमा हृदयेश त्रिपाठीको स्वतन्त्र राजनीतिक समूहमा रहेर सूर्य चिह्न लिएर उम्मेदवार बनेका उनी अहिले एमालेमा प्रवेश गरेका छन् । यहाँ एमालेले गुप्तालाई नै टिकट दिने निश्चितजस्तै रहेको एमालेका कार्यकर्ताहरू बताउँछन् । 

क्षेत्र नम्बर २ मा २०७४ सालमा वृजेश कुमार गुप्ताले ३५ हजार १२७ मतका साथ जित हासिल गर्दा नेपाली काँग्रेसका सुरेन्द्रराज आचार्यले ३१ हजार ५६६ मत ल्याएका थिए । वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन परिणाम हेर्ने हो भने यो क्षेत्रमा नेपाली काँग्रेस नै अगाडि देखिन्छ ।

यो क्षेत्रबाट काँग्रेसका वडा अध्यक्षहरूले ३० हजार ९९८ मत पाएका छन् भने एमालेले २७ हजार २९८, जसपाले ६ हजार ९०८, लोसपाले ६ हजार ३८६, माओवादीले ४ हजार ४५९, राप्रपाले दुई हजार ३५, नेकपा एकीकृत समाजवादीले ६९१ मत पाएको छ ।

कपिलवस्तु–३ मा काँग्रेसबाट अभिषेक प्रताप शाह र काँग्रेसका लुम्बिनी प्रदेश संसदीय दलका नेता वीरेन्द्र कनौडिया आकांक्षी देखिएका छन् । शाहले २०७४ सालमा तत्कालीन संघीय समाजवादी फोरम (हाल जसपा)का मंगलप्रसाद गुप्तालाई पराजित गरेका थिए । गुप्ता हाल एमालेमा छन् । हाल एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्यसमेत रहेका गुप्तालाई पार्टीले चुनावी मैदानमा अगाडि सार्ने देखिन्छ । त्यसकारण यहाँ फेरि पनि साह र गुप्ताबीच नै प्रतिस्पर्धा हुने सम्भावना देखिन्छ ।

क्षेत्र नम्बर ३ मा २०७४ सालमा काँग्रेसका अभिषेक प्रताप शाह १९ हजार ८६४ मतका साथ जित हासिल गर्दा तत्कालीन संघीय समाजवादी फोरमका मंगलप्रसाद गुप्ताले १५ हजार ७९४ मत ल्याएका थिए ।

यो क्षेत्रमा स्थानीय तहको निर्वाचन परिणाम हेर्ने हो भने एमाले अगाडि देखिन्छ । यद्यपि सत्तारुढ गठबन्धनको तुलनामा एमाले कमजोर नै देखिन्छ ।

यो क्षेत्रमा एमालेका वडा अध्यक्षहरूले १८ हजार ७४७ मत पाउँदा काँग्रेसले १५ हजार ७७०, जसपाले ९ हजार ९७४, माओवादीले ६ हजार ८४४, राप्रपाले ६ हजार ७४, लोसपाले ४ हजार ६७५, नेकपा एकीकृत समाजवादीले एक हजार ९८६ मत पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप