शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भन्सार सीमा बाहिरका जाँच केन्द्र हटाउन अदालतको आदेश

शुक्रबार, २७ साउन २०७९, ०७ : ३८
शुक्रबार, २७ साउन २०७९

उच्च अदालत विराटनगरको इलाम इजलासले भन्सार सीमा क्षेत्र बाहिर कुनै पनि स्थानमा स्थायी जाँच केन्द्र स्थापना नगर्न आदेश जारी गरेको छ । उच्च अदालतका न्यायाधीशद्वय प्रेमराज कार्की र लोहितचन्द्र शाहको संयुक्त इजलासले बिहीबार मेची भन्सार कार्यालयका नाममा उक्त आदेश जारी गरेको हो ।

झापाको मेचीनगर–७ जोरसिमलस्थित पूर्वपश्चिम राजमार्गमा मेची भन्सार कार्यालय र सशस्त्र प्रहरीको राजस्व तथा भन्सार सुरक्षा गुल्मले सञ्चालन गरिरहेको जाँच केन्द्र हटाउन, जाँचका नाममा सर्वसाधारणलाई सास्ती नदिन र निर्वाधरुपमा आवागमन गर्न दिन अदालतको आदेशमा उल्लेख छ । 

जोरसिमलको जाँच केन्द्र गैरकानुनी भएको हुँदा त्यसलाई हटाइपाउँ भनी सन्दीप खनालले मेची भन्सार कार्यालय र सशस्त्र प्रहरी वलको राजस्व तथा भन्सार सुरक्षा गुल्मलाई विपक्षी बनाई हालै उच्च अदालत इलाम इजलासमा रिट निवेदन दर्ता गराएका थिए ।

रिटमाथिको पहिलो सुनुवाइ गर्दै अदालतले गत साउन १९ गते जाँच केन्द्र हटाउन अन्तरिम आदेश जारी गरेको थियो । सो अन्तरिम आदेशलाई बिहीबारको फैसलाले सदर गरेको रिट निवेदकको तर्फबाट बहस पैरवी गरेका अधिवक्ता अशोक पोखरेलले बताए । 

निवेदकको तर्फबाट पोखरेल र अधिवक्ता सुरज खत्रीले बहस गर्नुभएको थियो भने विपक्षीका तर्फबाट उच्च सरकारी वकिल कार्यालय इलामका न्यायाधिवक्ता तेजबहादुर सिञ्जाली मगरले बहस गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप