शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ब्याटल ग्राउण्ड चितवन–३ : एमालेको ‘हेभी वेट’ उम्मेदवार नहुँदा प्रचण्डलाई हाइसन्चो

शुक्रबार, २७ साउन २०७९, १२ : २५
शुक्रबार, २७ साउन २०७९

देशकै केन्द्रमा रहेको चितवन हरेक निर्वाचनमा चर्चामा रहन्छ । विभिन्न राजनीतिक दलका प्रभावशाली नेताहरु, अझ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृह जिल्ला भएकाले पनि निर्वाचनमा चितवन सर्वाधिक चासोमा पर्ने गर्दछ ।

आगामी मंसिर ४ गते निर्वाचनको मिति तय भएसँगै चितवनमा चुनावी रौनक सुरु भइसकेको छ । दलहरु आ–आफ्नो रणनीति निर्माणमा जुटेका छन् भने दलका नेताहरु आम जनतासमक्ष पुग्न थालेका छन् । यसैबीच चितवनको निर्वाचन क्षेत्र नम्बर–३ लाई विशेष चासोका साथ हेरिएको छ । यो क्षेत्रबाट आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सोही क्षेत्रबाट चुनाव लड्दैछन् ।

एमालेले गत मंसिरमा चितवनमै महाधिवेशन आयोजना गरेको थियो । एमालेले संसदीय निर्वाचनलाई ध्यानमा राख्दै चितवनमा महाधिवेशन गरेको चर्चा पनि चलेको थियो । चितवन–३ मा माडी नगरपालिका र भरतपुर महानगरपालिकाको पश्चिमतर्फका वडा पर्छन् । सो क्षेत्रमा माडीका ९ र भरतपुरको ६, ८, १३ देखि २९ सम्मका वडा पर्दछन् ।

यी हुन् चर्चामा रहेका उम्मेदवार

चितवन क्षेत्र नम्बर–३ बाट काँग्रेसका ५ केन्द्रीय नेताले प्रतिनिधित्व गर्दछन् । भरतपुरको बहुमत मतदाता रहेको सो क्षेत्रबाट काँग्रेस नेता टेकप्रसाद गुरुङले प्रतिनिधित्व गर्दछन् । वर्तमान मन्त्री उमेश श्रेष्ठ, नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिनेश कोइराला, अन्जनी श्रेष्ठको क्षेत्र पनि चितवन–३ नै हो । चितवन–२ निर्वाचन क्षेत्र भएकी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीको प्रभाव क्षेत्र पनि चितवन–३ नै हो ।

आगामी निर्वाचनमा गठबन्धनभित्रको भागबण्डामा काँग्रेसले सो क्षेत्र पाएमा उनीहरु मध्ये एक जना उम्मेदवार बन्ने नेपाली काँग्रेस चितवनले जनाएको छ । यता माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड एकल उम्मेदवारको रुपमा छन् भने एकीकृत समाजवादीका खासै प्रभावशाली नेता आकांक्षी देखिएका छैनन् ।

नेकपा एमालेले सो क्षेत्रबाट देवी ज्ञवाली, बागमती प्रदेशसभा सदस्य कृष्णप्रसाद भुर्तेल र एमाले चितवनका अध्यक्ष राम न्यौपानेमध्ये कसैलाई उम्मेदवार बनाउन सक्ने आकलन गरिएको छ । सोही क्षेत्रबाट राप्रपाका विक्रम पाण्डे आगामी निर्वाचनमा उम्मेदवार बन्ने देखिएको छ ।

राम न्यौपाने र दिनेश कोइराला

आसन्न प्रतिनिधिसभा निर्वाचनमा पछिल्लो डेढ दशक नेपाली राजनीतिको केन्द्रमा देखिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोही निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्ने घोषणा भइसकेको छ । प्रचण्ड २०७४ को निर्वाचनमा एमाले–माओवादी केन्द्रको गठबन्धनबाट चितवन–३ मै उम्मेदवार भएर जितेका थिए । उनले काँग्रेस र राप्रपाको गठबन्धनका उम्मेदवार राप्रपाका विक्रम पाण्डेलाई पराजित गरेका थिए ।

आगामी निर्वाचनमा चितवन–३ मा प्रचण्ड सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा चुनाव लड्ने तयारीमा जुटेका छन् । सोही अनुसार उनी आन्तरिक तयारी र गठबन्धनमा सिट बाँडफाँटको कसरतमा छन् । आगामी निर्वाचनमा सो क्षेत्रबाट एमालेका ‘हेभी वेट’ उम्मेदवार नहुने देखिएको छ । सो क्षेत्रमा एमालेको प्रभावशाली उम्मेदवार नहुँदा आगामी निर्वाचनमा प्रचण्डलाई चुनौती कम देखिएको छ ।

एमालेले सो क्षेत्रमा आफ्नो बलियो प्रभाव रहेकाले चुनाव जित्न ‘हेभी वेट’ उम्मेदवार नै हुनु नपर्ने दावी गर्दै आएको छ । एमाले आफ्नो संगठनको बलमा सो क्षेत्रमा प्रचण्डसँग आफ्ना उम्मेदवार भिडाउने तयारीमा जुटेको छ । आगामी निर्वाचनमा एमालेले सो क्षेत्रबाट देवी ज्ञवालीलाई उम्मेदवार बनाउने सम्भावना रहेको जनाइएको छ । प्रचण्डसँग विगतको निर्वाचनको बदला लिने दाउमा रहेका ज्ञवाली पनि सोही अनुसार तयारीमा जुटेका छन् भने बागमती प्रदेशसभा सदस्य कृष्णप्रसाद भुर्तेल पनि प्रचण्डसँग चुनाव लड्ने एमालेको वैकल्पिक उम्मेदवारको रुपमा देखिएका छन् ।

एमाले चितवनका अध्यक्ष राम न्यौपाने पनि प्रचण्डसँग सो निर्वाचन क्षेत्रमा लड्न सक्ने उम्मेदवारको रुपमा हेरिएको छ । एमाले चितवनले सो क्षेत्रमा एमालेले सिङ्गल निर्वाचन लड्ने तयारी गरेर संगठन शुद्धीकरणको अभियान सुरु गरेको जनाएको छ ।

प्रचण्डसँग राप्रपाका पाण्डेलाई भिडाउने एमालेको योजना

एमाले कुनैपनि अवस्थामा चितवन क्षेत्र नम्बर–३ बाट प्रचण्डलाई हराउन चाहन्छ । सोही अनुसार एमाले प्रचण्डको प्रतिस्पर्धी उम्मेदवारको खोजीमा पहिलेदेखि नै लागिरहेको छ । एमाले चितवनका अध्यक्ष न्यौपानेका अनुसार सो क्षेत्रमा एमालेको संगठन र मतदाताको झुकाव आफूप्रति भए पनि सत्ता गठबन्धनसँगको प्रतिस्पर्धा चुनौतीपूर्ण हुने आकलन गर्दै प्रचण्डलाई कडा चुनौती दिन राप्रपाका उम्मेदवार विक्रम पाण्डेलाई सघाउन सक्ने सम्भावना पनि नभएको होइन ।

‘सो क्षेत्रमा राप्रपाको पनि राम्रो प्रभाव छ । चुनावमा एमाले एक्लै प्रचण्डसँग लड्न तयार छ,’ न्यौपानेले भने, ‘सत्ता गठबन्धनले दिएको चुनौती सामना गर्न एमाले आफै सक्षम छ तर, निर्वाचनको नतिजा पनि हेर्नुपर्ने भएकाले राप्रपासँगको एलाइन्समा विक्रम पाण्डेलाई सघाउन सकिन्छ ।’

राप्रपासँगको एलाइन्स र विक्रम पाण्डेलाई चितवन–३ मा सघाउने विषय यस अघिदेखि नै आएकाले त्यो सम्भावनालाई नकार्न नसकिने उनको भनाइ छ । तर, हालसम्म एलाइन्सका बारेमा कुनै निर्णय नभएको र पार्टीका कार्यकर्ताहरु पनि एकल रुपमा निर्वाचनमा जान चाहने भएकाले त्यसतर्फ कुनै छलफल नभएको उनले बताए ।

यस्तो छ चितवन–३ को लेखाजोखा

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा चितवनको माडीमा गठबन्धनका उम्मेदवार पराजित भए भने भरतपुरमा जित निकाल्न सफल भयो । गत स्थानीय तहको निर्वाचनमा माओवादीले दुवै पालिकामा गठबन्धनको सहयोगमा उम्मेदवार उठाए पनि भरतपुरमा एमालेका विजय सुवेदीलाई हराउँदै प्रचण्ड पुत्री रेणु दाहालले १२ हजार ४४९ मतले चुनाव जित्दा माडीमा माओवादी केन्द्रका ऋषिराम काफ्लेले एमालेकी ताराकाजी महतोसँग चुनाव हारेका थिए ।

माओवादी केन्द्रले भरतपुरको मेयर जिते पनि वडास्तरमा भने कमजोर उपस्थिति रह्यो । महानगरका २९ वडामध्ये निर्वाचन क्षेत्र–३ मा महानगरका १९ वटा वडा पर्दछन् । निर्वाचन क्षेत्र–३ अन्तर्गत पर्ने १९ वडामध्ये काँग्रेसले एक्लैले १० वडा जितेको छ । जहाँ माओवादी केन्द्र र एमालेले ३÷३ वटा वडा, एकीकृत समाजवादीले २ वटा वडा र एक वटा वडामा स्वतन्त्र उम्मेदवारले चुनाव जितेका छन् । वडास्तरको मतको हिसाबले महानगरपालिकामा काँग्रेस अन्य दलभन्दा निकै बलियो देखिन्छ ।

यता, गत २०७४ को निर्वाचनमा माडीको प्रमुख पदमा जितेको माओवादी केन्द्रले गत निर्वाचनमा भने हार व्यहोर्नु परेको थियो । नेतृत्वमा हारे पनि माडी नगरपालिकाको वडास्तरमा भने माओवादी केन्द्र बलियो छ । माओवादी केन्द्रले माडीको ९ वडामध्ये ४ वटा वडा जितेको छ । जहाँ राप्रपाले २, एकीकृत समाजवादीले २ र एमालेले १ वडा जितेका छन् । माडीको वडास्तरमा भने काँग्रेस शून्य भयो । काँग्रेसले माडीमा उपप्रमुखबाहेक अन्य पदमा जित निकाल्न सकेन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप