शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाली क्रिकेटमा कस्तो पर्ला प्रभाकरको प्रभाव ?

शुक्रबार, २७ साउन २०७९, १२ : ३४
शुक्रबार, २७ साउन २०७९

नेपाली राष्ट्रिय क्रिकेट टोलीले मनोज प्रभाकरको रुपमा नयाँ प्रशिक्षक पाएको छ । नेपाली टोलीले एक वर्षको अन्तरालमा दोस्रो प्रशिक्षक पाएको हो । नेपाली राष्ट्रिय टोलीको प्रशिक्षकत्व सम्हाल्न आएका पुबुदु दासानायकेले राजीनामा दिएको एक महिना भित्रै क्यानले प्रभाकरलाई प्रशिक्षकको जिम्मेवारी दिएको हो । 

त्यसअघि नेपाली टोलीको प्रशिक्षकका रुपमा रहेका देभ वाट्मोरले पनि राजीनामा दिएका थिए । पछिल्लो पटक पुबुदु र वाट्मोर दुबै प्रशिक्षक मात्र आठ महिना नेपाली टोलीको प्रशिक्षकको रुपमा रहे । नेपाली टोलीमा अब आएका प्रशिक्षक प्रभाकर कति महिना टिक्ने हुन् भन्ने कुरा उनको हातमा छ । त्यसो त क्यानले उनीसँग लामो समय टिक्ने गरी सम्झौता गरेको छ । प्रशिक्षकहरु नटिक्ने विषयमा सोचमग्न भएको क्यान अब प्रभाकर लामो समय टिकिदिऊन् भन्ने आशामा छ । 

प्रशिक्षक लामो समय टिक्नका लागि क्यान र खेलाडी दुबै जिम्मेवार हुन आवश्यक छ । पुबुदुले प्रशिक्षकको जिम्मेवारी छोड्न पूर्व राष्ट्रिय टोलीमा एकता नभएको सन्देश छोडेर गएका थिए । त्यसैले अब आउने प्रशिक्षकको प्रभाकरलाई पहिले टिममा एकता ल्याउने चुनौती छ । 

विवादास्पद प्रभाकरलाई नेपालमा जम्ने मौका 
प्रभाकर क्रिकेट खेलाडीको रुपमा सफल छन् । अलराउन्डरको रुपमा उनले भारतका लागि निकै महत्वपूर्ण योगदान गरे । उनले भारतका लागि ३९ टेस्ट र १३० एकदिवसीय क्रिकेट खेलिसकेका छन् ।
खेलाडीको रुपमा सफल भएका उनी पछिल्लो समय व्यक्तिगत रुपमा कमजोर छवि भएका व्यक्ति हुन् । पकिस्तानको राष्ट्रिय टोलीको बलिङ सम्हाल्नेदेखि लिएर रुणजी टिम सम्हाल्दासम्म उनी बेला–बेला विवादमा तानिए । 

प्रशिक्षकको रुपमा उनी सफल हुन् । तर, उनी अन्य विवादका कारण बढी चर्चामा आए । नेपाली राष्ट्रिय टोलीको यो कमजोर अवस्था सम्हाल्न उनलाई सहज हुनेछ । प्रभाकरले नेपाली क्रिकेटप्रति आफ्नो राम्रो चासो भएको क्यानलाई सन्देश पठाएका थिए । उनले नेपाली क्रिकेटलाई नजिकबाट नियालिरहेको पनि बताएका थिए । 

‘नेपालमा क्रिकेटप्रतिको चासो, उनीहरूको प्रतिभा र सीपको स्तरलाई हेरेर म नेपाली क्रिकेट टोलीलाई क्रिकेटको बलियो टिम बनाउनका लागि काम गर्न चाहन्छु,’ उनले प्रशिक्षक नियुक्तिको समयमा क्यानलाई सन्देश पठाएका थिए । 

यसरी हेर्दा नेपालमा उनको बसाइँ नेपाली क्रिकेटको स्तर सुधारसँगै उनको व्यक्तिगत छविलाई सुधार गर्नु हुनेछ । व्यक्तिगत रुपमा उनलाई नेपाली क्रिकेटरले धेरै कुरा लिन सक्नेछन् ।  बलिङ र ब्याटिङ दुबै पक्षमा बलियो देखिएका उनको टप अर्डरमा समेत ब्याटिङ गरेको अनुभव छ । देभ वाट्मोरले सम्हालेको ब्याटिङ सुधारको पक्षलाई उनले सँगै लैजाने मौका छ । 

म्याच फिक्सिङको आरोप
प्रभाकर म्याच फिक्सिङको प्रकरणमा मुछिएका खेलाडी हुन् । प्रभाकरले सन् १९९९ भारतीय टोलीका पूर्वकप्तान कपिलदेवमाथि फिक्सिङको आरोप लगाएका थिए । तर प्रभाकर आफै म्याच फिक्सिङको प्रकरणमा मुछिए । उनी प्रकरणमा मात्र मुछिएनन फिक्सिङको आरोपमा प्रतिबन्धमा परेका थिए । 

प्रभाकर दिल्लीको प्रशिक्षक हुँदा पनि टिमको अफिसियलसँग झगडा गरेको कारण बर्खास्त भएका थिए । पूर्व कप्तान कपिलदेव र अजहरुद्दिनसँग झगडाका कारण पनि उनी विवादमा आए । 
यसरी धेरै पटक विवादमा तानिएका उनलाई नेपाली टोलीमा सुधार ल्याउँदै आफ्नो पुरानो लयमा फर्कने मौका छ । 

चुनौतीको चाङमा प्रभाकर 
प्रभाकर नेपाली क्रिकेटमा सुरुवातदेखि नै काम गर्नु पर्नेछ । क्यान भित्र किचलो छ । क्यानको किचलोले प्रभाकरलाई कुनै असर पार्ने छैन तर, खेलाडी–खेलाडीबीचको विवादले भने निकै प्रभाव पार्नेछ । उनलाई खेलाडीहरुलाई एकतामा ल्याउने पहिलो चुनौती हो । प्रशिक्षक पुबुदुले क्रिकेट टिममा एकता नभएको भन्ने सन्देश दिएर गएका छन् । अहिले टिममा ९५ प्रतिशत एकता भएको बताए । त्यो एकतालाई बलियो बनाउन प्रभाकरलाई पहिलो चुनौती हुनेछ । 

प्रभाकरलाई दोस्रो चुनौतीको रुपमा नेपालको ब्याटिङ सुधार गर्नु हुनेछ । ब्याटिङमा कमजोर भएका कारण नै नेपालले धेरै खेलमा कमजोर प्रदर्शन गरेको छ । त्यसैका कारण नेपाल आईसीसी लिग टू अन्तर्गत कमजोर प्रदर्शन गर्यो । 
त्यस्तै प्रभाकरको हातमा अब नेपालको एकदिवसीय मान्यता जोगाउने चुनौती छ । लिग टूमा नेपालले बाँकी खेलमा जित निकालेमा नेपालको एक दिवसीयमा मान्यता जोगिनेमा कुनै दुई मत छैन । नेपाली टोलीमा ब्याटिङको सुधार र टिममा एकता प्रभाकरको पहिलो प्राथमिकता हुनुपर्छ । 

प्रभाकरको अर्काे चुनौती भनेको क्यान र खेलाडीबीचको आएको फाटोलाई सुधार गर्नु हो । घरेलु क्रिकेटको संरचनाबाट दुई धार भएको नेपाली क्रिकेट टिम पछिल्लो समय लयमा आउन थालेको थियो । 
त्यसै समयमा क्यानले खेलाडीहरुलाई कारवाही गर्यो । आन्तरिक कुरा आफूहरुलाई नभनी मिडियामा बोलेको भन्दै क्यानले तत्कालीन कप्तान ज्ञानेन्द्र मल्लसहितसोमपाल कामी, करण केसी, कमलसिंह ऐरी र दीपेन्द्र सिंह ऐरी गरी पाँचजना खेलाडीलाई कारवाही गरेको थियो । 

६ महिनासम्म अन्तरराष्ट्रिय क्रिकेट खेल्न नमिल्ने भनेर कारवाही गरेको क्यानले विभिन्न दबाबपछि उक्त कारवाही फिर्ता लियो । त्यसपछि क्यानसँग यी पाँच खेलाडीको सम्बन्ध राम्रो देखिँदैन । त्यसको सुुधारको पक्षमा पनि प्रभाकरले महत्वपूर्ण भूमिका खेल्नु पर्नेछ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप