बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रहिमुल्लाह हक्कानी : नक्कली खुट्टामा लुकाइएको बममार्फत् अफगान धर्मगुरुको हत्या

शुक्रबार, २७ साउन २०७९, १३ : ०७
शुक्रबार, २७ साउन २०७९

अफगानिस्तानमा महिला शिक्षाका वकालत गर्ने प्रख्यात धर्मगुरु शेख रहिमुल्लाह हक्कानीको काबुलमा भएको आत्मघाती हमलामा मृत्यु भएको छ ।

तालिवान स्रोतहरूले रोयटर्स समाचार एजेन्सीलाई बताए अनुसार आक्रमण त्यस्ता व्यक्तिले गरेका थिए जसको एउटा खुट्टा थिएन र उनले प्लास्टिकले बनेको आफ्नो कृत्रिम खुट्टामा बिस्फोटक लुकाएका थिए ।

तालिबान सरकारको आन्तरिक मन्त्रालयका एक वरिष्ठ अधिकारीले रोयटर्सलाई भने, ‘शेख रहिमुल्लाह हक्कानीको व्यक्तिगत कार्यालयजस्तो महत्वपूर्ण स्थानमा उनलाई कसले ल्याए, ती व्यक्तिबारे पत्ता लगाउने कोसिस गर्दैछौँ । यो अफगानिस्तानका लागि अपूरणीय क्षती हो ।’

इस्लामिक स्टेटले यस आत्मघाती हमलाको जिम्मेवारी लिएको छ । इस्लामिक स्टेटले रहिमुल्लाहमाथि यसअघि पनि आक्रमण गरिसकेको छ ।

स्थानीय रिपोर्टका अनुसार अफगानिस्तानको राजधानी काबुलमा रहेको एउटा मदरसा भित्र आक्रमण भएको हो ।

शेख हक्कानी अफगानिस्तानमा तालिबान सरकारका समर्थक थिए र उनलाई इस्लामिक स्टेट इन खोरासान -आईएस(के) का कट्टर विरोधी मानिन्थ्यो ।

आईएस–के,  अफगानिस्तानमा सक्रिय इस्लामिक स्टेटको एउटा शाखा हो । यो समूहले तालिबान शासनको विरोध गर्दछ ।

अघिल्लो वर्ष अगस्ट १५ मा तालिबानका लडाकुहरू देशको राजधानी काबुलमा प्रवेश गरेका थिए । त्यसयता यसलाई अफगानिस्तानको सबैभन्दा ठूलो व्यक्तिको हत्या भनिएको छ ।

तालिबानका एक वरिष्ठ अधिकारीले रोयटर्सलाई भने, ‘यो अफगानिस्तानको इस्लामिक इमिरेट्सका लागि ठूलो प्रहार हो । हामी आक्रमणको पछाडि को को व्यक्ति समावेश छन् भनेर अनुसन्धान गरिरहेका छौँ ।’

एउटै जस्तो नाम भए पनि, शेख हक्कानीको अफगान राजनीतिमा महत्वपूर्ण ‘हक्कानी मिलिटेन्ट समूहसँग’ कुनै सम्बन्ध थिएन ।

महिला शिक्षा र तालिबान

शेख हक्कानीले अफगानिस्तानमा महिला शिक्षाको पक्षमा फतवा जारी गरिसकेका छन् ।

यसै वर्ष बीबीसी संवाददाता सिकन्दर किरमानीसँगको कुराकानीमा उनले अफगान महिला र बालिकालाई अध्ययन गर्ने अधिकार रहेको बताए ।

उनले भनेका थिए, ‘शरियतले महिला र केटीहरूलाई पढ्न अनुमति नदिने कुनै कुरा उल्लेख छैन । यो कुनै पनि हालतमा न्यायसंगत छैन । सबै धार्मिक पुस्तकहरूले महिला शिक्षालाई अनुमति दिन र अनिवार्य भनेको छ किनभने अफगानिस्तान र पाकिस्तान जस्ता देशहरूमा महिला बिरामी भएको खण्डमा महिलाले नै उपचार गरेको राम्रो हुन्छ ।’

अफगानिस्तानका केही प्रान्तहरूमा महिलालाई पढ्न अनुमति दिइएको छ । देशका अन्य भागमा अहिले किशोरी तथा बालबालिका पढाउने विद्यालय बन्द छन् ।

अफगानिस्तानमा, तालिबानले महिलाका लागि हाई स्कूल खोल्ने वाचा गरे पनि पछि हटेको छ । तालिबान प्रशासनले महिलाका लागि पोशाक अझै निर्णय नभएको बताएको थियो । यसै कारण पनि विद्यालयहरु खुलेका छैनन् ।

अगस्ट २०२१ मा तालिबानले अफगानिस्तानमा नियन्त्रण लिएपछि देशभरका विद्यालयहरू बन्द गरिएका थिए । यी विद्यालयहरू अब खोल्ने तयारीमा थिए तर अहिलेसम्म कुनै निर्णय भएको छैन ।

शेख हक्कानीमाथि यसअघि पनि दुई पटक हमला भइसकेको छ । पछिल्लो आक्रमण २०२० मा भएको थियो । त्यतिबेला पनि इस्लामिक स्टेटले पाकिस्तानको पेशावर सहरमा भएको आक्रमणको जिम्मेवारी लिएको थियो ।

शेख हक्कानी उक्त हमलामा बाँच्न सफल भएका थिए तर अन्य सात जना मारिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप