शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

युक्रेनको आणविक संयन्त्रमा पुनः बमबारी, संयुक्त राष्ट्रसंघका प्रमुखले दिए गम्भीर चेतावनी

शुक्रबार, २७ साउन २०७९, १६ : ३१
शुक्रबार, २७ साउन २०७९

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले युरोपको सबैभन्दा ठूलो आणविक संयन्त्र वरपर तत्काल सैन्य गतिविधि अन्त्य गर्न आह्वान गरेका छन् ।  दक्षिण–पूर्वी युक्रेनस्थित उक्त आणविक संयन्त्रमा बिहीबार पुनः आक्रमण भएपछि गुटेरसको यस्तो चेतावनी आएको हो ।  

युक्रेनको ईनर्गोयाटोम एजेन्सीका अनुसार जपोरिझ्झिया संयन्त्रमा बिहीबार पाँच पटकसम्म आक्रमण भएको थियो । केही प्रहार रेडियोधर्मी सामाग्री भण्डारण क्षेत्रमा समेत भएको बताइएको छ ।  रुसले नियुक्त गरेका संयन्त्रका अधिकारीले भने युक्रेनले सिफ्ट परिवर्तनको समयमा आक्रमण गरेको बताएका छन् ।

रुसले आह्वान गरेको संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठकअघि महासचिव गुटरेसले रेडियोधर्मी क्षेत्रमा क्षति पुगे त्यसले सो क्षेत्र र त्योभन्दा धेरै परसम्म ठूलो विपत निम्त्याउने चेतावनी दिए ।  ‘आणविक संयन्त्र कुनै पनि सैन्य गतिविधिको हिस्साको रुपमा प्रयोग गरिनु हुँदैन । आणविक दुर्घटना हुन नदिन सो क्षेत्रको निश्चित परिधिलाई सुरक्षित क्षेत्र घोषित गर्नुपर्छ,’ वक्तव्यमा गुटेरसले भनेका छन् । 

जपोरिझ्झिया आणविक संयन्त्र गत मार्चदेखि रुसको नियन्त्रणमा छ । संयन्त्र क्षेत्रमा रुसले सैन्य आधार बनाएको युक्रेनको आरोप लगाएको छ ।  संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत भ्यासिली नेबेन्जियाले कियभले ‘आणविक पूर्वाधारमा बमबारी गरेर विश्वलाई आणविक दुर्घटनाको संघारमा पु¥याएको’ आरोप लगाए । 

संयुक्त राष्ट्रसंघका लागि युक्रेनी राजदूत सर्गेई किस्लीत्स्याले ‘युक्रेनले जवाफी फायर गर्दैन भनेर रुसले आणविक संयन्त्रलाई ढाल बनाएर युक्रेनी सहरमा रकेट प्रहार गरिरहेको’ आरोप लगाए ।  विज्ञहरुले जपोरिझ्झिया आणविक संयन्त्र दुरर्घटना भए त्यो चेर्नोविल दुर्घटनाभन्दा ठूलो हुने चेतावनी दिएका छन् । 

हालसम्मको विश्वको सबैभन्दा गम्भिर आणविक दुर्घटना मानिने चेर्नोविल आणविक दुर्घटना सन् १९८६ मा घटेको थियो । दुर्घटनास्थल तत्कालीन सोभियत संघको एक अंश युक्रेनमै थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप