शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलका ‘दारु क्लव’ले समाज बिगारेको स्थानीयवासीको गुनासो

शुक्रबार, २७ साउन २०७९, १७ : ३४
शुक्रबार, २७ साउन २०७९

-भुवन कार्की

बुटवल उपमहानगरपालिका वडा नं. ९, कालिका पथमा रहेका केही रात्रि क्लब तथा रेष्टुरेण्टहरूमा अवैध गतिविधि हुने गरेको भन्दै स्थानीयले यस्ता गतिविधि रोक्न प्रहरी प्रशासन समक्ष आग्रह गरेका छन् ।

कालिका पथमा खुलेका रेष्टुराँ तथा क्लवहरुमा राति अबेरसम्म मदिरा खाएर सडकमा होहल्ला गर्ने, उमेर नपुगेका (१८ वर्षभन्दा कमका) युवा युवतीले मदिराको तालमा एकआपसमा उच्छृङ्खल व्यवहार गर्ने, आपसमा झगडा गर्ने, गलत पार्किङ गरेर स्थानीयलाई अवरोध गर्नेजस्ता काम गरेर समाजलाई विकृत बनाउन खोजको भन्दै स्थानीय बासिन्दाले यस्तो कार्य रोक्न प्रयास गरेका छन् । उनीहरुले बिहीबार बेलुका कालिका पथको ‘दारु क्लब’ अगाडि उभिएर विरोध गरेका थिए ।

स्थानीयबासी रामराज पोखरेलले भने, ‘यो दारु क्लबले समाजमा विकृति बढायो, उमेर नपुगेका युवायुवतीले धेरै मदिरा पिएर समाजमा नपच्ने क्रियाकलाप गरेको देखिन्छ, यसलाई रोक्न हामीले कोसिस गरेका हौं ।’ पोखरेलका अनुसार मदिरा पिएपछि युवायुवती सडकमा आएर अस्वाभाविक गतिविधि गर्ने गर्दछन् । धेरै पटक सचेत गराउँदा पनि संचालकले बेवास्ता गरेका कारण प्रहरीमा उजुरीसमेत गरिएको पोखरेलले बताए ।

यसअघि स्थानीय टोल विकास समितिले पनि उक्त क्लबलाई ध्यानाकर्षण गराएको थियो । कालिका पथमा रहेका लर्ड बुटवल क्लब, द कन्सेप्ट क्लब एण्ड पब लगायतका क्लबले रातभर होहल्ला र कोलाहल सिर्जना गरेर हैरान पारेको स्थानीयवासीको गुनासो छ । यी क्लबमा टीन एजर युवायुवती र यौन व्यवसायीहरु धेरै आउने गरेको स्थानीयवासी बताउँछन् । यी क्लब राति दुई बजेसम्म चल्ने गरेका छन् ।

‘दारु क्लव’को विवाद बढेपछि प्रहरीले समाजका अगुवा र क्लब सञ्चालकलाई राखेर शनिबार छलफल गराउने तयारी गरेको छ । वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक पुस्कर ऐरीले लिखित रुपमै उजुरी परेकाले शनिबार सञ्चालक र स्थानीयवासीलाई राखेर छलफल गराउने तयारी गरिएको बताए ।

क्लबका सञ्चालक अस्मित श्रेष्ठ भने सम्पर्कमा आएनन् । व्यवस्थापक जनक थापाले स्थानीयवासीको गुनासो आएपछि शनिबार छलफलको तयारी गरिएको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप