अन्तर्राष्ट्रिय युवा दिवसको सान्दर्भिकतामा नेपाली युवाको दायित्व

person explore access_timeसाउन २७, २०७९ chat_bubble_outline0

आज १२ अगस्ट अर्थात् अन्तर्राष्ट्रिय युवा दिवस । अन्र्तपुस्ता ऐक्यवद्धता : सबै उमेर समूहमैत्री विश्व निर्माणमा साझा प्रतिवद्धता भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । सामान्य अर्थमा भन्नु पर्दा व्यक्तिलाई उमेरका आधारमा गरिने पहिचान वा वाल्यावस्था पार गरिसकेका र प्रौढावस्थामा पुगिनसकेका समूहका व्यक्तिलाई युवा भनिन्छ । युवा त्यो उमेर समूह हो,जसमा राष्ट्रको भविष्यवर्तमानका साझेदार तथा समृद्धिको अग्रसंवाहक बन्ने सामथ्र्य लुकेको हुन्छ ।


विश्व समाजको विविधताअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध,संगठन र विश्व भूमण्डलीकरणले गर्दा कतिपय व्यवहार र नियममा युवाबारे एकरूपता छ । विश्व बैंक,संयुक्त राष्ट्र संघलगायतका संस्थाका निर्णय यसका नमुना हुन् । संयुक्त राष्ट्र संघको सन् १९९९ को महासभाको निर्णयले अन्तर्राष्ट्रिय रूपमा युवा दिवस मनाउन थालिएको हो ।



यो निर्णयले युवाको सामाजिक पक्षमा जोड दिए पनि पछिल्लो समय युवा दिवस राजनीतिक पक्षसँग बढी जोड्न थालिएको छ,अझ भन्ने हो भने युवा दिवसको स्थापना युवा आन्दोलनकोे सफलतासँग गाँसिएको छ । यद्यपि युवाका मुद्धालाई स्थापित गर्न,युवाका सवालमा विश्वका सरकार तथा सरोकारवालालाई सचेत तथा जागरूक गराउने अभियानका  हिसावले यो दिवसलाई लिइन्छ ।



नेपालको राष्ट्रिय युवा नीति,राष्ट्रिय युवा परिषद् ऐन २०७२ को परिभाषामा १६ देखि ४० वर्षको वर्ग युवा मानिन्छ ।  ०७८ को जनगणनाअनुसार यो वर्गको संख्या ४०.३५ प्रतिशत (१ करोड सात लाख) रहेकोे छ । शिक्षा मन्त्रालयको खेलकुद तथा युवा शाखामा सीमित रहेको नेपालले भने मुस्किलले सन् २००४ देखि युवा दिवस मनाउन थालेको थियो ।

राष्ट्रिय युवा नीति,कार्यान्वयनका लागि युथ भिजन २०२५ निर्माण हुनु,राष्ट्रिय युवा परिषद गठन हुनु युवाको लागि निश्चय नै सुखद कुरा हो । स्थानीय निर्वाचनको नतिजा हेर्दा स्थानीय तहमा ४१.१४ प्रतिशत युवा निर्वाचित भएका छन् । जसमा १९ प्रतिशत युवा (नगरमा ३७ र गाउँपालिकामा १०६) जनाले नेतृत्व समलिरहेका छन् । 

यसरी युवाको प्रतिनिधित्व हेर्ने हो भने राष्ट्रियसभाबाहेक अन्यमा पनि विगतको निर्वाचनको सहभागिता उत्साहजनक नै छ भने अब आउने प्रतिनिधि सभा निर्वाचनमा युवा थप मजबुत भएर आउने आशा गरिएको छ । तरअझै पनि राज्यको नीति निर्माण र निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता सुनिश्चित हुन सकिरहेको छैन ।

देशले कोभिड १९ लगायत विपत्तिको सामना गरिरहँदा आमयुवा परिचालित हुन पर्नेमा,दुर्भाग्य राजनैतिक लडाईमा उपयोग मात्रै हुने तथा  युवाको समस्या पहिचाहनसंगै परिचालनको लागि गतिलो व्यवस्थापन राज्यले अवलम्वन गर्न सकेन । यसकारण युवा रोजीरोटीको लागि विदेशिनु पर्ने अवस्था छ ।  

पछिल्लो जनगणनाअनुसार देशमा १९.८ प्रतिशत युवा पूर्ण बेरोजगार छन् । ३६ प्रतिशत भन्दा बढी युवा अद्र्धबेरोजगार छन् भने प्रत्येक वर्ष ४ लाख ५० हजार युवा श्रम गर्न सक्षम हुँदै श्रम बजारमा प्रवेश गर्छन् । रोजगारमा संलग्न युवा हुन् या बेरोजगार वा बैदेशिक रोजगारका लागि पलायन भएका युवा नै किन नहुन् । अहिले युवा जम्मा हुने,योजना निर्माण गर्ने,अनुभव साटासाट गर्ने,युवा सूचना प्राप्त गर्ने,समीक्षा तथा मूल्याङ्कन गर्ने स्थान र वातावरणको टड्कारो खाँचो छ ।

वर्तमान नेतृत्व र भविष्य 

भनिन्छ,तन्नेरीहरु चाँडै निन्दा र तिरस्कार गर्छन् र तुरुन्तै भुली पनि हाल्छन् । तर,बुढापाकाहरु ढिलो तिरस्कार गर्छन् र ढिलै बिर्सिन्छन् । समृद्धिको नाममा एउटै विषयलाई लिएर घोत्लिरहने मात्रै पनि हैन,सही समयमा स्वीकार र विकल्प सहितको तिरस्कार गर्न नसक्ने कुनै पनि नेतृत्व आजको सन्दर्भमा युवा मैत्री मान्न सकिन्न ।

कोभिड १९ को कारण आज विश्व आर्थिक,सामाजिक,राजनैतिक रुपमा सोचे अनुसारको गतिमा छैन । यस लेखमा अन्तरराष्ट्रिय युवा दिवसको सन्दर्भमा नेपाली युवा प्रवृत्तिको चर्चा गर्न खोजिएको छ ।

हुन त जुनसुकै पार्टीको,विचारको भए पनि युवा भनेको सबैको साझा नै हो । उसले वोक्ने एजेण्डा सिंगो देशसंग जोडिएको हुनु पर्छ । सीमित स्वार्थ पाल्ने व्यक्तिले युवालाई एजेण्डा बनायो भने त्यसले नाफा र घाटामा हिसाव गर्न थाल्छ,उसले युवा शब्दमा व्यापार सुरु गर्छ ।

एउटा सन्र्दभमा युवा नेता गगन थापाले भनेका थिए,आफ्नो पार्टीको महाधिवेशनबाट नेतृत्व चयन गर्दा युवा नेतृत्व आवश्यक छ भनेपछि सबैले हो,अगाडी बढ्नुस् भने । मैले उम्मेदवारी पनि दिएँ,विडम्वना रत्नपार्कमा मैले एक्लै भोट माग्नु पर्यो,अगाडि बढ्नुस् भन्नेहरु सहयोग त के देखिन पनि चाहेनन् । मतलव युवा सहभागिताको सन्दर्भमा समाज उदार छैन । युवा सोँचको कार्यान्वयन नेतृत्वको प्राथमिकतामा परेको  छैन ।

युवाका एजेण्डा स्थापित गर्ने र बुर्जुवा नेतृत्व विस्थापित गर्न मुल राजनैतिक युवा शक्ति तयार नभएसम्म त्यही नेतृत्वको भक्तिगानमा रमाउने,उसैको आहालमा डुब्ने निश्चितप्रायः छ । जो विगतको भन्दा कुनै नौलो र अन्तरराष्ट्रिय अभ्यास होइन । 

युवा सर्वाधिक सक्रिय,ऊर्जावान र गतिशील समूह हो । तर अहिले ३६ प्रतिशत भन्दा बढी युवा अद्र्धबेरोजगार रहेका छन् । बर्षेनी ५ लाख ३८ हजार युवा रोजगारीका लागि विदेशिने गरेको तथ्याङ्क छ । यो दर प्रतिदिन १५ सयको हाराहारीमा हुन आउँछ । जनसंख्याको ४० प्रतिशतभन्दा बढी संख्यामा रहेका युवा पलायन हुनबाट रोक्नु अहिलेको सबैभन्दा जटिल चुनौती हो । यसमा राज्यको वागडोर सम्हालेको गठबन्धन नराम्रोसंग चुकेको छ ।

युवालाई सिर्जनशील,सीपयुक्त,उद्यमी र जिम्मेवार नागरिकको रुपमा विकसित हुने अवसर राज्यले सिर्जना गर्नुपर्दछ । हरेक देशमा भएका आर्थिक,सामाजिक,राजनीतिक परिवर्तनमा युवा शक्तिको निर्णायक सहभागिताका कारण परिवर्तन संभव भएको हो भन्ने कुरा यो मुल नेतृत्वले भुल्नु भएन ।

अर्कोतिर नेतृत्वको उत्तराधिकारी छनौट,क्षमता,भिजन र योजनाका आधारमा जबसम्म गरिंदैन,तबसम्म युवाले वैधानिक र न्यायपूर्ण संघर्ष जारी राख्नु आवश्यक छ । युवालाई राज्य सञ्चालन प्रक्रियामा समावेश गर्न नसके राष्ट्रले उनीहरुको उर्जा र प्रतिभाबाट लाभ लिनुको सट्टा कुलत,विकृति,द्वन्द्व र अस्थिरताको सामना गर्नुपर्ने अहिले सम्मको तीतो सत्य हो ।

दुई दशकपछि नेपालमा स्थानीय जनप्रतिनिधिहरुले विकासको बागडोर सम्हालेका छन् । जनप्रतिनिधिमा युवा सहभागिता बढेको छ । भौतिक उपस्थितिले मात्र सहभागिताको सिद्धान्त समेट्न सक्दैन । युवा जनप्रतिनिधि भएपश्चात युवामैत्री विकास भयो या भएन ?त्यो बहसको विषय बनाइनुपर्छ अब । 

अहिले सार्वजनिक नीति निर्माणमा युवाको सार्थक सहभागिताको खाँचो छ । आर्थिक,सामाजिक,राजनीतिक र साँस्कृतिक जीवनमा समेत युवाको सहभागिता,युवा समावेशीकरण,रोजगारी क्षमता र उद्यमशीलताको विकासका लागि स्थानीय तहले ध्यान दिन सकेको देखिदैन । सरकारले के दियो भनेर बिलौना गर्नुभन्दा पनि हामीसंग रहेको क्षमताले उपलब्धिको उपयोग गर्न के प्रयत्न गरिए,सबै युवाले सोच्नैपर्ने बेला आएको छ ।   

साथै शैक्षिक तथा स्वास्थ्य स्तरमा सुधार र व्यक्तिगत तथा संस्थागत क्षमता विकास,पिछडिएका क्षेत्र,वर्ग र समुदायका युवालाई विशेष संरक्षण,युवाबीच लैङ्गिक,जातीय,क्षेत्रीय,भाषिक,साँस्कृतिक लगायतका विभेद र वर्गीय असन्तुलनको अन्त्य पनि युवाको सवाल हो,जुन हामीले भुल्नु हुँदैन ।

गैरसरकारीको गैरधन्दा

युवाको नाममा कण्डम बाँड्नेदेखि डलरमा सपना किन्ने सम्मका काम गैरसरकारी संस्थाले गरिराखेका छन् । जसलाई सहायताका नाममा अन्तरराष्ट्रिय गैर सरकारी संस्थाहरुले एक प्रकारको व्यापारिक धन्दामा नै स्थापित गरिदिएका छन् । गैरसरकारी क्षेत्रमा काम गर्नेहरुले बुझ्न पर्ने एउटा  कुरा,संस्था राज्यका सहयोगी हुन्,प्रतिस्पर्धी हैनन् । राज्यको ऐन नियम कानुनमा टेकेर बैध काम गर्न छुट मात्रै दिइएको हो । भोलि राज्यले चाह्यो भने संस्थाको भूमिका नरहन पनि सक्छ । 

सवै संस्थालाई यो घानमा हाल्न त सकिदैन तर अधिकांशको नियति देखियो । यसैले अब गैरसरकारी क्षेत्र पनि अछुतो रहेन । गैरसरकारी क्षेत्रको नियमन गर्ने निकाय समाज कल्याण परिषद् लैनचौरवाट लखेटिएर उपराष्ट्रपतिको निवास बनेको छ । परिषद्का जिम्मेवार पदाधिकारी आईएनजिओसंग खुल्लायाम बार्गेनिङमा छन् । यो नरोकिएमा संयुक्त राष्ट्र संघलाई देखाउँदै युवालगायत विभिन्न दिवस मनाउनु सामाजिक क्षेत्रमा काम गर्नेको वाध्यताजस्तै छ । म आफै पनि यस क्षेत्र त्यसमा पनि युवामा काम गर्दाको तीतो अनुभूतिवाट यो धारणा निर्माण भयो । अब यो क्षेत्र सुधार्ने हो भने यस भित्रका विकृति वाहिर ल्याउनै पर्छ ।

२०६४ साल अगाडि नेपालमा शिक्षा मन्त्रालयमा युवा क्षेत्र शाखामा सीमित थियो । सामाजिक र राजनैतिक दबाववाट युवा तथा खेलकुद मन्त्रालय जन्म्यो । ६० बर्षका मान्छे मन्त्री बनाएर भए पनि एक कदम राज्य युवाका पक्षमा आयो । सामाजिक क्षेत्रवाट युवा आयोग वा युवा परिषद्को माग जोडतोडले उठ्यो,त्यसबेला भलै युवा गैरसरकारी संस्था महासंघ त्यसको अग्रभागमा खट्यो ।

सरकारैपिच्छे नयाँ नयाँ कुरा आउन थाल्यो तर ढिलै भए पनि माधव ढुंगेलको नेतृत्वमा २०७२ सालमा युवा परिषद नै गठन भयो । पहँुचवाल युवाको त्यहाँ पनि समेटिन रमिता नै देखियो । यद्यपि युवा अधिकारको क्षेत्रमा परिषद् ऐतिहासिक कदम थियो भने नेतृत्व पनि पहिलो कार्यकाल सफल नै रह्यो ।

केही गैरसरकारी युवा स्वार्थमा डुब्दा उपलब्धको रक्षा,अधिकारको प्रयोगमा भन्दा पनि नौला नौला संस्था जन्माउने र राज्यसंग प्रतिष्पर्धा गर्न थाले । युवा आन्दोलन कागको फुल चोर्ने हतियार बन्दा अब परियोजनामा जागिर पाउने सम्मको आन्दोलन हुन थाल्यो । जसले गर्दा ब्यक्तिको टाउका गन्ने र ब्यक्तिले लाभ लिने अवस्था बन्यो । समग्र गैर सरकारी क्षेत्रमा युवाको भूमिका खुम्चियो ।

उदाहरणको रुपमा भन्नु पर्दा यस आन्दोलनवाट उदाएका युवा गैरसरकारी संस्था महासंघका पूर्व अध्यक्ष रहिसकेका ब्यक्ति मणि पोखरेल (प्रकाश विकल्प) जनयुद्धवाट आएको पार्टीको केन्द्रमा पुग्नु भएको छ भने अन्य पनि थुप्रै ठाउँमा विभिन्न युवाले उचाई प्राप्त नगरेका हैनन् । यद्यपि युवा अभियान पुन संघर्षमा,फोहर बढार्दै अगाडि बढ्नुपर्ने अवस्था आइपुगेको छ । 

एक पटक युवा शब्द खुब विकाउ हुन्थ्यो,साथीहरु घरघरै संस्था खडा गरेर युवाको हरिविजोग छ भन्दै,रेडक्रस स्टायलमा कमाउधन्दामा लाग्ने र  वेठेगानका महासंघ नै दर्जनौ पुर्याएपछि ठुलो मान्छे भइन्छ भन्ने भ्रम थियो । राष्ट्रिय निर्देशन ऐनअन्तर्गत दर्ता एउटा युवा महासंघ बाहेक अहिले कसैको अत्तोपत्तो छैन । 

बर्ष दिनमा एक चोटी युवा दिवसमा युवा परिषद्मा भेट हुनेहरु पनि गायब अवस्थामा छन् । सायद अब उहाँहरुको परियोजनामुखी आन्दोलनको दिन समाप्त भए भन्नेमा दुइमत रहेन । अब अस्तित्वमा रहेका नेतृत्वले थप अधिकार प्राप्ती र उपलब्धिको रक्षा गर्दै समग्र युवा अभियान नयाँ उचाईमा पुर्याउन आवश्यक छ । राज्यको सन्यन्त्रमार्फत युवाको पहुँच निर्माण गर्न प्रदेश युवा परिषद गठन समेत गरी सही ढंगले समाज रुपान्तरण गर्न अब ढिला भइसक्यो ।

जुनसुकै देशमा हुने हरेक प्रकारका परिवर्तनमा युवाको प्रमुख भूमिका रहन्छ । युवाशक्ति देशको राजनीतिक,आर्थिक,सामाजिक,साँस्कृतिक रुपान्तरणका संवाहक भएकोले सार्वजनिक नीति चक्रका सबै तहमा युवाको सार्थक सहभागिता सुनिश्चित गर्नु आवश्यक छ । युवालाई सिर्जनशील,सीपयुक्त,उद्यमी र जिम्मेवार नागरिकका रुपमा विकसित हुने अवसर राज्यले प्रदान गर्नका लागि अब लागि परौ,विगतका अनुभव र अनुभूतिले त्यही भन्छ ।

निष्कर्ष

आजको विश्व व्यवस्थामा युवाको सवाल,अवस्था र आवश्यकताको विषयमा पनि प्रमुख प्राथमिकतासाथ नसोच्ने तर तारे होटलका बन्द कोठामा हुने बौद्धिक विलासिताले ठोस नतिजा निकाल्न सक्दैन । त्यसका लागि सोहीअनुसारको व्यावहारिक कार्यक्रमको निर्माण र सञ्चालन गर्न जरुरी हुन्छ । दिगो विकासको लक्ष्य निर्धारणसहित विश्व समाज अगाडि बढिरहेको छ । हामीले अन्तर्राष्ट्रिय युवा दिवस मनाइरहँदा दिगो विकास लक्ष्यसम्बन्धि पनि व्यापक बहस,छलफल र कार्यक्रम जरुरी छ ।

दिगो विकासको लक्ष्यका १७ वटा क्षेत्रमध्ये धैरै सवाल युवासँग प्रत्यक्ष जोडिएका छन् । जसमा युवाको विकास र युवा समस्याको सम्बोधन बिना तिनको अपेक्षित परिणाम आउन नसक्ने कुरा निश्चित छ । युवाको सहभागिता र सक्रियताबिना विकास कोरा कल्पना मात्रै हुन्छ ।

वल्र्ड इकोनोमिक फोरमले गरेको अध्ययनअनुसार विश्वमा २ सय मिलियन युवा बेरोजगार छन् । प्रतिवेदनको थप अंशअनुसार २०२० मा ५ सय मिलियन नयाँ रोजगारीको सिर्जना गर्नुपर्ने प्रक्षेपण पनि छ । तर कोरोना महामारीले यो संख्या अझै बढ्दो छ । युवा शक्ति श्रम शक्तिका रूपमा तयार छ र कामको तीव्र खोजीमा छ । यसमा चाखलाग्दो विषय त के छ भने रोजगारदाताले आफूलाई चाहिने योग्य वा दक्ष श्रमिक पाइरहेका छैनन् । श्रमिकले दक्षताअनुसारको श्रमको अवसर पाइरहेका छैनन् ।

नेपालको सन्दर्भमा राजनीतिक परिवर्तनका ऐतिहासिक घटना र व्यवहारिक दस्तावेजले पनि परिवर्तन युवाबाटै सम्भव हुने सिद्ध भइसकेको छ । ख्याल राख्न जरुरी छ– युवावस्था आउँछ तर जीवनमा एक पटक मात्रै । एकपटक मात्रै आउने समयलाई हाम्रो समाजले ठीक मार्गमा लाग्ने उपयुक्त वातावरण दिएको छ कि छैन,सबैले सोच्नैपर्ने बेला आएको छ ।

लेखक युवा गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय अध्यक्ष हुन् 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।