बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

धान र गहुँको बीउ उत्पादनमा कैलाली आत्मनिर्भर

शुक्रबार, २७ साउन २०७९, २० : ०६
शुक्रबार, २७ साउन २०७९

धान र गहुँको उन्नत बीउबिजन उत्पादनमा कैलाली जिल्ला आत्मनिर्भर भई उत्पादित बीउ जिल्ला बाहिरसमेत निर्यात हुन थालेको छ । जिल्लामा वर्षभरिमा झण्डै ३६ हजार क्विन्टल धान र ४५ हजार क्विन्टल गहुँको उन्नत बीउ आवश्यकता रहेकामा उक्त परिमाणभन्दा बढी बीउ उत्पादन भइरहेको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ ।  

 “बर्खे धानखेती गरिने क्षेत्रफल र गहुँको उन्नत बीउ उत्पादनको हकमा कैलाली जिल्ला देशमै पहिलो स्थानमा छ”, ज्ञान केन्द्रका प्रमुख खगेन्द्रप्रसाद शर्माले भने, “पछिल्ला वर्षमा धान र गहुँको बीउ उत्पादनमा आत्मनिर्भर भई अन्य जिल्लामा निर्यात हुन थालेको छ ।”

 जिल्लाको झण्डै एक हजार हेक्टरमा चैते धानखेती र झण्डै ७१ हजार सात सय हेक्टर जग्गामा वर्षे धानखेती गरेर वर्षको दुई पटक धानखेती हुने गरेको छ । यस्तै झण्डै ३५ हजार हेक्टरमा गहुँ खेती हुने गरेको छ । प्रतिहेक्टरमा धान खेती गर्न ५० किलो र गहुँ खेती गर्न १२० किलो बीउ आवश्यक पर्ने गर्दछ । सरकारी स्वामित्वको बीउबिजन कम्पनीले उन्नत बीउको उत्पादन र बिक्री गर्दै आएकामा पछिल्ला वर्षमा निजी क्षेत्रका एक दर्जनभन्दा बढी बीउबिजन कम्पनी, सहकारी संस्था र कृषक समूहले समेत उन्नत बीउ उत्पादन गर्दै आएका छन् ।

कतिपय बीउ कम्पनीले सरकारबाट अनुमति लिएर धान र मकैमा हाइब्रिड उत्पादनसमेत शुरु गरेका छन् । यी दुई मुख्य खाद्यान्न बालीको उत्पादन र उत्पादकत्व बढाउन नयाँ जातको बीउकोे विकास भएको मात्र नभई खेती गर्न नयाँ–नयाँ प्रविधिसमेत भित्रिन थालेको छ । कृषि क्षेत्रको विकासका लागि छुट्टाछुट्टै रूपमा कार्यान्वयनमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र मुख्यमन्त्री एकीकृत कृषि विकास कार्यक्रमअन्तर्गत कृषकहरुलाई प्राविधिकलगायतमा विभिन्न सहयोग उपलब्ध भइरहेको छ । यी दुवै कार्यक्रममार्फत उन्नत बीउ उत्पादन तथा बजारीकरण, सिँचाई तथा कृषि यान्त्रिकीकरणलाई प्राथमिकता दिइएको कृषि ज्ञानकेन्द्रका प्रमुख शर्माले बताए ।

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको पहलमा कञ्चनपुरको पुनरवास क्षेत्रमा वर्षौंदेखि बाँझो अवस्थामा रहेको राष्ट्रिय आवास कम्पनीको ७४ बिघा जग्गा भाडामा लिई धान र गहुँको उन्नत बीउ उत्पादन कार्यक्रम भइरहेको छ । धनगढी उपमहानगरपालिकाका किसान ललित रानाले घरमै राखिएको स्थानीय जातको बीउको प्रयोग गर्दाको तुलनामा उन्नत बीउको प्रयोगले धान र गहुँबालीको उत्पादन सोचेअनुसारको भइरहेको अनुभव सुनाए । उन्नत बीउको प्रयोगले उत्पादन बढेको भए पनि भरपर्दो सिँचाइको सुविधाको अभाव र रासायनिक मल समयमै उपलब्ध नहुने समस्याले हैरानी खेप्नुपरेको उनको भनाइ छ ।

बीउ उत्पादक कम्पनी सिड कम्पनी धनगढीका अध्यक्ष लक्ष्मीकान्त ढकालले बीउको गुणस्तरका दृष्टिमा कैलालीमा उत्पादन हुने गहुँको बीउ देशैभरि उत्कृष्ट रहेको बताए । “यहाँ उत्पादन हुने गहुँको बीउ पूर्वी तराईका जिल्ला हुँदै भारतको बिहारसम्म जाने गरेको छ”, उनले भने, “बीउमा आत्मनिर्भर भए पनि कृषिको उत्पादन र बजारीकरणको सवालमा सरकारी नीतिको प्रभावकारी कार्यान्वयनमा समस्या देखिँदा खाद्यान्न आपूर्तिको पर्याप्ततामा पनि समस्या देखिन थालेको छ ।”
   
उन्नत बीउको प्रयोग बढेसँगै रैथाने जातका बालीको खेती भने विस्तारै हराउन थालेको छ । कैलाली, कञ्चनपुरलगायतका जिल्लाको ठूलो क्षेत्रफलको जग्गामा विगतमा गरिने स्थानीय जातको कालो धान, आइरेट, गुर्रा, राईमनुवा, सौँटेरी जस्ता धानको बीउ हराइसकेको किसानको भनाइ छ । स्थानीय जातको बीउ प्रयोग गर्दा हुने उत्पादकत्वको तुलनामा उन्नत जातको बीउ प्रयोगले २० देखि २५ प्रतिशतले उत्पादकत्व वृद्धि हुने गरेको कृषि प्राविधकको भनाइ छ । नेपालमा उन्नत बीउको प्रतिस्थापन दर बढेर झण्डै १८ देखि २० प्रतिशत पुगेको जनाइएको छ । ‘सिड भिजन २०२५’ सम्म उन्नत बीउको प्रतिस्थापन दर तरकारीको शतप्रतिशत, मकैको ३३ र अन्य बालीको २५ प्रतिशत पुर्याउने लक्ष्य लिइएको बताइएको छ । बालीहरुको उत्पादकत्व वृद्धि भइरहेको भए पनि नेपालमा बर्सेनि ठूलो परिमाणमा खाद्यान्न विदेशबाट आयात भइरहेको तथ्याङ्क छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप