बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गठबन्धन भए झलनाथलाई सहज, सुवासलाई सकस !

शनिबार, २८ साउन २०७९, १० : ४७
शनिबार, २८ साउन २०७९

आगामी मंसिर ४ गतेका लागि निर्वाचन घोषणा भएसँगै अन्य जिल्लामा जस्तै इलाममा पनि चुनावी चर्चा सुरु भएको छ । इलामबाट पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल र संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले प्रतिनिधित्व गर्दै आएका छन् ।

२०४८ सालको आम निर्वाचनदेखि लगातार ६ वटा निर्वाचनमा इलामको क्षेत्र नम्बर १ बाटै लड्दै आएका खनाल २०५६ सालमा भने पराजित भएका थिए । विगतका सबै निर्वाचन नेकपा एमालेबाट लडेका उनी यस पटक नयाँ दल नेकपा एकीकृत समाजवादीबाट लड्नेछन् ।

खनालले चुनाव लड्ने मनसाय राखेको उनी निकट स्रोतले बताएको छ । ‘मैले बुझेसम्म इलामको क्षेत्र नम्बर १ बाट झलनाथ खनाल नै उठ्नुहुन्छ भन्ने छ,’ नेकपा एकीकृत समाजवादीका जिल्लास्तरीय एक नेताले भने, ‘यसअघि भएको छलफलमा पनि उहाँले त्यही मनसाय व्यक्त गर्नुभएको छ ।’

यद्यपि खनालले पार्टीको निर्णयपछि मात्रै आफूले खुलेर कुरा गर्ने बताउने गरेका छन् ।

०७४ सालको निर्वाचन इलाम निर्वाचन क्षेत्र नम्बर १ मा एमाले र माओवादीको संयुक्त गठबन्धनबाट खनाल ३६ हजार ८०५ मत ल्याएर विजयी बनेका थिए । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भुपेन्द्र कट्टेलले १९ हजार ६३८ मत ल्याएका थिए । अहिले खनाल काँग्रेससहितको सत्ता गठबन्धनबाट उम्मेदवार बन्ने कसरतमा छन् ।

भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा खनालको निर्वाचन क्षेत्रमा नेकपा एकीकृत समाजवादीले ९ हजार ४७८ मत ल्याएको थियो । सो निर्वाचन क्षेत्रमा नेकपा एकीकृत समाजवादीले ६ वटा वडा र सूर्योदय नगरपालिकामा विजय प्राप्त गरेको छ ।

खनाललाई सो क्षेत्रमा एमालेका ‘हेभी वेट’ नेता प्रतिस्पर्धी नभएको र गठबन्धनको साथ समेत भएका कारण जित निकाल्न सहज देखिन्छ । एमालेले हालसम्म सो क्षेत्रमा कसलाई उठाउने भन्ने निर्णय गरिसकेको छैन ।

एमालेबाट इलाम नगरपालिकाका पूर्व प्रमुख महेश बस्नेतलाई सो क्षेत्रबाट उम्मेदवार बनाउने सम्भावना रहेको स्रोतले बताएको छ । यसअघि प्रदेशसभामा निर्वाचित काजीमान कागतेले पनि संघमा उठ्ने इच्छा राखेका छन् । तर उनी प्रदेशसभाबाट राजीनामा दिएर स्थानीय निर्वाचनमा सूर्योदय नगरपालिकामा प्रतिस्पर्धामा उत्रिएका थिए । उनी नेकपा एकीकृत समाजवादीका रणबहादुर राईसँग पराजित भएका थिए ।

सो क्षेत्रमा नेपाली काँग्रेसबाट उम्मेदवार दिन कुनै नेता खुलेका छैनन् । काँग्रेस निकट स्रोतका अनुसार ०५६ सालमा खनाललाई पराजित गरेका बेनुपराज प्रसाईको चर्चा भने चलिरहेको छ ।

गठबन्धन भए खनाललाई सहज

स्थानीय निर्वाचन २०७९ को मत परिणाम अनुसार इलामको क्षेत्र नम्बर १ मा गठबन्धन भए झलनाथ खनाललाई जित निकाल्न सहज हुने देखिएको छ ।

वडा तहको मत परिणाम अनुसार सो क्षेत्रमा एमालेको मत जम्मा २४ हजार ८२१ छ । यता गठबन्धन दलमध्ये नेपाली काँग्रेसकै मत २४ हजार ८४६ छ भने गठबन्धनकै अर्को घटक माओवादीको १ हजार २३५, नेकपा एकीकृत समाजवादीको ९ हजार ४७८ र जनता समाजवादी पार्टीको १ हजार ८२९ मत गरी जम्मा ३७ हजार ३८८ मत छ ।

हेर्नुहोस् तथ्याङ्क

सुवासलाई गठबन्धनले सकस

यता इलाम क्षेत्र नम्बर २ मा ०५६ सालदेखि अपराजित रहेका सुवासचन्द्र नेम्वाङलाई भने गठबन्धनले अप्ठ्यारो पार्ने देखिएको छ ।

उनी एमालेका प्रभावशाली नेता हुन् । उनी दुई पटक संविधानसभा अध्यक्ष भइसकेका छन् । ०६४ सालको संविधानसभा निर्वाचन, ०६९ को दोस्रो संविधानसभाको निर्वाचनमा पनि सोही निर्वाचन क्षेत्रबाट विजयी बनेका उनी ०७४ सालको संसदीय निर्वाचनमा भने माओवादी र एमालेबीचको गठबन्धनबाट विजयी बनेका थिए । उनले त्यसबेला ३६ हजार ५१७ मत ल्याएका थिए । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका केशव थापाले २६ हजार ८६५ मत ल्याएका थिए ।

यस पटक पनि सो क्षेत्रमा काँग्रेसबाट केशव थापा र भेषराज आचार्य उम्मेदवार बन्न सक्ने चर्चा छ । यस्तै काँग्रेसका इलाम जिल्ला सभापति डम्बर खड्काको पनि चर्चा छ ।

लिम्बू आदिवासी जनजातिको बाहुल्य क्षेत्र रहनु र प्रतिस्पर्धी उम्मेदवार बलियो नहुँदाको फाइदा उठाउँदै आएका नेम्वाङले यस पटक भने सत्तारुढ ४ पार्टीका विरुद्ध एक्लै उभिनुपर्ने भएको छ ।  चुनावी अ‌ंकगणित यसपटक सुवासको विपक्षमा देखिन्छ ।

स्थानीय तह २०७९ को मत परिणाम अनुसार नेम्वाङको क्षेत्रमा वडाध्यक्षहरुको मत जोड्दा एमालेको ३२ हजार ५२७ मत छ । यता गठबन्धन दलहरु काँग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जसपाको मत जोड्दा ३६ हजार ५६२ मत हुन आउँछ ।

हेर्नुहोस् तथ्याङ्क

प्रदेशसभामा २०७४ को परिणाम

इलामको निर्वाचन क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभामा एमाले र माओवादीको गठबन्धनबाट उम्मेदवार बनेकी खिनु लङ्वा लिम्बू विजयी बनेकी थिइन् । उनले १८ हजार ६८६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका देवेन्द्रकुमार राईले ९ हजार ३२७ मत ल्याएका थिए । लिम्बू एमालेबाट विभाजित बनेको पार्टी नेकपा एकीकृत समाजवादीमा गएकी छन् । उनी सोही निर्वाचन क्षेत्रबाट पुनः उम्मेदवार बन्ने चर्चा छ ।  

यस्तै क्षेत्र नम्बर १ (ख) बाट पनि एमाले र माओवादीको गठबन्धनबाट उम्मेदवार बनेका एमालेका काजीमान कागतेले १७ हजार ९८६ मत पाएर बिनयी बने । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका दुर्गाकुमार बरालले १० हजार २१ मत ल्याएका थिए । कागते यसअघि २०७९ को स्थानीय तह निर्वाचनमा सूर्योदय नगरपालिका प्रमुखमा उम्मेदवार बन्न प्रदेशसभाबाट राजीनामा दिएर प्रतिस्पर्धामा उत्रिएका थिए । यद्यपि उनलाई नेकपा एकीकृत समाजवादीका रणबहादुर राईले पराजित गरे ।

यस्तै इलामको निर्वाचन क्षेत्र नम्बर २ (क) बाट एमाले र माओवादीको गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एमालेका रामबहादुर मगर १९ हजार ८३८ मत ल्याएर विजयी हुँदा काँग्रेसका डम्बरबहादुर खड्काले १६ हजार २८६ मत ल्याएका थिए । आसन्न निर्वाचनमा सो क्षेत्रमा एमालेबाट मगर र काँग्रेसबाट खड्का नै उम्मेदवार बन्ने चर्चा छ ।

यस्तै निर्वाचन क्षेत्र २ (ख) मा भने एमाले र माओवादीको गठबन्धनकै उम्मेदवार माओवादी केन्द्रका घिरेन्द्र शर्मा (रमण)ले १४ हजार ७१६ मत ल्याउँदा काँग्रेसका खगेन्द्र देवानले ११ हजार ६५ मत पाएका थिए । गठबन्धनबाट माओवादी केन्द्रले दाबी गर्ने सोही क्षेत्र हो भने उम्मेदवार पनि शर्मा नै बन्ने बताइएको छ ।

नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा इलामका ८१ वडामध्ये ३२ वडा जितेको छ । यस्तै नेपाली काँग्रेसले ३८, नेकपा एकीकृत समाजवादीले ६, नेकपा माओवादी केन्द्रले १, जनता समाजवादी पार्टीले १, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १, राष्ट्रिय जनमुक्ति पार्टीले १ र स्वतन्त्रले १ सिटमा विजय प्राप्त गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप