बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रश्न, उत्तर फेरि प्रश्न ? (कविता)

शनिबार, २८ साउन २०७९, १० : ५३
शनिबार, २८ साउन २०७९

दुर्गमता, अविकास र पछाडि परेको भूगोल सँधै म किन ?
अन्धविश्वास, कुरीति, रोग, भोक भनेर बुझ्ने मलाई किन ?
भोकमरी र अशिक्षाको अन्धकारले भरिएको मलाई बुझ्छौँ किन ?
काठमाडौंका अग्ला महलका झ्यालबाट हेर्दा मेरो आकृति सधै सानो र दूर किन देखिन्छ ?
महोदय मलाई हेर्ने दृष्टिलाई परिवर्तन कहिले गर्नुहुन्छ ?
म जवाफ मागिरहेकी छु
जवाफ दिनुको सट्टा उल्टो प्रश्न पो गर्नुभयो तपाईले
कि आखिर को हौ तिमी ?
म चिच्याउँदै भनिरहेकी छु
म कर्णाली हुँ
जो प्राकृतिक मनोरमले सजिएको 
भगवानको बासस्थल हो, स्वर्ग हो 
धर्ती मुनीको अभिलेख हो
समृद्धि प्राप्तिको सम्भावना हो
सयौं थुङ्गाको फुलवारी हो
नेपाल आमाकी सर्वगुण सम्पन्न सन्तान हो,
म झन् झन् जोडले चिच्याइरहेकी छु
मेरो नाममा लुट्छन् कहिलेसम्म ?
मेरो नाममा भ्रष्टाचार गर्छन् कहिलेसम्म ?
राजनीति कहिलेसम्म ?
चोरी अनि डकैती कहिलेसम्म ?
कठै ! कर्णाली भन्ने अभिव्यक्तिको अन्त्य कसले गर्ने ?
मेरो मुहार कसले फेर्ने ?
विकास गरि कर्णालीको परिभाषा बदल्ने जिम्मा कसको हो ?
अहो : व्यथा कर्णालीका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सावित्रा भट्टराई
सावित्रा भट्टराई
लेखकबाट थप