शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फोहरका कारण तरकारी बजारको मुख्य प्रवेशद्वार नै बन्द

शनिबार, २८ साउन २०७९, १७ : ०४
शनिबार, २८ साउन २०७९

नियमितरुपमा फोहर व्यवस्थापन हुन नसक्दा कालीमाटी तरकारी बजार प्रवेश गर्ने मुख्य प्रवेशद्वार नै बन्द भएको छ ।  कालीमाटीबाट तरकारी बजार प्रवेश गर्नका लागि तीन प्रवेशद्वार रहेकामा  दुई स्थानबाट सवारीसाधन आवतजावत गर्ने  एक मानिसका लागि बनाइएको हो । दुई महिनादेखि कालीमाटी क्षेत्रको फोहर व्यवस्थापन हुन नसक्दा तरकारी बजारबाट निस्केको फोहर र घरबाट निस्केको फोहरसमेत मानिस आवतजावत गर्ने प्रवेशद्वारमा फल्ने गरिएकाले अहिले उक्त स्थानबाट आवतजावत गर्न सकिने अवस्था छैन । 

 फोहरकै कारण मानिसले यो प्रवेशद्वार प्रयोग गर्न नपाएको कालीमाटीमा केरा बेच्दै आउनुभएकी रमिता लामाको भनाइ छ । उहाँका अनुसार दुई महिनादेखि यस क्षेत्रमा फोहरको गाडी आएका छैनन् ।    

कालीमाटीमा गाडी रोकेर यात्रु ओराल्ने र चढाउने स्थानमा पनि फोहरको डङ्गुर थुपारिएकाले यात्रुलाई समस्या पर्नाका साथै फुटपाथमा आवतजावत गर्नसमेत कठिन छ ।  

कालीमाटीमा मात्रै होइन उपत्यकाको अन्य स्थानमा पनि फोहर थुप्रिएकाले  दैनिक जनजीवनमा असर परेको छ  । कलङ्की, कालीमाटी, बल्खु, अनामनगर, थापागाउँ, बानेश्वर, कोटेश्वरलगायत स्थानमा लामो समयदेखिको फोहर सडक किनारामा हुँदा थुप्रिदा समस्या भएको हो  । 

आजदेखि फोहर व्यवस्थापन 

यही साउन २२ गते काठमाडौँ उपत्यकाबाट फोहर बोकेर अन्तिम व्यवस्थापन स्थल जाने क्रममा सिसडोलवासीले  गाडी तोडफोड गरेपछि व्यवस्थापन हुन नसकेको फोहर आजदेखि पुनः सुरु भएको छ । 

काठमाडौँ महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राई कहिले स्थानीयवासीको अवरोध, कहिले बाटोका कारण त कहिले गाडी तोडफोड हुँदा फोहर व्यवस्थापनमा समस्या आएको र आगामी दिनमा अन्य अवरोध सिर्जना नभए नियमितरुपमा फोहर व्यवस्थापन हुने बताउँछिन् ।   

 पछिल्लो समय जटिल बनिरहेको उपत्यकाबाट उत्पादित  कुहिने फोहर व्यवस्थापनका लागि स्थान पहिचानको काम भइरहेको पनि कामपाले जनाएको छ ।  कामपाले अन्य स्थानीय तहसँगको सहकार्यमा कुहिने फोहरलाई उपत्यकामा नै व्यवस्थापन गर्न पहिलो चरणमा कीर्तिपुरमा करिब ५० रोपनी जग्गा प्राप्त भएको र सोही स्थानबाट नै काम सुरु गर्ने जनाएको छ । 

उक्त स्थानमा अहिले दैनिक ४० हजार किलो त्यस्ता फोहर व्यवस्थापन गरी मल उत्पादन गर्ने सकिने बताइएको छ । उक्त स्थानमा हाल आठ वडाबाट उत्पादन हुने कुहिने फोहर व्यवस्थापन गर्न सकिनेछ । उत्पादित मल सहुलियत दरमा बिक्री गर्ने तयारी पनि कामपाको छ । 

योसँगै उपत्यकाको अन्य स्थानमा पनि थप जग्गा रोज्ने काम भइरहेको छ । सबै किसिमका फोहर बञ्चरेडाँडा पुर्‍याउँदा पटकपटक समस्या आएकाले प्रभावकारीरूपमा फोहरको दीर्घ समाधानका लागि स्थान पहिचानमा समय लागेको हो । बञ्चरेडाँडामा हानिकारक फोहर व्यवस्थापन नगर्ने योजनाअनुरुप कामपाले यस किसिमको अभ्यास सुरु गरेको छ । 

कामपाका प्रवक्ता नवीन मानन्धरका अनुसार हाल अन्य सम्भावित स्थान पहिचान गर्ने काम पनि जारी छ । यसअन्तर्गत चन्द्रागिरि, दक्षिणकाली, नागार्जुन, तारकेश्वर र उपत्यका बाहिर बनेपाका साथै  अन्य स्थानमा पनि महानगरप्रमुख बालेन्द्र शाहको नेतृत्वमा जग्गा खोज्ने काम भइरहेको छ । हालसम्म उपलब्ध भएका जग्गामा ५० रोपनीदेखि एक सय ५० रोपनीसम्मको छ । अझै बढी उपयुक्त र कम खर्चिलो जग्गाको खोजीमा लागिरहेको उहाँले बताउनुभयो । 

फोहर स्रोतमै वर्गीकरण प्रभावकारी भएन

फोहर व्यवस्थापनलाई थप प्रभावकारी बनाउनका लागि कामपाले यही साउन एक गतेदेखि स्रोतमा नै फोहर वर्गीकरण गरी कुहिने र नकुहिने फोहर फरकफरक तरिकाबाट व्यवस्थापनको काम सुरु गरेको थियो ।

सुरुका केही दिनमा वर्गीकरण गरिएको फोहर व्यवस्थापन गरिए पनि अहिले सबै किसिमका फोहर एकै भाँडोमा राखेर आउने गरेको कामपाकै भनाइ छ । यसलाई आगामी दिनमा प्रभावकारी बनाउनका लागि नियमित अनुगमन गरी फोहरमैला व्यवस्थापन ऐन २०६८ अनुसार दण्ड जरिवाना गर्ने तयारी गरिएकोे छ ।

कामपाको कूल ३२ वडामध्ये मुख्य नौ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहर व्यवस्थापन हुँदै आएको छ । फोहर वर्गीकरण योजना भने ३२सै वडामा लागू गरिएको छ । कामपाले मात्रै फोहर व्यवस्थापन गर्दै आएको नौ वडामा सबै दिन नियमितरुपमा फोहर व्यवस्थापन भइरहेको छ । निजी संस्थाले फोहर व्यवस्थापन गर्दै आएको स्थानमा भने विगत दुई महिनादेखि फोहर व्यवस्थापन हुन नसकेको स्थानीयवासीले गुनासो गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप