शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चुनावमा उठ्छ ‘टुरिस्ट नेता’ को मुद्दा

यी हुन् आफ्नो क्षेत्र छाडेर अन्यत्रबाट चुनाव लड्ने नेता
शनिबार, २८ साउन २०७९, १७ : १८
शनिबार, २८ साउन २०७९

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति घोषणा भएसँगै चुनावसँग सम्बन्धित गतिविधि बढ्न थालेको छ । विभिन्न राजनीतिक दल र तिनका नेताहरु चुनाव तयारीमा जुटेका छन् ।

उम्मेदवार बन्न आकांक्षी देखिएका नेताहरु आफ्नो निर्वाचन क्षेत्र केन्द्रित गतिविधिमा सक्रिय हुन थालेका छन् । मतदाताले पनि आफ्नो क्षेत्रमा को–को उम्मेदवार बन्छन् भन्नेबारे चासो राख्न थालिसकेका छन् ।

चुनावकै समयमा चर्चामा आउने एउटा विषय हो ‘टुरिस्ट नेता’ । आफ्नो निर्वाचन क्षेत्र छाडेर अन्यत्रबाट उम्मेदवार दिने नेतालाई यो उपमा दिने गरिन्छ । नेपालको राजनीतिक इतिहासमा वर्षौंदेखि विभिन्न नेताले आफ्नो निर्वाचन क्षेत्र वा आफू बसोबास गर्दै आएको क्षेत्र छाडेर अन्यत्र उम्मेदवार बनेको कयौं उदाहरण पाइन्छ ।

आफ्नो गृह जिल्ला छाडेर अन्य जिल्लामा चुनाव लड्न जाँदा मतदाताले त्यस्ता उम्मेदवारमाथि लगाउने पहिलो आरोप नै ‘टुरिस्ट उम्मेदवार’ हो । यद्यपि कयौं त्यस्ता नेताले चुनाव जित्ने गरेको पनि पाइन्छ ।

नेपालको राजनीतिक इतिहास हेर्ने हो भने बीपी कोइराला, सूर्यबहादुर थापा, कृष्णप्रसाद भट्टराई, गिरिजा प्रसाद कोइराला, सुशील कोइराला, मदन भण्डारी, विष्णुबहादुर मानन्धर, तुलसीलाल अमात्य, गजेन्द्रनारायण सिंह, पुष्पकमल दाहाल, ‘प्रचण्ड’, उपेन्द्र यादव, राजेन्द्र महतो, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गिरिराजमणी पोखरेल, झलनाथ खनाल, वर्षमान पुन, पम्फा भुसाल, माधवकुमार नेपाल, अशोक राई, राम कार्की, अमृता अग्रहरी, सरिता गिरीलगायत थुप्रै नेताले आफ्नो जिल्लाको क्षेत्र परिवर्तनमात्र होइन, जिल्ला नै परिवर्तन गरेर चुनाव लडेका छन् । त्यसमा कोही जितेका छन् भने कोही पराजित पनि भएका छन्् ।

सिरहा क्याम्पसका प्राध्यापक चन्देश्वर यादवका अनुसार आफ्नो जिल्लाबाहेक अन्यत्र जिल्लाबाट चुनाव जित्नका लागि मुख्य दुई वटा कुराले काम गर्छ । ‘एउटा ती नेता राष्ट्रिय छविको हुनुपर्छ र सबैले चिनेको हुनुपर्छ । अर्को, आन्दोलन वा कुनै क्षेत्रको आधार इलाका भएको हुनुपर्छ,’ उनले रातोपाटीसँग भने, ‘यी दुई कारणले मात्र कोही आफ्नो गृह जिल्ला छाडेर अन्य जिल्लाबाट चुनाव जित्न सक्छ ।’

आन्दोलनको कारण कुनै न कुनै रुपमा त्यहाँ कार्य क्षेत्र बनाएको, आधार इलाका बनाएको कारणले पनि कतिपय नेताहरु अन्य जिल्लाबाट चुनाव जितेको उनी बताउँछन् । त्यसको उदाहरणका रुपमा महोत्तरीबाट चुनाव जितेका गिरिराज मणी पोखरेललाई लिन सकिने उनको भनाइ छ ।

पोखरेल खोटाङका हुन् तर महोत्तरीमा राजनीति सेल्टर बनाएको, कम्युन चलाएको कारण उनी त्यहीँबाट चुनाव जित्ने गरेका छन् । यादवका अनुसार गिरिजाप्रसाद कोइराला सुनसरीबाट र कृष्णप्रसाद भट्टराई पर्साबाट, सुशील कोइराला बाँकेबाट चुनाव जित्नुको कारण उनीहरुको आन्दोलनको आधार इलाका नै हो ।

आफ्नो गृहजिल्लाबाहेक अन्य जिल्लाबाट चुनाव जित्नका लागि नेताहरुलाई समाजिक पुँजी पनि चाहिने राजनीतिक विश्लेषक तुलानारायण साह बताउँछन् । उनी भन्छन्, ‘जो कोही पनि आफ्नो जिल्ला छाडेर अन्य जिल्लाबाट चुनाव जित्न सक्दैनन्, जित्नका लागि पार्टीको संगठन हुनुपर्छ या उसको सामाजिक पुँजी बलियो हुनुपर्छ ।’

तर मधेसका नेताहरु जतिसुकै चर्चित वा ठूलो पार्टीका भए पनि उसले पहाडबाट जित्न नसक्ने उनको भनाइ छ । उनले भने, ‘मधेसका नेताले मधेसमै बहुक्षेत्र जित्न सक्छन् तर पहाडमा जित्न सक्दैन । पहाडका थुप्रै नेताले मधेसमा जितेका छन् ।’

उपेन्द्र यादव राष्ट्रिय छवि भएका नेता भए पनि उनी पहाडबाट चुनाव जित्न नसक्ने तर ज्ञानेन्द्रबहादुर कार्की पहाडबाट आएर (सुनसरी) मधेसमा चुनाव जितेको उदाहरण उनले प्रस्तुत गरे ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सिरहाबाट जित्नु पनि त्यसको अर्को उदाहरण भएको उनले बताए । प्रचण्डको गृहजिल्ला चितवन भए पनि उनले पहिलो संविधानसभा निर्वाचन काठमाडौँबाट र दोस्रो संविधानसभा निर्वाचन सिरहाबाट जितेका थिए । सिरहामा चुनाव जितेको बेला प्रचण्ड काठमाडौँमा भने चुनाव हारेका थिए ।

२०७४ को प्रतिनिधिसभा चुनाव भने उनले चितवनबाट जिते । आसन्न निर्वाचनमा उनी फेरि चितवनबाटै उम्मेदवार बन्ने चर्चा छ । यद्यपि उनलाई सिरहा, धनुषा, सिन्धुपाल्चोकलगायत विभिन्न जिल्लाबाट उम्मेदवार बन्न प्रस्ताव आइरहेको छ ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव पहिलो संविधानसभा चुनाव मोरङ र सुनसरी गरी दुई ठाउँबाट जिते । पछि उनले मोरङलाई छाडेका थिए । दोस्रो संविधानसभामा उनी मोरङ र सुनसरीबाट लड्दा मोरङमा हारे तर सुनसरीमा जिते । २०७४ को चुनावमा उनी सप्तरीबाट चुनाव जिते ।

आसन्न निर्वाचनमा उनी कहाँबाट चुनाव लड्ने भन्ने अझै टुङ्गो लागेको छैन ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर महोत्तरीका हुन् तर उनी सर्लाहीबाट चुनाव लडेका छन् । २०७४ मा उनी महोत्तरीबाट संसदको चुनाव जिते पनि त्यसअघिका निर्वाचनमा उनी सर्लाहीबाट उम्मेदवार बनेर जितेका थिए ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता राजेन्द्र महतो पहिलो संविधानसभा चुनाव सर्लाहीबाट जिते तर दोस्रो संविधानसभाको चुनाव त्यहाँबाट हारेपछि उनी २०७४ को प्रतिनिधिसभा चुनावमा धनुषाबाट उम्मेदवार बनेर जिते । यसपटक पनि उनको चुनावी क्षेत्र परिवर्तन हुने चर्चा चलिरहेको छ ।

नेकपा एकीकृत समाजवादी पार्टी नेपालका अध्यक्ष माधवकुमार नेपाल कहिले काठमाडौँ त कहिले रौतहटबाट उम्मेदवार बन्ने गरेका छन् । पहिलो संविधानसभा निर्वाचन काठमाडौँबाट हारेका अध्यक्ष नेपाल दोस्रो संविधानसभा चुनाव रौतहटबाट जिते । २०७४ को प्रतिनिधिसभा चुनाव उनले काठमाडौँबाट जिते ।

पहिलो संविधानसभा इलामबाट जितेका नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल दोस्रो संविधानसभा चनुाव सर्लाहीबाट हारेका थिए । २०७४ मा उनी इलामबाटै चुनाव जितेका छन् ।

माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा रोल्पाबाट पहिलो संविधानसभाको चुनाव जितेका थिए । पछि दोस्रो संविधानसभा चुनाव र २०७४ को प्रतिनिधिसभा चुनाव उनले दाङबाट जिते ।

खोटाङका माओवादी नेता गिरिराजमणी पोखरेल सधैँ महोत्तरीबाट चुनाव जित्छन् । कञ्चनपुरका खगराज भट्ट सधैँ डडेल्धुराबाट चुनाव लड्छन् । ओखलढुङ्गाका माओवादी नेता राम कार्की झापाबाट चुनाव जितेका छन् । ‘टुरिस्ट नेता’ को आरोप लागेपछि उनी झापामा घर किनेर बस्न थालेका छन् ।

अर्घाखाँचीका पम्फा भुसाल ललितपुरबाट चुनाव लड्छिन् भने रोल्पाका वर्षमान पुन ललितपुर र मोरङबाट पनि चुनाव लडेका छन् । गोरखाका नारायणकाजी श्रेष्ठ मकवानपुरबाट पनि चुनाव लडेका छन् । नेपाल सद्भावना पार्टीका नेतृ सरिता गिरी (सिरहा) एकपटक पर्साबाट चुनाव लडेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप