बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

२२ जनाको ज्यान लिइसकेको विवादबाट अन्ततः लेखक आफै पनि शिकार भएका हुन् ?

शनिबार, २८ साउन २०७९, १९ : १२
शनिबार, २८ साउन २०७९

भारतीय मूलका ब्रिटिस उपन्यासकार सलमान रुस्दीमाथि न्यूयोर्क सहरमा आयोजित एक कार्यक्रममा छुरा प्रहार भएको छ । रुस्दी गम्भीर घाइते भएका छन् र उनको शल्यक्रिया गरिएको छ ।

पाँच दशकदेखि साहित्यिक क्षेत्रमा सक्रिय रुस्दीको ३४ वर्षअघि छापिएको सटानिक भर्सेस भन्ने निक्कै विवादित बनेको थियो । त्यसबेला देखि नै उनले कयौँ पटक धम्की र हत्याको चेतावनी सामना गर्दै आएका छन् । 

प्रहरीले रुस्दीमाथि आक्रमण गर्ने व्यक्ति न्युजर्सी निवासी हैदी मातर भएको पहिचान गरेको छ । उनले सटानिक भर्सेसकै कारणले रुस्दीमाथि आक्रमण गरेका हुन् की भन्ने प्रश्न गर्न थालिएको छ । 

तर तथापि प्रहरीले अहिले आफूहरू अनुसन्धान प्रारम्भिक अवस्थामा रहेकाले आक्रमणको उद्देश्य नखुलिसकेको बताएको छ ।

मिडनाईट चिल्ड्रेनले दिलायो पहिचान 

७५ वर्षीय सलमान रुस्दीलाई उनको दोस्रो पुस्तक ’मिडनाइट चिल्ड्रेन’ले पहिलो पटक अन्तराष्ट्रिय ख्याति दिलाएको थियो । यस पुस्तकको लागि सन् १९८१ मा उनले बुकर पुरस्कार पाए ।  

तर सन् १९८८ मा प्रकाशित भएको उनको चौथो उपन्यास ’सटानिक भर्सेस’ले भने उनी ठूलो विवादमा तानिए । उपन्यासलाई लिएर विश्वभर अभूतपूर्व हङ्गामा भएको थियो । 

कयौँ अतिवादी समूहले सलमान रुस्दीलाई ज्यान मार्ने धम्की दिइएको थियो । आफ्नो ज्यान जोगाउन लुकेर बस्नुपरेको थियो । बेलायती सरकारले सलमान रुस्दीलाई प्रहरी सुरक्षा पनि दिएको थियो ।

सलमान रुस्दीको उक्त उपन्यासले मुस्लिम धर्मावलम्बीहरूको भावना चोट पुर्‍यायो । इरान पुस्तक र रुस्दीविरुद्ध सबैभन्दा कठोर देखियो । उसले सलमानको हत्याको लागि फतवा जारी गर्‍यो । 

अवस्था यस्तो बन्यो कि इरान र रुस्दीलाई शरण दिने बेलायतले कूटनीतिक सम्बन्धसमेत तोडेका थिए ।  पश्चिमा बुद्धिजीवी तथा साहित्यकारले उनलाई मुस्लिम कट्टरपन्थीहरूले रुस्दीलाई दिएका धम्कीहरूको आलोचना गरे । 

आयतोल्लाहद्वारा हत्याको फतवा

पुस्तक प्रकाशित भएको एक वर्षपछि सन् १९८९ मा इरानका सर्वोच्च नेता आयतोल्लाह रुहोल्लाह खामेनीले सलमान रुस्दीको हत्याको आह्वान गर्दै फतवा जारी गरे ।

सलमान रुस्दी भारत स्वतन्त्र हुनुभन्दा दुई महिनाअघि मुम्बईमा जन्मिएका थिए । परिवारले उनलाई १४ वर्षको उमेरमा अध्ययनका लागि बेलायत पठायो । त्यहाँ उनले क्याम्ब्रिज विश्वविद्यालय अन्तरगतको किंग्स कलेजबाट इतिहासमा अनर्स डिग्री लिए ।

रहदाँबस्दा उनले बेलायतकै नागरिकता लिए । उनी बिस्तारै इस्लामबाट टाढिँदै गएका थिए । उनले केही समय अभिनेताको रूपमा पनि काम गरे । पछि उनी विज्ञापनको क्षेत्रमा आए र प्रतिलिपि लेखकको भूमिकामा काम गरे । उनले सोही समयमा उपन्यास पनि लेखिरहेका थिए । 

उनको पहिलो पुस्तक ग्रिम्सले खासै सफलता पाउन सकेन । यद्यपि उनको लेखन क्षमताले केही आलोचकहरूको ध्यान तानेको थियो । 

रुस्दीले दोस्रो पुस्तक मिडनाइट चिल्ड्रेन लेख्न पाँच वर्ष लगाए । यसले बुकर पुरस्कार प्राप्त गर्‍यो र यो विश्वभर लोकप्रिय भयो । विश्वभर पुस्टक पाँच लाखभन्दा बढी प्रति विक्री भए । 

रुस्दीको मिडनाइट चिल्ड्रेनले भारतको कथा भन्छ । दुई वर्षपछि आएको उनको तेस्रो उपन्यास शेम पाकिस्तानको बारेमा थियो । चार वर्षपछि उनले आफ्नो निकारागुआ यात्रा समेटेर ‘जगुआर स्माइल’ लेखे ।

सबैभन्दा पहिले भारतद्वारा प्रतिबन्धित

‘सटानिक भर्सेस’ सन् १९८८ सेप्टेम्बरमा प्रकाशित भएको थियो र किताब प्रकाशित भए लगतै विवादमा आयो । विभिन्न मुस्लिम समूहहरूले उनको यो अतियथार्थवादी, उत्तरआधुनिक उपन्यासले ईश्वरनिन्दा गरेको आरोप लगाए र उनको विरोधमा उत्रिए । 

सटानिक भर्सेसलाई पहिलो प्रतिबन्ध लगाउने देश खासमा नै भारत थियो । पुस्तक प्रकाशन भएको एक महिनामा पुस्तक बेलायतबाट आयानमा प्रतिबन्ध लगाइएको थियो । तत्कालिन प्रधानमन्त्री राजीव गान्धीले देशभित्र अमनचैन कायम गर्नको लागि यस्तो निर्णय गरेका थिए ।

भारतपछि पाकिस्तान र अन्य धेरै इस्लामिक देशहरूले पुस्तकलाई प्रतिबन्ध लगाए । दक्षिण अफ्रिकामा पनि प्रतिबन्ध लगाइएको लाग्यो ।

विवादका बाबजुद उपन्यासका विधागत पक्षको भने प्रशंसा पनि गरिएको थियो । यसले ह्वाइटब्रेड पुरस्कार पनि पायो । तर पुस्तकलाई लिएर विवाद पनि चर्किँदै गयो । पुस्तक प्रकाशित भएको दुई महिनापछि यसको विरोधमा मानिसहरु सडकमै उत्रिए । 

पाकिस्तानमा सलमान रुस्दीको विरोधमा प्रदर्शन

मुस्लिमहरूले यो उपन्यासले इस्लामको अपमान गरेको आरोप लगाइरहेका थिए । पुस्तकभित्रका धेरै विषयमा मुस्लिमहरूको विरोध भए पनि दुई वेश्या पात्रलाई लिएर उनीहरूको विशेष विरोध थियो । ती पात्रहरूलाई पैगम्बर मुहम्मदका दुई पत्नीहरूको नाम दिइएको थियो । 

जनवरी १९८९ मा, ब्राडफोर्डमा मुस्लिमहरूले यो पुस्तकका प्रति जलाए । पुस्तक प्रकाशन नै बन्द भयो । उता रुस्दीले भने आफूले ईशनिन्दा गरेको भन्ने सबै आरोपहरू खण्डन गरे । 

दङ्गामा मुम्बई, कश्मीर र इस्लामवादमा कूल २१ को मृत्यु

सन् १९८९ मा मुस्लिमहरूले रुस्दीविरुद्ध मुम्बईमा ठूलो विरोध प्रदर्शन गरे । यस प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर १२ जनाको मृत्यु भएको भने ४० भन्दा बढी घाइते भएका थिए ।

प्रदर्शनमा उत्रिएकाहरु मुम्बईमा बेलायतको कूटनीतिक नियोग बाहिर विरोध प्रदर्शन गर्न चाहन्थे । प्रहरीले ब्यारिकेड लगाएर तिनलाई अगाडि बढ्न रोकेको थियो । 

प्रदर्शनकारीले ब्यारिकेड तोडेर अगाडि बढ्न खोज्दा प्रहरीले गोली चलाएको थियो, जसले हिंसा भड्कियो । हिंसात्मक भीडले प्रहरीमाथि आक्रमण गर्नुका साथै सवारी साधन र प्रहरी चौकीमा आगजनी गरिदियो । 

सन् १९८९ को फेब्रुअरीमा भारत प्रशासित कश्मीरमा समेत सोही पुस्तकविरुद्ध भएको विरोध र्‍यालीमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुदाँ तीन जनाको मृत्यु भयो । । प्रहरीसँगको झडपमा सयभन्दा बढी घाइते भएका छन् ।

यसै क्रममा पाकिस्तानको इस्लामावादस्थित अमेरिकी सूचना केन्द्र बाहिर प्रदर्शनकारी भीड र प्रहरीबीच भएको हिंसात्मक झडपमा ६ जनाको मृत्यु भएको छ भने ८३ जना घाइते भए । यो भीडले अमेरिकामा पुस्तकमाथि प्रतिबन्ध लगाउन माग गरेको थियो ।

सन् १९८९ मा इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनीले रुस्दीको हत्याको आह्वान गर्दा दिल्लीको जामा मस्जिदका शाही इमाम अब्दुल्ला बुखारीले पनि उनलाई समर्थन गर्दै रुस्दीको हत्याको लागि आह्वान गरे । 

पश्चिमी देश र इरानबीच थप तनाव सिर्जना

यसै क्रममा इरानमा भएको प्रदर्शनमा बेलायती दूतावासमा आक्रमण भएको थियो । रुस्दीको हत्या गर्नेलाई पुरस्कार पनि घोषणा गरिएको थियो । 

उता तनाबका बीच बेलायतका केही मुस्लिम नेताहरूले संयमको लागि अपील गरिरहेका थिए भने अरूले अयातोल्लाह खामेनीलाई समर्थन गरिरहेका थिए । अमेरिका, फ्रान्स र अन्य पश्चिमी देशहरूले रुस्दीको हत्याको फतवाको आलोचना गरे । 

विश्वभर भएको विरोध–प्रदर्शन र इरानले हत्याको फतवा जारी गरेपछि रुस्दी आफ्नी पत्नीसँग लुकेर बस्न बाध्य थिए । मुस्लिम धर्मावलम्बीहरूलाई चोट पु¥याएकोमा गहिरो समवेदना प्रकट गर्दै उनले माफी पनि मागे । तर पनि आयातोल्लाहले उनको हत्याको लागि जारी गरेको फतवा फिर्ता लिएनन् । 

रुस्दीको पुस्तक पेन्गुइन वाइकिंगद्वारा प्रकाशित गरिएको थियो । प्रकाशकको लन्डनस्थित कार्यालयबाहिर विशेष प्रहरी तैनाथ गरिएको थियो भने न्यूयोर्कको कार्यालयमा पनि धम्की आइरहेको थियो । 

तर, विवादबीच किताब एट्लान्टिक महासागरका दुई किनारा अर्थात् अमेरिका र युरोपमा निकै लोकप्रिय भयो । लगभग सबै युरोपेली देशहरूले इरानबाट आफ्ना राजदूत फिर्ता गरे । साथै तिनले पुस्तकविरुद्ध उत्पन्न कठोर प्रतिक्रियाको पनि आलोचना गरे । 

अनुवादकको हत्या

तर, यस पुस्तकको विषयवस्तुका कारण लेखक सलमान रुस्दीले मात्रै धम्कीको सामना गर्नुपरेको थिएन ।

जापानी भाषामा पुस्तक अनुवाद गर्ने अनुवादकको शव जुलाई १९९१ मा टोकियोको उत्तरपूर्वी विश्वविद्यालयमा फेला परेको थियो । 

प्रहरीका अनुसार अनुवादक हितोसी इगाराशीलाई सुकुबा विश्वविद्यालयको कार्यालय बाहिर धेरै पटक छुरा प्रहार गरी छटपटाइरहेको अवस्थामा छाडिएको थियो । उनी विश्वविद्यालयका सहायक प्राध्यापक थिए ।

सन् १९९१ जुलाईमा पुस्तकको इटालियाली अनुवादक एटोरो क्याप्रियोलोमाथि मिलानस्थित उनको अपार्टमेन्टमा आक्रमण भयो । यद्यपि उनी आक्रमणबाट बचेका थिए।

सन् १९९८ मा, इरानले रुस्दीको हत्याको लागि आह्वान गरेको फतवा फिर्ता लियो । 

सन् २००४ मा यो विषय केही सेलाइसकेको थियो । त्यसबेला रुस्दी मुम्बई जाँदा मुस्लिमहरूले उनको विरोध गरे । 

आयातोल्लाहको फतावाको भूराजनीतिक कारण

सन् १९८८ मा इरान र इराकबीचको आठ वर्ष लामो निक्कै रक्तापातपूर्ण युद्ध समाप्त भएको थियो । यो युद्ध र त्यसअघिको इस्लामिक क्रान्तिमा गरेर इरानका लगभग हरेक घरपरिवारबाट एक वा दुईजना मानिस मारिएका थिए । 

आर्थिक संकटमा जनताको पीडा दिनप्रतिदिन चौगुना हुँदै गयो । यस्तोमा समयमा आयातोल्लाह खोमेनीले आफ्नो थकित राष्ट्रमा उत्साहको लहर सिर्जना गर्न ‘सटानिक भर्सेस’नामको वाहाना पाएका थिए । 

यसअघि रुस्दीको उपन्यास ‘शेम’को फारसी अनुवादको राम्रो विक्री भएको थियो । त्यसैले उनी इरानमा परिचित नाम थिए । उसो इरानमा पहिलेदेखि नै राम्रो किताब पढ्ने, राम्रो चलचित्र हेर्ने संस्कृति रहेको छ । 

सटानिर्क भर्सेसले बलिउड फिल्ममा जिब्रिल फरिष्ट र आफ्नो भारतीय पहिचानबाट भाग्ने प्रयास गरिरहेका अर्का कलाकार सलाउद्दिन चाम्चाको कथा भन्छ, जो मुम्बईबाट लन्डन जाँदै हुन्छन् । तर तिनको विमान अपहरणमा पर्छ । तर पछि सो विमान दुर्घटनाग्रस्त हुन्छ र दुवै बाँच्छन् । उपन्यासमा आप्रवासी मानसिकता देखाउने प्रयास गरिएको छ, तर म्याकि रियालिजमको चस्माबाट । 

पश्चिम र पूर्वको भिन्नताहरू मुहम्मदको जीवनसँग सम्बन्धित केही किस्साहरू जिब्रिलमा पागलपन बढ्दै गर्दा उसले सपनामा देखेका घटनाका रूपमा प्रस्तुत गरिएको छ । पुस्तकको यही अंशले विवाद निम्त्याएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप