शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाले थलिएका ‘पाहुना घर’ अझै सुनसान

शनिबार, २८ साउन २०७९, २० : ३२
शनिबार, २८ साउन २०७९

कोरोना कहरका बेला प्रभावित बनेका कञ्चनपुरमा रहेका पाहुना घर (होमस्टे) मा आन्तरिक तथा बाह्य पर्यटक आउने क्रम घटेको छ । कोरोना महामारी फैलिनुअघि पाहुना हरुको चहलपहल रहने पाहुना घरहरु कोरोनापछिका वर्षहरुमा भने सुनसान हुन थालेका छन् । पाहुनाको आवागमन घटेसँगै होमस्टेको आर्थिक कारोबारमा समेत गिरावट आएको कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ स्थित राना थारु सामुदायिक होमस्टेका सचिव चेतराम रानाको भनाइ छ ।

“गत वर्ष असार मसान्तसम्म रु तीन लाख जतिको कारोबार भयो”, सचिव रानाले भने, “कोरोना सकिएपछि पनि समूहमा पाहुना आएर बास बस्ने क्रम घटेको छ ।” कञ्चनपुर र कैलालीमा मात्रै बसोबास रहेको राना थारु समुदायको पहिलो होमस्टे आफूहरुले सञ्चालनमा ल्याएको उल्लेख गर्दै सचिव रानाले पाहुना नआएका बेला स्थानीय खेतीपाती र व्यावसायिक तरकारी खेती गरिरहेको बताए ।

“कोरोनाअघि सात महिनामै रु आठ लाखसम्मको कारोबार हुने गरेको थियो”, उनले भने, “अहिले त वैशाखयता पाहुना छिटपुटरूपमा मात्रै आएका छन् ।” यहाँको शुक्लाफाटा राष्ट्रिय निकुञ्जको छेउमै रहेको राना थारु होमस्टे जिल्लाका अरु होमस्टे भन्दा बढी चहलपहल हुने होमस्टे हो । कञ्चनपुरको कृष्णपुर नगरपालिकाको वाणीमा विजयसाल होमस्टे, शुक्लाफाँटा नगरपालिकाको जोनापुरमा खैरकन्द्रा होमस्टे र सिमलफाँटामा कृष्णसार होमस्टे रहेका छन् ।

आठवटा पाहुना घर रहेको राना थारु होमस्टेमा आउने पाहुनाको स्वागतका लागि राना थारु पम्परागत नृत्य देखाइनुका साथै स्थानीय परिकार खुवाउने गरिएको छ । “होटल बसाइभन्दा सस्तो पनि पर्ने भएकाले यहाँ भ्रमणका लागि समूहमा आउने पाहुनाको रोजाइ होमस्टे पर्छ”, रानाले भने, “मुलुकभरका होमस्टेले सहकार्य गरेर पाहुना राख्ने खालको वातावरण बनाउन आवश्यक छ ।”

तराई भू–परिधि कार्यक्रम (ताल) को प्राविधिक तथा भौतिक सहयोगबाट सुरु गरिएको होमस्टे सञ्चालनका लागि शुक्लाफाँटा मध्यवर्ती व्यवस्थापन समितिको आवश्यक सहयोगमा होमस्टे सुरुआत गरिएको थियो । होमस्टे सञ्चालनसँगै थारु समुदायको कला, रीति, संस्कृति जगेर्ना पनि सँगसँगै भइरहेको रानाको भनाइ छ ।

त्यसैगरी कञ्चनपुरको झलारी बजारबाट करिब ६ किलोमिटर दक्षिण खैरकन्द्रा सामुदायिक होमस्टेमा पनि पाहुनाको आगमन छिटपुट छ । खैरकन्द्रा सामुदायिक होमस्टेका संयोजक पुरन डगौँराले कोरोनापछि होमस्टेमा चहलपहल नभएको बताए । “वैशाखयता ६० पाहुनासमेत होमस्टेमा आएको छैनन्”, उनले भने, “छिटपुट रूपमा आए पनि सञ्चालन त्यति राम्रोसित भएको छैन । 

जेडएसएल र प्रकृति संरक्षण कोषको सहयोगमा २०७४ सालमा आठ घरमा होमस्टे सुरु गरिएको थियो । होमस्टेमा आउने पाहुना थारु चौधरीको परिवार खुवाउनेदेखि परम्परागत नृत्यसमेत देखाउने गरिएको संयोजक डगौँराको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप