बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभा बैठकको शुन्य समय : कसले के भने ?

आइतबार, २९ साउन २०७९, १२ : ५८
आइतबार, २९ साउन २०७९

प्रतिनिधिसभा सदस्य भूमिप्रसाद त्रिपाठीले स्थानीयको माग सम्बोधन गरेर मात्रै काठमाडौंको फोहोर बञ्चरे ल्याण्डफिल साइटमा विसर्जन गर्न माग गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद त्रिपाठीले सरकारले गरेका प्रतिवद्धता र सम्झौताहरूको बेवास्ता गर्दै जबर्जस्ती बलपूर्वक फोहोर विसर्जन गर्न खोजिएको बताए ।

उनले प्रभावित क्षेत्रको जग्गा अधिग्रहण, सडक निर्माण तथा सुधार, लिच्चड व्यवस्थापन, दुर्गन्ध र धुलोरहित वातावरणका लागि फोहोर गाडीहरु सफाई गरेर फिर्ता गर्नुपर्ने स्थानीयको माग सम्बोधन हुनुपर्ने बताए । उनले भने– ‘धादिङ र नुवाकोट जिल्लाको सीमाना धादिङ धुनिवेशी नगरपालिका वडा नं. १ मा निर्माण भएको बञ्चरे ल्याण्डफिल साइट सञ्चालनमा ल्याउने क्रममा गम्भिर विवाद उत्पन्न भइ अवरोध सिर्जना भएको छ ।

सिलडोल भरिएर अस्तव्यस्त भइसकेपछि बञ्चरे सञ्चालनमा आउनु अनिवार्य थियो । तर सरकारको तर्फबाट सञ्चालनमा आउनुपूर्व नै आफूले कबुल गरेका प्रतिवद्धता र सम्झौताहरूको बेवास्ता गर्दै जबर्जस्ती बलपूर्वक फोहोर विसर्जन गर्न खोज्नुले स्थानीयवासी आक्रोशित हुनु स्वभाविक हो ।

प्रभावित क्षेत्रको जग्गा अधिग्रहण, सडक निर्माण तथा सुधार, लिच्चड व्यवस्थापन, दुर्गन्ध र धुलोरहित वातावरणको लागि फोहोर गाडीहरु सफाई गरेर फिर्ता गर्ने लगायत स्थानीय बासिन्दाहरूको जीवनसँग प्रत्यक्ष जोडिएका विषयहरुलाई तत्काल सम्बोधन गरेर मात्रै फोहोर विसर्जन गर्न जोडदार माग गर्दछु ।’

प्रतिनिधिसभा सदस्य मायादेवी न्यौपानेले सरकारले जनताको माग अनुरुप केही दिन नसकेकाले सरकारको नाम छैनबहादुर, दिन्नबहादुर र सक्दिनबहादुर राख्नुपर्ने टिप्पणी गरिन् । उनले सरकार मंसिर ४ गते हुने निर्वाचन पछि कमण्डलु लिएर बनारस जानुपर्ने बताइन् ।

निर्वाचन पछि नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने उनले बताइन् । उनले भनिन्– ‘यो सरकारले जनतालाई केही पनि दिन सक्दैन । विद्यार्थीलाई किताब दिन सक्दैन । किसानलाई मल, बीउ र सिंचाई दिन सक्दैन । व्यवसायीलाई कच्चा पदार्थ दिन सक्दैन । उद्योगीलाई सञ्चालन गर्न अवरोध गर्छ । यो केही पनि दिन नसक्ने सरकारको नाम छैनबहादुर, दिन्नबहादुर र सक्दिनबहादुर राखौँ कि कसो ?’ 

प्रतिनिधिसभा सदस्य मीना सुब्बाले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेको भएपनि सरकारले नघटाएको भन्दै असन्तुष्टि व्यक्त गरिन् । इन्धनको मूल्य घटाउन नेपाल आयल निगमलाई ध्यानाकर्षण गराइन् । प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले काठमाडौंमा ७१ दिनदेखि फोहोर उठ्न नसकेको भन्दै सरकारको आलोचना गरे ।

उनले काठमाडौं महानगरपालिकाको मेयर बालेन्द्र साहलाई फोहोर उठाउने सन्दर्भमा सरकारको भर नपर्न सुझाव दिए । उनले एमाले सहयोग गर्न तयार रहेको भन्दै ठोस प्रस्तावसहित एमालेसँग सम्वादमा आउनका लागि मेयर साहलाई आग्रह पनि गरे । उनले भने– ‘यसअघि काठमाडौंको फोहोर १४ दिनसम्म नउठेको इतिहास छ ।

आज ७१ दिन भयो प्रधानमन्त्रीले कुनै पहल गर्नुभएको छैन । सम्बन्धित मन्त्रीहरु बेखबर छन् । त्यस्तै झाडापखाला, हैजा लगायत काठमाडौंको फोहोरले काठमाडौंलाई डुङ्डुङ्ती गन्हाउने अवस्थामा पुगेको छ । यो सरकारले कुनै पहलकदमी गर्न सक्दैन । यो सरकारको हुती पनि छैन । त्यसैले म सरकारको ध्यानाकर्षण गर्दिन आज । म काठमाडौंका मेयर बालेन साहलाई भन्न चाहन्छु, आउनुहोस् ठोस प्रस्तावसहित नेकपा(एमाले)सँग त्यो भिजन छ । दृष्टिकोण छ । नेकपा(एमाले) पूर्ण क्षमताका साथ तपाईलाई सहयोग गर्न तयार छ ।’

प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार केसीले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा पनि आयल निगम चुप लागेर बसेको बताए । उनले स्वचालित रुपमा पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्न माग गरे ।
प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले काठमाडौंको फोहोर इच्छाशक्ति भएको मान्छेले मात्रै उठाउन सक्ने भन्दै आफ्नो नेतृत्वमा शक्तिशाली संसदीय समिति गठन गर्न माग गरे । राजधानी काठमाडौंको व्यवस्थापनका लागि समिति आवश्यक भएको उनको भनाई छ । 

प्रतिनिधिसभा सदस्य रेणुका गुरुङले निहारिका राजपुतले राष्ट्रपति भवन अगाडि आत्मदाह गर्ने अवस्था किन आयो भनि सरकारलाई प्रश्न गरिन् । उनले सरकारको प्रशासनिक र न्यायिक संयन्त्र असफल भएकै हो भनि सरकारको जवाफ माग समेत गरिन् । 

उनले मधेशका मिटरब्याज साहु पीडित नागरिकलाई न्यायको अनुभूति दिने दायित्व राज्यको भएको बताइन् । उनले कार्यदलको नाममा पीडितलाई अल्मल्याउने र पीडकलाई उन्मुक्ति दिने कार्य नगर्न सरकारको ध्यानाकर्षण गराइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप