बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

गठबन्धनप्रति अनुदार शेखर कोइरालालाई चुनाव जित्न कति सहज ?

काँग्रेसबाटै रमेशजङ्ग र माओवादीबाट जीवन आचार्यको दाबी
आइतबार, २९ साउन २०७९, १६ : १८
आइतबार, २९ साउन २०७९

गठबन्धनप्रति अनुदार देखिएका नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालालाई मोरङ क्षेत्र नम्बर ६ बाट चुनाव जित्न आफ्नै पार्टीको संस्थापन पक्षको साथ लिनु नै मुख्य चुनौती हुने देखिएको छ । अघिल्लो पटकको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार लालबाबु पण्डितबाट झिनो मतले पराजित भएका कोइरालालाई पार्टी सभापति शेरबहादुर देउवा पक्षका नेताहरुले असहयोग गरेको चर्चा छ ।

देउवा पक्षका नेता रमेशजङ्ग रायमाझी प्रदेश १ का काँग्रेस उपसभापति हुन् । उनले पनि सोही क्षेत्रबाट चुनाव लड्ने बताउँदै आएका छन् । ‘मोरङको क्षेत्र नम्बर ६ बाट उम्मेदवार बन्ने एक्लो मान्छे म हुँ,’ रायमाझीले भने, ‘डा. शेखर कोइराला पार्टी सभापतिमा लडेको मान्छे हो, उहाँले जहाँबाट चुनाव लडे पनि हुन्छ, यो पटक मलाई सहयोग गर्नुहुन्छ भन्ने लागेको छ ।’

अघिल्लो निर्वाचनमा ‘एक पटकका लागि यहाँबाट चुनाव लड्छु’ भनेकाले आफूहरुले डा. शेखरलाई सहयोग गरेको रायमाझी बताउँछन् । शेखर कोइरालालाई ६ नम्बर क्षेत्र भन्दा मोरङको २ नम्बर क्षेत्र उपयुक्त भएको उनले बताए । ‘यसअघि गिरिजाप्रसाद कोइरालाले लडेको मोरङको २ नम्बर क्षेत्र हो, निर्वाचन जित्न उहाँलाई त्यहाँ सजिलो हुन्छजस्तो मलाई लागेको छ,’ रायमाझीले भने, ‘म भनेको यही क्षेत्रको मान्छे हुँ, उहाँको कार्यकर्ता पनि हुँ, म आफ्नो क्षेत्र छोडेर अन्त जान सक्दिनँ । बरु शेखरजीलाई त्यो सजिलो हुन्छ ।’

यता, शेखर कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले पार्टीको निर्णय कोइरालाले मान्ने बताए । ‘उहाँ सुरुदेखि नै गठबन्धनको विरुद्धमा हुनुहुन्छ,’ थपलियाले भने, ‘तर, पार्टीको केन्द्रीय समितिले गठबन्धन गर्ने निर्णय गरिसकेको हुँदा त्यसलाई मानेर जाने हो, उहाँको क्षेत्र नै मोरङको क्षेत्र नम्बर ६ भएकाले त्यसबाट दायाँबायाँ हुँदैन ।’

काँग्रेसबाट रायमाझीले चुनाव लड्ने आकांक्षा राख्नु स्वाभाविक भएको उनले बताए । ‘उहाँ पनि सांसद हो, पार्टीको नेता हो, दाबी गर्नु स्वाभाविक हो,’ थपलियाले भने । यता, नेकपा माओवादी केन्द्रले भने गठबन्धन हुँदा पनि र नहुँदा पनि नेता जीवन आचार्यलाई उम्मेदवार बनाउने बताएको छ । आचार्यले पनि आफू प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्ने बताए ।

‘पार्टीको निर्णयलाई म मान्छु, पार्टीले मलाई संघीय सांसदमा उम्मेदवार बनाउँछ भन्ने विश्वास छ,’ उनले भने, ‘गठबन्धन भएन भने पनि मेरो प्रतिस्पर्धा संघमा हुन्छ, गठबन्धन बनेको खण्डमा गठबन्धनले गरेको निर्णयलाई मानेर अगाडि बढ्छु ।’

उनले ०७४ सालमा आफू पराजित हुँदा विकास निर्माणमा धेरै भूमिका खेल्न नसकेको बताउँदै त्यस क्षेत्रको विकासका लागि जनताले जिताउने विश्वास पनि व्यक्त गरे । आचार्य माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका कान्छा ज्वाईँ हुन् ।

आचार्यले गठबन्धनले क्षेत्र नम्बर ६ नेपाली काँग्रेसलाई दिने निर्णय गरेको खण्डमा आफू प्रदेशमा उठ्न पनि तयार रहेको बताए । ‘काँग्रेसलाई दिने निर्णय गठबन्धनले गरे काँग्रेसका नेता शेखर कोइराला वा रमेशजंग रायमाझीमध्ये जो आउँदा पनि मेरो समर्थन रहन्छ,’ आचार्यले भने ।

गठबन्धनमा सकस

यता, गठबन्धन भएको खण्डमा ६ नम्बर क्षेत्रमा नेपाली काँग्रेसका नेताहरुको व्यवस्थापनमा सकस हुने देखिएको छ । काँग्रेस नेता कोइराला, रायमाझीका साथै चुमनारायण तबदार, केदार कार्की, डिला संग्रौला, विजयकुमार गच्छदार पनि सोही क्षेत्रका हुन् । यीमध्ये तबदार र कार्की हाल प्रदेश सांसद छन् । गठबन्धन भएको खण्डमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई कुन क्षेत्र दिने र आफ्ना नेताको व्यवस्थापन कसरी गर्ने भन्ने समस्या देखिएको काँग्रेसका एक नेता बताउँछन् । ‘शेखर कोइरालालाई विजयी हुनका लागि गठबन्धन पनि गर्नुपर्ने अवस्था छ,’ ती नेताले भने, ‘गठबन्धन गर्दा कुन क्षेत्र माओवादीलाई दिने हो भन्ने विषयमा पनि अन्यौल छ ।’

नेताहरु रायमाझी, तबदार, संग्रौला, गच्छदारहरु देउवा पक्षका हुन् । कार्की भने कोइराला पक्षका हुन् । प्रदेशसभामा क्षेत्र नम्बर ६(ख)बाट निर्वाचित कार्कीले सो क्षेत्र नछाड्ने बताउँदै आएका छन् । देउवा पक्षका तबदार पनि ६ (क) नछोड्ने बताउँछन् । यस्तो अवस्थामा गठबन्धनलाई मिलाएर निर्वाचन लड्न कोइरालाका लागि निकै समस्या देखिएको छ ।

एमालेलाई जित्नैपर्ने दबाब

यता, ०७४ सालमा विजयी बनेको नेकपा एमालेलाई यस पटक पनि निर्वाचन जित्नैपर्ने दबाब छ । एमालेले यसअघि विजयी बनेका नेता लालबाबु पण्डितलाई नै सोही क्षेत्रबाट उठाउने तयारी गरेको छ । यद्यपि यो क्षेत्रबाट गुरु बरालले पनि इच्छा राखिरहेका छन् ।

नेकपा एमाले मोरङका इन्चार्ज विनोद ढकालले भदौ ७ गते बैठक आयोजना गरेको र त्यो बैठकले उम्मेदवारबारे निर्णय लिने बताए । ‘हामीले यस विषयमा अहिले छलफल गरेका छैनौं, भदौ ७ गतेदेखि बस्ने बैठकबाट यसबारे निर्णय हुन्छ,’ ढकालले भने ।

ढकालले आफू भने सो क्षेत्रबाट उम्मेदवार नबन्ने बताए । ‘म त्यो क्षेत्रबाट चुनावमा उठ्दिनँ,’ उनले भने ।

स्थानीय तह निर्वाचन २०७९ को परिणाम

स्थानीय तह निर्वाचन २०७९ को मत परिणामले पनि यो क्षेत्रमा नेपाली काँग्रेस बलियो रहेको देखाउँछ । यति हुँदाहुँदै पनि काँग्रेसमा हुने आन्तरिक कलहको फाइदा एमालेले नउठाउला भन्न सकिँदैन । स्थानीय तह निर्वाचनमा सो क्षेत्रका २० वटा वडामध्ये काँग्रेस एक्लैले १२ वडा जितेको छ । दोस्रो स्थानमा रहेको एमालेले ५, माओवादी, जसपा र स्वतन्त्रले १/१ वडामा जित निकालेका छन् ।

वडागत मतको आधारमा भन्ने हो भने काँग्रेस एक्लैको मत २८ हजार ४२८ छ । त्यसमा गठबन्धन बनेर माओवादी, जनता समाजवादी र नेकपा एकीकृत समाजवादीको मत थपिने हो भने ४० हजार २० मत पुग्छ । यता, नेकपा एमालेको वडाध्यक्षको मतको आधारमा सो क्षेत्रमा २५ हजार २३६ मत देखिन्छ । राप्रपासँग उसले तालमेल गरेको खण्डमा केही सय मत थप भए पनि जितका लागि पर्याप्त नहुने देखिन्छ ।

हेर्नुहोस् वडागत मतको तथ्याङ्क

०७४ को निर्वाचन परिणाम कस्तो थियो ?

०७४ सालको आम निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ बाट लालबाबु पण्डितले ३३ हजार ९४१ मत ल्याएर विजयी बनेका थिए । काँग्रेसबाट शेखर कोइराला ३३ हजार २६६ मत ल्याएर दोस्रो भए । संघीय समाजवादी फोरम नेपालका राजश्वर विश्वासले पनि ५ हजार २६१ मत पाएका थिए ।

तत्कालीन अवस्थामा लोकप्रिय उम्मेदवार बनेका पण्डितले वाम गठबन्धनको बलमा कोइरालाई झिनो मत अन्तरले हराएका हुन् । यस पटक भने पण्डितलाई जित निकाल्न निकै समस्या हुने कतिपयको भनाइ छ । एकातिर काँग्रेससहितको गठबन्धन बन्ने सम्भावना र अर्कोतिर एमाले विभाजन र व्यक्तिगत रुपमा खस्कँदो लोकप्रियताले पण्डितको जित सहज देखिँदैन । 

प्रदेशसभा निर्वाचन क्षेत्र ६ (क) मा भने काँग्रेसका चुमनारायण तबदारले २३ हजार ५१३ मत पाउँदा वाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका जीवन आचार्यले २१ हजार ४७० मत पाएका थिए ।

यस्तै प्रदेश निर्वाचन क्षेत्र नम्बर ६ (ख) मा नेपाली काँग्रेसका केदार कार्की विजयी बनेका थिए । कार्कीले ११ हजार २९८ मत पाउँदा उनका प्रतिस्पर्धी वाम गठबन्धनबाट उम्मेदवार बनेका एमालेका रमेशप्रसाद पोखरेलले ८ हजार १२० मत पाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप