मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश सरकारको एक वर्ष : यस्ता छन् उपलब्धि

आइतबार, २९ साउन २०७९, १९ : १२
आइतबार, २९ साउन २०७९

 कुलप्रसाद केसीको नेतृत्वमा गठित लुम्बिनी प्रदेश सरकारले एक वर्ष पूरा गरेको छ । सोही अवसर पारेर प्रदेश सरकारले आइतबार उपलब्धिहरू सार्वजनिक गरेको हाे । 

प्रदेश सरकारले ५२ बुँदामा उपलब्धि सार्वजनिक गरेको छ । मुख्यमन्त्रीको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा  सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री तिलकराम शर्माले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमदेखि प्रदेश सरकारले घोषणा गरेका गौरवका आयोजनासम्मलाई उपलब्धिका रुपमा व्याख्या गरे ।

प्रदेश सरकारले एक वर्षको अवधिमा २२३ किलोमिटर सडक कालोपत्रे, २६५ किलोमिटर ग्राभेल र १२१ किलोमिटर नयाँ ट्रयाक खोलिएको जनाएको छ । यस्तै प्रदेश सरकार स्थापना भएदेखि हालसम्म ७२ वटा सडक पुल निर्माण भएकोमा यो वर्षमात्रै ४० वटा  पुल सम्पन्न भएको जनाइएको छ ।

सिँचाइतर्फ थप २ हजार ६५८ हेक्टर कृषियोग्य जमिनमा सिंचाई सुविधा विस्तार भएको, ३७० हेक्टर जमिन तटबन्धमार्फत उकास गरिएको मन्त्री शर्माले बताए । प्रदेश सरकारले वार्षिक नीति तथा कार्यक्रम र बजेट मार्फत प्रदेश गौरवका आयोजनाको रूपमा राप्ती उपत्यकामा राजधानी निर्माण, लुम्बिनी प्रादेशिक अस्पताल, लुम्बिनी प्राविधिक विश्वविद्यालय र रामपुर, पाल्पादेखि पाती हाल्न, रोल्पा सडक आयोजनाको काम अघि बढाएको छ । यसलाई पनि प्रदेश सरकारले उपलब्धिका रुपमा व्याख्या गरेको छ ।

लुम्बिनी प्रदेशको राजधानी निर्माणका लागि गुरु योजना तयार गरी कार्यान्वयनमा रहेको, राजधानी व्यवस्थापनका लागि ल्यान्ड पुलिङको कार्य अगाडि बढाइएको मन्त्री शर्माले बताए । राप्ती प्राविधिक शिक्षालयको १८ बिगाहा जग्गाभित्र ८ वटा प्रशासनिक भवन निर्माण कार्य अगाडि बढाइएको कामलाई प्रदेशले महत्वपूर्ण उपलब्धि ठानेको छ । लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापनाका लागि ऐन, नियम, कानुन तर्जुमा गरी उपकुलपति नियुक्त गरिएको, राप्ती उपत्यकाको लाल मटियामा प्रदेशसभा भवन निर्माण भएको प्रदेश सरकारले उल्लेख गरेको छ ।

प्रदेश सरकारले मुटु, मिर्गौला र क्यान्सर रोगको उपचारार्थ विपन्न नागरिकका लागि प्रतिव्यक्ति थप २ लाख रुपैयाँसम्म सहयोग प्रदान गर्ने नीति अनुसार २७६ जनालाई त्यस्तो सहयोग प्रदान गरेको जनाएको छ । यस्तै जनयुद्धका घाइते तथा अपाङ्गहरूको उपचारको व्यवस्था मिलाइएको, पत्रकार दुर्घटना बिमा जस्ता कामलाई पनि उपलब्धिको रूपमा प्रस्तुत गरेको छ । यस अवधिमा प्रदेश प्रहरी ऐन, प्रदेश वन ऐन, सञ्चार माध्यम ऐन जारी भई कार्यान्वयनमा लगिएको, लुम्बिनी प्रदेश बैंक स्थापना गर्न प्राविधिक कार्य पूरा गरिएको, लुम्बिनी प्रदेश सरकारबाट सञ्चालित अस्पतालहरूमा निःशुल्क रगत प्रदान गर्ने कार्य सुरु गरिएको जस्ता कार्यलाई प्रदेश सरकारले आफ्नो एक वर्षे कार्यकालको उपलब्धिका रुपमा व्याख्या गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप