बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

उपराष्ट्रपति पुन पाकिस्तानको ७५ औँ स्वतन्त्रता दिवस समारोहमा

आइतबार, २९ साउन २०७९, २२ : ४५
आइतबार, २९ साउन २०७९

उपराष्ट्रपति नन्दबहादुर पुन पाकिस्तानको ७५ औँ स्वतन्त्रता दिवसका अवसरमा आज यहाँ आयोजित स्वागत समारोहमा सहभागी भएका छन् ।  यहाँस्थित पाकिस्तानी राजदूतावास र नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्गठनले संयुक्तरूपमा आयोजना गरेको उक्त कार्यममा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले नेपाल र पाकिस्तान बीचको सम्बन्ध सुमधुर रहेको तथा पारस्परिक सहयोग निरन्तर वृद्धि भएको बताए । उनले नेपालको शैक्षिक क्षेत्रमा पाकिस्तानले गरेको सहयोगको सराहना पनि गरे ।

नेपालका लागि पाकिस्तानका राजदूत सइद हैदर शाहले ६ दशकभन्दा पुरानो पाकिस्तान र नेपालबीचको सम्बन्धलाई अझ सुदृढ तुल्याउन आफू क्रियाशील रहेको बताए । उनले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य पाकिस्तान र नेपालले क्षेत्रीय चासोका साझा विषयमा सहकार्य गरिरहेको चर्चा गर्दै दक्षिण एशियाको आर्थिक उन्नयनका निम्ति क्षेत्रीय शान्ति अपरिहार्य भएको बताए ।

वार्ता र संवादका माध्यमबाट सबै समस्याको निकास खोज्न पाकिस्तान तयार रहेको बताउँदै उनले दक्षिण एशियाको समृद्धिका निम्ति क्षेत्रीय शान्ति र स्थायित्व सुनिश्चित हुनुपर्नेमा जोड दिए । सङ्गठनका सभापति हिमालय शम्शेर जबराले ६१ वर्षदेखि सक्रिय सङ्गठनले दुई देशबीचको सम्बन्ध सुमधुर तुल्याउन सक्रियतापूर्वक काम गरिरहेको बताउँदै सरकारीस्तरका साथै जनस्तरमा समेत सुमधुर रहेको नेपाल–पाकिस्तान सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन आफूहरू प्रतिबद्ध रहेको उल्लेख गरे ।

समारोहमा कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका उच्च अधिकारी, उद्यमी, व्यवसायी, कामको सिलसिलामा यहाँ रहेका पाकिस्तानी नागरिक, कलाकार, साहित्यकार, वरिष्ठ सञ्चारकर्मीलगायत समाजका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप