शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यो गठबन्धनमाथि हाम्रो हक लाग्छ : महिन्द्र राय यादव

सोमबार, ३० साउन २०७९, ०८ : ०७
सोमबार, ३० साउन २०७९

एमालेबाट विद्रोह गरी महन्थ ठाकुरको नेतृत्वमा तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) गठन गरी मधेसको राजनीतिमा सक्रिय भएका महिन्द्र राय यादव अहिले नेपाल समाजवादी पार्टीको दोस्रो वरीयताका अध्यक्ष बनेका छन् । तत्कालीन तमलोपा छाडेर आफ्नै नेतृत्वमा तमलोपा नेपाल गठन गरेका उनी विभिन्न ६ दल मिलेर बनाइएको राजपा नेपालको अध्यक्ष मण्डलको सदस्य बनेका थिए ।

पछि राजपा र समाजवादी पार्टीबीच एकीकरण भइ जनता समाजवादी पार्टी गठन हुँदा उनी कार्यकारिणी सदस्य भएका थिए । तर त्यहाँ पनि उपेन्द्र यादवसँग खटपट भएपछि उनी डा.बाबुराम भट्टराईका साथ निस्केर नेपाल समाजवादी पार्टी गठन गरे ।

यिनै राजनीतिक आरोह–अवरोहका बीच उनी नयाँ दलमार्फत निर्वाचनमा जाने तयारीमा छन् । सत्तारुढ गठबन्धनमा सामेल हुन शीर्ष नेताहरुसँग छलफल बढाएका उनीसँग रातोपाटीले यिनै समसामयिक विषयमा कुराकानी गरेको छ । प्रस्तुत छ, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रा राय यादवसँग गरिएको कुराकानीको सम्पादित अंश–​

तपाईहरुले जसपाबाट अलग भएर नेपाल समाजवादी पार्टी गठन गर्नुभयो, यो परस्थितिको जन्म कसरी भयो ?

यो परस्थिति निर्माण हुनुमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव जिम्मेवार हुनुहुन्छ । जसपा नेपाल गठन हुँदा हामीले जुनजुन कुरा उठाएका थियौं, त्यो कुरा कार्यान्वयन भएन । कतिपय कुरा विधानमा समावेश गरे पनि कार्यान्वयन भएन । जसपाको विधानमा दुई जना अध्यक्षको व्यवस्था गरियो, त्यो व्यवस्था अझै कायम छ । जसपा गठन हुँदा एक जना अध्यक्ष महन्थ ठाकुर हुनुहुन्थ्यो । उहाँले छाडेर गइसकेपछि त्यो ठाउँमा अर्को अध्यक्ष राख्नुपर्छ भनेर हामीले कुरा उठाउँदै आयौँ । एउटा अध्यक्ष पद खाली छ त्यहाँ जनजातिबाट राखौं भनेर अशोक राईको नाम प्रस्ताव ग¥यौँ । त्यो पनि भएन ।

पछि हामीले कार्यविभाजनको कुरा उठायौँ । पार्टी गठन भएको दुई वर्ष हुन लाग्दासमेत पार्टीको समायोजन भएन, नेताहरुको कार्यविभाजन पनि भएन । पार्टीको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन धेरै प्रयास गरे पनि असफल भयो । पार्टीमा स्वेच्छाचारी बढ्यो । एकल निर्णयमा पार्टी सञ्चालन हुन थाल्यो । पार्टीमा कसैको केही चलेन ।

जसपामा जतिखेर आधिकारिकताको कुरा उठिरहेको थियो, त्यतिबेला राजपाका रामनरेश राय यादव, मृगेन्द्रकुमार सिंह, नवलकिशोर साह नआइदिएको भए अवस्था के हुन्थ्यो भन्नेबारे उपेन्द्र यादवलाई पनि राम्रोसँग थाहा छ । पार्टी त बन्यो तर मन, वचन, कर्मले यो पार्टी बनेन । स्वेच्छाचारी प्रवृत्तिबाट पार्टी चल्न थाल्यो । उपेन्द्र यादवको आगाडि कोही बोल्न मानेनन् । जो बोलने आँट गर्दथे, उसलाई कारबाही गरिदिने परिपाटी बस्यो ।

स्थानीय चुनावमा टिकट वितरणमा निकै धाँधली भयो । चुनावमा माथिबाटै निर्देशन दिएर तत्कालीन राजपाका नेताहरुलाई हराउने काम भयो । रामनरेश राय यादवलाई मन्त्रीबाट हटाइयो । अध्यक्षको गुटको बैठक बोलाउनु भयो । त्यसरी गुटको बैठक बोलाउँदा पार्टी विभाजन नहोस् भनेर हामीले धेरै प्रयास ग¥यौँ तर वीरगञ्जको निर्णयले पार्टी विभाजन भयो । पार्टी विभाजन भएपछि हामीले त्यसलाई पुनर्गठन गरेका छौँ । पार्टी विभाजनको मुख्य जिम्मा वीरगञ्ज बैठकको नेतृत्व गर्ने (उपेन्द्र यादव) ले लिनुपर्छ ।​

एकल अध्यक्ष प्रणाली भएको पार्टीमा बस्न तपाईलाई किन गाह्रो भयो त ?

पार्टीमा एक जना अध्यक्ष राख्ने कि दुई जना राख्ने भन्नेबारे महाधिवेशनबाट टुङ्गो लगाऔँ भनिएको थियो । जसपा निर्माण हुँदा दुई जना अध्यक्ष राख्ने काम भयो । त्यसको व्यवस्था विधानमा पनि गरियो । केही समय दुई जना अध्यक्ष रहे पनि । जब एउटा अध्यक्ष खाली भएपछि त्यहाँ अर्को अध्यक्ष राख्नुपर्थ्यो । दुई जना अध्यक्षको व्यवस्था विधानमै थियो ।

त्यो अवस्थामा कि विधान संशोधन गर्नुपर्थ्यो या विधानमा भएको व्यवस्था लागु गर्नुपर्थ्यो । महाधिवेशनसम्म दुई जना अध्यक्ष राख्नुपर्थ्यो र, महाधिवेशनबाट दुई जना अध्यक्ष राख्ने कि एक जना भन्ने निर्णय हुन्थ्यो । तर महाधिवेशनसम्म नकुरेर एक जना अध्यक्षमात्र राख्ने, विधान अधिवेशन पनि नगर्ने स्वेच्छाचारी प्रवृत्तिका कारण पार्टी विभाजनको अवस्थामा पुगेको हो । आफै निर्णय गर्ने र त्यसलाई आफै कार्यान्वयन नगर्ने अवस्था सिर्जना भएको छ ।​

उपेन्द्र यादवले पनि दुई जना अध्यक्ष राख्ने कि एक जना राख्ने भन्ने विषयलाई महाधिवेशनसम्म कुर्न र अहिलेलाई एक जनाले मात्र पार्टी चलाउँ भन्नुभएको थियो, तपाईहरुले त्यो कुरा किन मान्नु भएन ?

होइन, उहाँले यो कुरा भन्नुभएको छैन । विधानमा भएको व्यवस्थालाई कार्यान्वयन गर्ने र महाधिवेशनमा त्यसको बारेमा निर्णय गर्ने भन्ने हाम्रो कुरा थियो । हामीले भनेका थियौं, अहिलेको विधानमा जे व्यवस्था छ, त्यसलाई कार्यान्वयनमा ल्याउँ, त्यसपछि अध्यक्ष एक जना राख्ने कि दुई जना राख्ने भन्ने टुङ्गो महाधिवशेनबाट गर्न लगाउँ ।

तर उपेन्द्रजीले त्यसलाई मान्नुभएन । त्यही विषयमा विवाद हुँदा विधान अधिवेशन गर्ने कुरा थियो । असार २ गने विधान अधिवेशन गरेर पार्टीको विधान संशोधन गर्ने निर्णय भएको थियो तर कसैलाई जानकारी नै नदिइकन उहाँले विधान अधिवेशन स्थगित गर्नुभयो । उहाँलाई मन प¥यो भने सबै ठिक, मन परेन भने सबै बेठिक । त्यसरी स्वेच्छाचारी तरिकाले पार्टी चल्दैन भनेर हामीले भनेका थियौँ ।

दुई अध्यक्षीय प्रणाली असफल भएको बेला तपाईहरुले नेपाल समाजवादी पार्टी गठन गरेर दुई जना अध्यक्ष राख्नुभयो, किन ?

एक अध्यक्ष भएको पार्टी पनि पटकपटक फुटेका छन् । दुई अध्यक्ष भएका पार्टी पनि फुटेका छन् । पार्टी फुट्नु भनेको एक वा दुई अध्यक्ष मुख्य कारण होइन । पार्टी विधि, पद्धति, नीति र सिद्धान्तमा चल्छ कि चल्दैन, त्यो मुख्य कुरा हो । एक जना अध्यक्ष रहे पनि पार्टीमा निरंकुश शैली अपनाउन थालेमा त्यो पनि फुट्छ । दुई जना अध्यक्षमध्ये एउटा वा दुवै निरंकुश भए त्यो पनि विभाजन हुन्छ तर जुन पार्टी विधि र पद्धतिबाट सञ्चालित हुन्छ, त्यो पार्टी विभाजन हुँदैन ।

उपेन्द्र यादव एकल अध्यक्ष भएकै बेला उहाँको पार्टी पटक पटक विभाजन भएको छ, किन ? त्यसको जवाफ उपेन्द्र यादवले दिनु पर्दैन ? उहाँकै नेतृत्वमा पटकपटक पार्टी विभाजन हुनुको कारण के हो ? यसको समीक्षा उपेन्द्रजीले गर्नुपर्छ कि पर्दैन ? त्यसैले पार्टी विभाजन एकल अध्यक्ष वा दुई जना अध्यक्ष भएरमात्र हुँदैन ।

तपाईहरुले दुई जना अध्यक्ष राख्नु भएको छ, त्यो महाधिवेशनसम्मका लागिमात्र हो कि महाधिवेशनपछि पनि दुई जना अध्यक्ष रहन्छन् ?

जसपाबाट विभाजन भएका कारण जसपाकै विधान अनुसार त्यसलाई हामीले पुनर्गठन गरेका छौँ । सोही अनुसार दुई जना अध्यक्ष राखेका छौं । एक जना संघीय परिषद्का अध्यक्ष राख्न बाँकी नै छ । चुनावअघि वा पछि जनजातिबाट एक जना संघीय परिषद् अध्यक्ष राख्छौँ । पार्टीमा एक जना अध्यक्ष रहने कि दुई जना भन्नेबारे महाधिवेशनबाट निर्णय गर्छौँ ।

महाधिवेशनबाट हामी सबै कुराको टुङ्गो लगाउँछौँ । यो जसपाबाट अलग भएर पुनर्गठित पार्टी भएकोले हामीले जसपाकै विधान अनुसार अहिले सबै व्यवस्था गरेका छौं । महाधिवेशनमा पनि यस विषयमा छलफल हुन्छ ।​

पार्टी गठन गर्ने बित्तिकै गठबन्धनका लागि दौडधुप गर्न थाल्नुभयो, एक्लै चुनाव लड्ने अवस्था छैन ?

चुनाव एक्लै पनि लड्न सकिन्छ । तर पहिला नै हामीले गठबन्धन बनाइसकेकाले त्यही गठबन्धनमार्फत चुनावमा किन नजाने भनेर हामी गठबन्धनमा सामेल हुने प्रयासमा छौं । पाँच दलीय सत्ता गठबन्धनका संस्थापक हामी हौं । यो गठबन्धन बनाएकै हामीले हो ।

यसमा अरुको जति अधिकार छ, त्यति अधिकार हाम्रो पनि हो । जनता समाजवादी पार्टीमा विवाद चलिरहकै बेला गठबन्धन बनाउने पहल भएको थियो । त्यसका लागि हामी सर्वोच्च अदालतसम्म गयौँ । यसमा जसपाकै महन्थ ठाकुर पक्षका नेताहरुले असहयोग गरिरहनु भएको थियो । बाबुराम भट्टराईसहितका नेताहरु मिलेर यो गठबन्धन बनाउन निकै मेहनत ग¥यौँ । त्यसैले यो गठबन्धनमाथि हाम्रो हक लाग्छ ।

हामीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर पनि भन्यौँ, ‘यो गठबन्धनमाथि हाम्रो हक लाग्छ, हामी यो गठबन्धनका एक हिस्सा हौँ । यदि तपाईले यो गठबन्धनमा सामेल गराउन चाहनु भएको छैन भने तपाईले लिखित रुपमा दिनुपर्छ कि यो यो कारणले तपाईलाई यो गठबन्धनमा राख्न सकिएन ।’

त्यसपछि प्रधानमन्त्री देउवाले होइन, त्यस्तो होइन तपाईहरुलाई गठबन्धनमै राख्ने हो, त्यसका लागि छलफल भइरहेको छ भन्नुभयो । तर गठबन्धनमा रहनुभएका जसपाका अध्यक्ष उपेन्द्र यादवले यो गठबन्धनमा लोसपा र नेसपा नआओस् भनेर कुरा उठाइरहनु भएको छ रे भन्ने हामीले सुनेका छौँ ।

यदि त्यस्तो हो भने त्यो गलत हो । हामी चाहन्छौँ कि यो गठबन्धन मुलुकमा स्थिरताका लागि, संविधानको स्थायित्वका लागि कायम रहोस् र यसमा सबैको सहभागिता होस् । यसलाई अझै बलियो बनाइयोस् । र यही गठबन्धनमा हामी रहन्छौँ ।

गठबन्धन भनेको नेपालमा राजनीतिक ध्रुवीकरण हो । विगतमा चुनाव सकेपछि गठबन्धन बन्थ्यो, अहिले चुनावमै गठबन्धन बनेको छ । नेपालका लागि यो नयाँ अभ्यास हो । त्यसैले यो गठबन्धनमा सबै रहुन् भन्ने हाम्रो चाहना हो । कसैले कसैलाई निषेध गर्न मिल्दैन । हामीले पनि अर्को समाजवादी गठबन्धन बनाउने कुरा भएको छ । एउटै चुनाव चिह्न, एउटै घोषणापत्रमा निर्वाचनमा जान सक्ने अवस्था तयार भइरहेको छ । र, यो समाजवादी गठबन्धन पनि त्यही पाँच दलीय गठबन्धनभित्र रहन्छ ।​

एक्लाएक्लै चुनाव लड्न किन डराइरहेका छन् पार्टीहरु ?

यो मुलुकलाई गठबन्धनले नै बचाएका कारण आगामी दिनमा पनि सँगसँगै जाउँ भनेर यो गठबन्धनलाई निरन्तरता दिइएको हो । जतिबेला दुई पटक संसद विघटन भएको थियो । त्यतिबेला एउटा मात्र दलले सक्ने अवस्था थिएन । सबै दल एक ठाउँमा आएपछि मात्र मुलुकलाई बचाउन सम्भव भएको हो ।

संविधानमा निर्वाचन प्रणालीको जुन व्यवस्था छ, त्यो अनुसार कुनै पनि दलले एक्लै सरकार बनाउन सक्दैन । देशमा नयाँ अभ्यास अनुसार चुनावअघि नै गठबन्धन बनिरहेको छ । यो पनि देशको रक्षा र पहिचानका लागि ठिक छ । मुलुकको शक्ति सन्तुलनको हिसाबले यो गठबन्धन वाम र प्रजातान्त्रिक शक्तिको गठबन्धन हो । मुलुकलाई निकास दिन यो गठबन्धन आवश्यक छ र त्यसैको आधारमा अगाडि बढिरहेको छ ।

एउटै चुनाव चिन्ह, एउटै घोषणापत्र लिएर विभिन्न पार्टीले चुनावमा भाग लिएपछि ती दलहरुले पार्टी नै एकता गरे हुन्न र ?

यो नयाँ कुरा होइन । विगतमा पनि एउटै चिह्न लिएर चुनावमा गएका उदाहरण छन् । मुद्दा र विचार मिल्छ भने विभिन्न पार्टीहरु एउटै चुनाव चिह्नबाट निर्वाचनमा भाग लिन सक्छन् । संवैधानिक व्यवस्थाका कारण धेरै पार्टीको अवस्था थ्रेसहोल्डका कारण राम्रो देखिँदैन ।​

अहिले कसका विरुद्ध गठबन्धन बनाउने तयारी भइरहेको हो ?

यो गठबन्धन कसैको विरुद्धमा होइन । संविधान बचाउन, अवैधानिक कदमको विरुद्धमा यो गठबन्धन बनेको हो । यो नेपाली जनताको हितका लागि बनिरहेको छ ।

यो नयाँ प्रयोग हो । विशेष परस्थितिले निर्माण भएको हो । कसैले सोचेको थिएन कि गठबन्धन बनाएर सरकार चलाउँछन् तर परस्थिति निर्माण भयो, गठबन्धन बन्यो र सरकार बन्यो ।​

एमाले ठूलो शक्ति बन्यो भनेर उसलाई साइजमा ल्याउन  दलहरुबीच तालमेल हुन थालेको होइन र ?

होइन, यो गलत कुरा हो । यो एमालेविरुद्धको गठबन्धन नै होइन । मुलुकको रक्षाका लागि, संविधानको रक्षाका लागि यो गठबन्धन बनेको हो । यो कुनै दल विशेषको विरुद्धमा होइन ।​

त्यसो भए यो पाँच दलीय गठबन्धनमा एमाले आउनसक्छ ?

गठबन्धनमा आउने या नआउने कुरा एमालेले नै तय गर्ने हो । कुनै पार्टीका लागि निषेध गरिएको गठबन्धन होइन । जुन पार्टीको विचार र एजेण्डा मिल्छ, ती सबै पार्टी एक ठाउँमा आउनसक्छन् । यदि एमाले हाम्रो विचार र एजेण्डासँग सहमत हुन्छ भने यो गठबन्धनमा आउन सक्छ । तर एमाले आफैमा स्पष्टचाहिँ हुनुपर्छ ।

विगतमा एमालेले जेजस्तो गल्ती ग¥यो, त्यसको आत्मालोचना गर्नुपर्छ । एमालेकै गल्तीका कारण यो गठबन्धन बनेको हो । त्यही गठबन्धनमा आउन उसले आफ्ना गल्ती स्वीकार गरी आत्मालोचना गर्नुपर्छ । तर यही गठबन्धनभित्रै उतार चढाव छ । यहीँ छेकवार भइरहेको छ । लोसपा आउनु हुँदैन, नेसपा आउनु हुँदैन भनेर निषेधको राजनीति सुरु गरेको छ । यो गलत प्रवृति हो ।​

चुनावकै मुखमा नयाँ पार्टी बनाउनुभयो, चुनावमा यो पार्टी कसरी अगाडि बढ्छ ?

हामी यही पाँच दलीय गठबन्धनमा सहभागी भएर चुनावमा भाग लिन्छौँ । हामी आफ्नो पहिचान, क्षमताको आधारमा चुनावमा माग लिन्छौंँ । मुद्दा र एजेण्डा मिल्नेसँग हामी एउटै घोषणापत्र बनाउँछौँ ।​

गठबन्धनमा तपाईहरुलाई सामेल गरिएन भने एक्लै भए पनि चुनावमा जानुहुन्छ ?

कसैले लिने नलिने कुरा नै आउँदैन । हामी यही गठबन्धनमा छौँ । यो गठबन्धनमा हाम्रो हस्ताक्षर छ । गठबन्धन बनाउन हाम्रो मेहनत लागेको छ । गठबन्धन बनाउन हाम्रो पनि योगदान छ भने कसैले लिने नलिने कुरा हुँदैन ।

हामी यही गठबन्धनमा छौँ । जसले गठबन्धनमा आउन नदिन चुकुल लगाउँछ, उसले जनतालाई जवाफ दिनुपर्छ । कसैलाई मन लाग्यो भने राख्ने, कसैलाई मन लागेन भने नलिने भन्ने कुरा हुँदैन । गठबन्धनको संस्थापकमध्ये एक हामी पनि हौं ।​

यो नेसपा राष्ट्रिय पार्टी हो कि क्षेत्रीय पार्टी ?

यो राष्ट्रिय स्वरुपको पार्टी हो । हाम्रो चिन्तन, हाम्रो सोच, हाम्रो एजेण्डा, हाम्रो विचार सबै राष्ट्रिय सोचको छ । नेसपा कस्तो पार्टी बन्छ, त्यो निर्वाचनपछि थाहा हुन्छ ।​

तपाईले आफ्नो क्षेत्र (सर्लाही–२) मा एउटा पनि पालिका जिताउन सक्नु भएन, अनि त्यो क्षेत्रबाट चुनाव जित्छु भनेर कसरी भन्नुहुन्छ ?

सुरुमा जित्ने मेयरलाई भगाउने काम जसपाका शीर्ष तहबाटै भयो । कौशल यादवलाई भगाउने काम उपेन्द्रजीले गर्नुभएको हो । मेरो क्षेत्रका रामनरेश राय यादवलाई मन्त्रीबाट उपेन्द्र यादवले सुनियोजित रुपमा हटाउनु भएको हो नि त । सबै टिकटमा माथिबाटै धाँधली भयो । पूर्व राजपालाई हराउने षड्यन्त्र माथिबाटै भयो ।

त्यसको छानबिन हुनुपर्छ भनेर मैले पार्टीमा पनि कुरा उठाएको थिएँ । त्यहाँ कसैको कारणले पालिकाहरुमा हारियो । त्यसको दोषी को हुन्, त्यसलाई कारबाही किन गरिएन ? यदि म दोषी हुँ भने मलाई पनि कारबाही गर्नुपर्छ । मैले पटकपटक ती कुरा उठाएको थिएँ । तर पार्टी त्यसमा मौन बसिदियो । त्यहाँका पालिका हारेको होइन, पार्टीको शीर्ष तहबाट षड्यन्त्र गरेर हराइएको हो, त्यसको प्रमाण मसँग छ ।

काँग्रेसको जम्मा २४ हजार भोट छ, जसपाको १९ हजार भोट छ । पार्टीभित्रकै अन्तरघातका कारण धेरै ठाउँमा हाम्रा साथीले चुनाव जित्न सकेनन् । अहिले पनि त्यहाँका जनता नेसपाका साथमा छन् । मैले गरेको सेवा, मैले गरेको विकासका कारण त्यहाँका जनताले मलाई नै रोज्छन् भन्ने मलाई पूर्ण विश्वास छ ।

मैले आफ्ना जनतालाई भनिसकेको छु कि यो चुनाव मेरो अन्तिम हो । अब उमेर पनि साथ दिँदैन । यसपछि चुनावी राजनीति नगर्ने, तपाईहरुले जसलाई भन्नुहुन्छ त्यसलाई नै सहयोग गर्छु भनेको छु । जनताले मलाई साथ दिने भन्नुभएको छ ।​

तपाई आफ्नो क्षेत्रको नेता आफै हुनुहुन्छ, तपाईको क्षेत्रमा पाँच वटा पालिका छन्, एउटा पनि पालिका जिताउन सक्नु भएन, अनि दोष उपेन्द्र यादवलाई दिएर हुन्छ त ?

हामीले रोजेको मान्छेलाई टिकट नदिएर उहाँहरुले आफ्ना मान्छेलाई टिकट दिनुभयो । पूर्व राजपाका कोही उम्मेदवार छन् भने त्यसलाई उपेन्द्र यादवको तर्फबाट सहयोग भएन । रामनरेश राय यादवका छोरालाई जानीजानी हराउने काम भयो । कौशल यादवलाई भगाउने काम भयो । यी सब काम षड्यन्त्रपूर्वक भयो ।​

भविष्यमा जसपासँग नेसपाको कस्तो सम्बन्ध हुन्छ ?

–जसपाबाट हामी बाध्यात्मक अवस्थामा अलग भयौँ । उपेन्द्र यादवको स्वेच्छाचारिताको कारण, गलत प्रवृत्तिको कारण हामी अलग भएका हौँ । त्यो जसपा बनाउने मुख्य व्यक्तिमध्येकै मै हुँ । मैले नचाहेको भए त्यो जसपा बन्नेवाला थिएन । जसपा बनाउँदा पूर्व राजपाका नेताहरुले ममाथि ठूलो टिकाटिप्पणी गर्नुभएको थियो । तै पनि देशको हितमा, समग्र मधेसको हितमा मैले रिस्क लिएर त्यो गठबन्धन बनाएको हुँ ।

महन्थ ठाकुरहरुले विद्रोह गर्दा हामी केही पूर्व राजपाका साथीहरुले साथ नदिएको भए जसपा उपेन्द्र यादवको हातमा रहने थिएन । मलाई सबैले भन्दै थिए कि जसपामा तपाई नजानुस्, उपेन्द्र यादवसँग तपाईको कुरा मिल्दैन, उहाँसँग कोही बस्न सकेन ।

मैले मधेसको अधिकार र पहिचानका लागि भए पनि सबै एक ठाउँ आउनुपर्छ भनेर उपेन्द्र यादवलाई साथ दिएँ । तर उहाँले त्यो पीडा बुझ्न सक्नु भएन । जसपासँग भविष्यमा कस्तो सम्बन्ध रहन्छ, त्यो उपेन्द्र यादवको क्रियाकलाप र व्यवहारमा भर पर्छ । अहिले नै गठबन्धनमा लोसपा र नेसपाका लागि उपेन्द्र यादवले चुकुल लगाउने काम गरिरहनु भएको छ, त्यो कुराले नै उहाँको व्यवहार र चरित्र प्रस्ट भएको छ ।

 

तपाईहरु काँग्रेस, माओवादी, एमालेलगायतका दलसँग गठबन्धन बनाउन लुछाचुँडी गरिरहनु भएको छ तर मधेसमा पनि थुप्रै पार्टी छन्, ती दलहरुको बीचमा गठबन्धन बनाउन किन पहल भइरहेको छैन ?

हामी चाहन्छौँ मधेसमा रहेका सबै दल एक ठाउँमा आउन् । मधेसमा छुट्टै चुनावी मोर्चा बनोस् । खासगरी विगतमा विभिन्न कारणले अलग भएका लोसपा, जसपा, नेसपा एक ठाउँमा आउनुपर्छ । त्यस्तै, अन्य दलहरु जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, तमलोपा, जनता प्रगतिशील पार्टीलगायतका दलहरु पनि एक ढिक्का हुनुपर्छ ।

र, मधेसमा एक भएर चुनावमा जानुपर्छ । तर, उपेन्द्र यादवले त्यो चाहनु भएको छैन । पाँच दलीय गठबन्धनमा जानेहरुका लागि चुकुल लगाउने काम उहाँले गरिरहनु भएको छ भने मधेसमा झन् मिल्न दिने अवस्था नै छैन । तै पनि हामी त्यसका लागि प्रयास गरिरहेका छौँ ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप