शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रमुख तीन पार्टीबाट क–कसको छ चुनावी मैदानमा ‘डेब्यू’को तयारी ?

सोमबार, ३० साउन २०७९, ०९ : २७
सोमबार, ३० साउन २०७९

प्रमुख राजनीतिक दलका युवा नेताहरु आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा जबरजस्त उपस्थिति जनाउने तयारीमा छन् । राजनीतिमा युवा पुस्ताको आकर्षण बढ्दै गएको समयमा मुख्यतः नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका युवा नेताहरु संघीय संसदमा इन्ट्री मार्न चुनावी मैदानमा उत्रिने गृहकार्यमा देखिन्छन् ।

काँग्रेस, एमाले र माओवादीबाट कयौँ युवा नेता प्रत्यक्ष चुनावी मैदानमा डेब्युको तयारीमा छन् । उनीहरु टिकटका लागि लबिङका साथै निर्वाचन क्षेत्रमा चुनावी माहोल बनाउन खटिसकेका छन् ।

काँग्रेसबाट दर्जनभन्दा बढी नेता डेब्यूको तयारीमा

काँग्रेसबाट गोविन्द भट्टराई, प्रदीप पौडेल, कल्याण गुरुङ, जितजङ्ग बस्नेत, नैनसिंह महर, प्रतिमा गौतम, कुन्दन काफ्ले, अजय सिवाकोटी, दिनेश कोइराला, नानु बास्कोटा, भुपेन्द्रजङ्ग शाही, डिल्लीराम सुवेदी, रन्जित कर्ण लगायतका युवा नेता संघीय संसदको निर्वाचनका लागि डेब्यूको तयारीमा छन् ।

काँग्रेस केन्द्रीय सदस्य भट्टराई तनहुँ–१ बाट चुनाव लड्ने तयारीमा छन् । तनहुँ–१ काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको निर्वाचन क्षेत्र हो । वरिष्ठ नेता पौडेल यो क्षेत्रबाट उम्मेदवार हुने अवस्थामा भट्टराईले अन्य निर्वाचन क्षेत्र रोज्नुपर्ने हुन्छ । भट्टराई ०७४ मा प्रदेशसभा सदस्यमा पराजित भएका थिए ।

यस्तै तनहुँ निवासी काँग्रेस नेता प्रदीप पौडेल पनि संघीय संसद छिर्ने कसरतमा छन् । उनी तनहुुँ–२ बाट उम्मेदवार बन्ने गरी तयारीमा जुटेको देखिन्छ । यद्यपि पौडेलले तनहुँ–२ को विकल्पमा काठमाडौं–५ वा ७ नम्बर निर्वाचन क्षेत्रबाट पनि उम्मेदवार बन्न सक्ने चर्चा छ ।

काँग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङ महोत्तरी–१ बाट निर्वाचन लड्ने योजनामा छन् । यस्तै केन्द्रीय सदस्य जितजङ्ग बस्नेत ललितपुर–३ बाट चुनाव लड्ने गरी अगाडि बढेका छन् । काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर पनि संघीय सांसदको दौडमा देखिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरा निवासी महरले काठमाडौं– ५ मा सशक्त दाबेदारी राखेको पाइन्छ । यसको विकल्पमा महर कैलाली–४ बाट चुनाव लड्ने चर्चा पनि छ ।

काँग्रेस नेतृ प्रतिमा गौतम काठमाडौं–२ बाट उम्मेदवारीका लागि दाबी गर्दैछिन् । काठमाडौं–२ बाट नेकपा एकीकृत समाजवादीका नेता माधव नेपालले प्रतिनिधित्व गर्दै आएका छन् । नेता नेपाल रौतहट–१ बाट चुनाव लड्ने चर्चापछि गौतमले काठमाडौं–२ मा दाबी गरेकी हुन् ।

यस्तै काँग्रेस नेता कुन्दन काफ्ले पनि संघीय सांसदका लागि तीव्र लबिङमा छन् । उनले दोलखाबाट संघीय सांसदको उम्मेदवार बन्ने इच्छा देखाएका छन् ।

काँग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी पनि दोलखाबाट चुनाव योजना बनाइरहेका छन् । सत्ता गठबन्धनको सिट बाँडफाँटमा काँग्रेसको भागमा दोलखा परे नेपाल प्रेस युनियनका पूर्वमहासचिव समेत रहेका सिवाकोटी चुनावी प्रतिस्पर्धामा उत्रिने तयारीमा छन् । दोलखाबाट चुनाव लड्दै आएका जिपछिरिङ लामाले चुनाव नलड्ने बताएपछि काँग्रेसबाट सिवाकोटी सशक्त दाबेदार देखिएका छन् ।

काँग्रेस केन्द्रीय सदस्य दिनेश कोइराला चितवन–३ बाट चुनाव लड्ने चर्चा छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्र समेत रहेको चितवन–३ मा कोइरालाले पनि आकांक्षा राखेका हुन् ।

यस्तै काँग्रेस केन्द्रीय सदस्य नानु बास्तोला पनि चुनावी तयारीमा जुटेकी छन् । उनले काठमाडौं–९ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारीका लागि तयारी तीव्र पारेकी छन् ।

काँग्रेस युवा नेता भुपेन्द्रजङ्ग शाही कालिकोटबाट चुनाव लड्ने तयारीमा छन् । ०७० र ०७४ सालमा पनि उनी कालिकोटबाट उम्मेदवार बनेका थिए । यसपटक पनि उनी कालिकोटबाटै चुनाव लड्ने योजनाका साथ अगाडि बढेका छन् ।

यस्तै काँग्रेसका युवा नेता डिल्लीराम सुवेदीले पनि प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने गृहकार्य थालेका छन् । उनी बाग्लुङ–२ बाट चुनाव लड्ने तयारीमा छन् । यस्तै काँग्रेस नेता रन्जित कर्णले पनि संघीय निर्वाचन लड्ने सोच बनाएका छन् । उनी सप्तरीबाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा छन् ।

एमालेबाट को–को ?

एमालेबाट ठाकुर गैरे, माधव ढुंगेल, विष्णु रिजाल, सूर्य थापा, निरज आचार्य, रुपनारायण श्रेष्ठ, ऐन महर, किशोर विक्रम मल्ल, दुर्गा प्रसाई लगायतले संघीय संसदमा इन्ट्री मार्ने तयारी गरेका छन् ।

एमाले नेता गैरे पाल्पा–२ बाट निर्वाचन लड्ने तयारीमा छन् । एमाले नेता माधव ढुंगेल रामेछापबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने तयारीमा छन् । विष्णु रिजाल दैलेख–२ बाट प्रतिनिधिसभामा उम्मेदवार बन्ने तयारीमा जुटेका छन् । एमालेका पोलिटब्युरो सदस्य सूर्य थापा प्युठानबाट चुनाव लड्ने चर्चा छ ।

एमालेका नेता निरज आचार्य पनि पहिलोपटक चुनावी मैदानमा उत्रिने योजनामा छन् । उनी जाजरकोटबाट संघीय सांसदका लागि प्रत्यक्ष निर्वाचनको तयारी गर्दैछन् । यस्तै एमाले केन्द्रीय सदस्य रुपनारायण श्रेष्ठ काठमाडौं–१ बाट चुनाव लड्ने चर्चा छ ।

युवा नेता ऐन महर पनि संघीय संसदमा प्रवेशका लागि गृहजिल्ला बझाङमै केन्द्रित छन् । महरले बझाङबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने गरी तयारी गरिरहेका छन् । एमालेका केन्द्रीय सदस्य किशोर विक्रम मल्लले स्याङ्जा–२ बाट प्रतिनिधिसभा चुनाव लड्ने तयारी गरेका छन् । यस्तै एमालेमा नवप्रवेशी दुर्गा प्रसाईँ पनि संघीय सांसद बन्ने दौडमा छन् । उनी झापा–३ बाट चुनाव लड्ने चर्चा छ ।

माओवादीबाट यी १६ जना डेब्युको तयारीमा

माओवादीबाट युवा नेताहरु लेखनाथ न्यौपाने, रञ्जित तामाङ, राजदीप आचार्य, युवराज चौलागाई, हिमाल शर्मा, ओम शर्मा, रामप्रसाद सापकोटा दिपशिखा, निर्मल आचार्य, हेमराज शर्मा, रमेश मल्ल (सल्यान), नरेन्द्र न्यौपाने, वामदेव क्षेत्री, राजकुमार शर्मा, नारायणी शर्मा र गंगा कार्की आकांक्षी छन् ।   

माओवादीका नेता लेखनाथ न्यौपाने पहिलो पटक संघीय निर्वाचन लड्ने तयारीमा छन् । न्यौपानले गोरखा–२ बाट चुनाव लड्ने योजना बनाएको सुनिन्छ । यस्तै माओवादीका केन्द्रीय सदस्य रञ्जित तामाङले एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ बाट चुनाव लड्ने घोषणा गरेका छन् । 

माओवादी केन्द्रका नेता राजदीप आचार्य पनि चुनाव लड्ने तयारीमा छन् । उनी जाजरकोटबाट चुनाव लड्ने चर्चा छ । यस्तै अनिल शर्माले काडमाडौं–१ बाट चुनाव लड्ने तयारी थालेका छन् । ०७४ मा वाम गठबन्धनबाट काठमाडौं–१ मा उम्मेदवार बनेका उनी यसपटक पनि चुनाव लड्ने योजनामा छन् ।

यस्तै माओवादी केन्द्रका नेता हिमाल शर्मा काठमाडौं–६ बाट चुनाव लड्ने चर्चा छ भने नेता युवराज चौलागाईले रामेछापबाट चुनाव लड्ने तयारी थालेको पाइन्छ ।

माओवादी केन्द्रका नेता ओम शर्मा धादिङ–२ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा छन् । यस्तै माओवादी केन्द्रका युवा नेता रामप्रसाद सापकोटा ‘दिपशिखा’ पनि संघीय सांसद बन्ने तयारीमा जुटेका छन् । उनी सिन्धुपाल्चोकबाट उम्मेदवार बन्न खोजेको बुझिएको छ ।

दाङ–२ मा माओवादी केन्द्रका नेता निर्मल आचार्य र हेमराज शर्मा दाबेदार देखिएका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य रमेश मल्ल पनि चुनावी तयारीमा जुटेका छन् । उनी सल्यानबाट संघीय सांसदको चुनाव लड्ने चर्चा छ ।

यस्तै नेता नरेन्द्र न्यौपाने बाँकेबाट चुनाव लड्ने तयारीमा छन् भने वामदेव क्षेत्री रुपन्देहीबाट चुनावी प्रतिस्पर्धामा उत्रिने चर्चा छ । यस्तै राजकुमार शर्मा रुकुम पूर्व, नारायणी शर्मा दाङ–१ बाट, गंगा कार्की दोलखाबाट उम्मेदवार बन्न आकांक्षी देखिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप