शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय पुरुषसँग लिभिङ टुगेदर बसेर जुनमाईले सिकिन् लागूऔषध कारोबार

भिण्डी र झिँगनीको बोरामा लागूपदार्थ
सोमबार, ३० साउन २०७९, ०९ : ५८
सोमबार, ३० साउन २०७९

काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८  स्थित बेसिगाँउमा बस्दै आएकी जुनमाई मोक्तान गत साउन १३ मा पक्राउ परिन् । ४० वर्षकी जुनमाई रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर–९ की स्थानीय हुन् । 

लागूऔषध नियन्त्रण ब्युरोका प्रहरी अधिकारीहरूले सर्च अपरेसन चलाउँदा जुनमाईको फ्ल्याटबाट प्रहरीले ३८४ ग्राम लागूऔषध खैरो हेरोइन बरामद गरेको छ । एक भारतीय पुरुषसँगको सङ्गतले जुनमाईले पनि लागूऔषध कारोबार गर्न थालेको अनुसन्धानबाट थाहा भएको ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विकाशराज खनालले रातोपाटीलाई बताए । 

भारतको पटना घर भएका पुरुषसँग जुनमाईको चिनजान काठमाडौँमा हुन्छ । चिनजान भएपछि ती पुरुषले फ्ल्याट भाडा तिरिदिन्छन् भने छोरीको पढाइ खर्च पनि दिन्छन् । सम्बन्ध झाँगिँदै गएपछि जुनमाई र भारतीय नागरिक लिभिङ टुगेदरमा बस्छन् । भारतीयसँग लिभिङ टुगेदरमा बस्न थालेपछि जुनमाईले लागूऔषधको काम गर्न सिकेको अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृतले रातोपाटीलाई बताए । 

भारतीय नागरिक नेपाल–भारत ओहोरदोहोर गरिरहन्थे । त्यस्तोमा जुनमायाले नेपालमा ती पुरुषले भनेको ठाउँमा गएर खैरो हेराइन ल्याउने र भनेका मानिसलाई ‘डेलिभरी’ दिन थालिन् । दुई वर्षदेखि उनीहरू मिलेर लागूऔषधको काम गरिरहेको अनुसन्धानबाट खुलेको बताउँछन् ब्युरोका डिएसपी फणीन्द्र प्रसाई । 

दुई वर्षदेखि उनीहरू लिभिङ टुगेदरमा छन् । भारतीयसँग पत्नीको सङ्गत थाहा पाएपछि जुनमाई र उनको पतिको डिभोर्स भैसकेको छ । जुनमाई आफ्ना श्रीमानसँग डिभार्स गर्न राजी भइन् तर, उनले लागूऔषधको कारोबार छाडिनन् । अहिले उनी लागूऔषध नियन्त्रण ब्युरोको हिरासतमा छिन् । 

असार ३२ पछि ब्युरोले खैरो हेरोइन कारोबारमा संलग्न जुनमाई सहित १२ जनालाई पक्राउ गरेको छ । असार ३२ मा ब्युरोले ताप्लेजुङको फुङलिङ घर भएका २७ वर्षीय राजकुमार तामाङ र ३५ वर्षीया सुशीला तामाङलाई ८ ग्राम हेरोइन सहित पक्राउ गरेको थियो । सुशीलालाई खैरो हेराइन दिने झापा घर भएकी २० वर्षीया सञ्चमाया तामाङ र ३१ वर्षीय मनिराज लिम्बु साउन १ मा पक्राउ परे । ४६ ग्राम हेरोइन सहित उनीहरू भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ स्थित लोकन्थलीबाट पक्राउ परेका हुन् । 

साउन १२ मा झापा घर भएका योगेश लिङ्देन, प्रेम हाङ सेलिङ, बझाङ घर भएका उपेन्द्र जाग्री र झापाको बुद्धशान्ति गाउँपालिका–४ घर भएका विदुर आङ्बोलाई पक्राउ गरेको थियो । उनिहरुको साथबाट प्रहरीले १४ ग्राम खैरो हेराइन बरामद गरेको छ । 

साउन १४ मा काठमाडौँ–३ बस्ने अनुज शाही, इलाम घर भएका दीपेश विश्वकर्मा र पाँचथरको फिदिम घर भएका काजीमान गुरुङलाई प्रहरीले पक्राउ गरेको थियो । असार ३२ यता पक्राउ परेका १२ जना आरोपीको साथबाट ४५९ ग्राम खैरो हेरोइन बरामद गरिएको ब्युरोले जनाएको छ ।

तरकारीको बोरामा लुकाएर भारतबाट काठमाडौँमा तस्करी 

लागूऔषध नियन्त्रण ब्युरोको टोली १ वर्षदेखि तरकारीको गाडीमा लुकाएर गरिने लागूऔषध तस्करीको निगरानीमा थियो । ‘धेरै पटक कालिमाटीस्थित तरकारी बजारमा गएर निगरानी गरेका थियौँ’ अनुसन्धानमा संलग्न डिएसपी फणीन्द्र प्रसाईं भन्छन्–‘तर, सफलता हासिल भएको थिएन ।’

ब्युरोलाई वर्ष दिनपछि सफलता हात लागेको छ । साउन १६ मा ब्युरोको टोलीले जडीबुटीमा प्रदेश–२–०३–००१ च २५०९ नम्बरको तरकारीको गाडी रोकेर जाँच गर्दा ९४७ बोतल डायलेक्स डिसी भेटिएको छ । डायलेक्स डिसीमा ‘कोडिन’ हुन्छ । खोकी लाग्दा प्रयोग गरिने सो औषधी नेपालमा ६० एमएल भन्दा माथिको बोतल प्रतिबन्धित छ । तर, लागूऔषध कारोबारीहरूले १०० एमएलको सिसी भारतबाट नेपाल ल्याउने गरेको अनुसन्धानबाट थाहा भएको छ । 

डायलेक्स डिसी तरकारीको बोरामा प्याक गरेर काठमाडौँ ल्याउँदै थिए, सर्लाहीको ईश्वरपुर नगरपालिका–६ घर भएका २१ वर्षीय विपिन कुसवाह उर्फ सन्तोष । रौतहट घर भएका प्रदेश–२–०३–००१ च २५०९ नम्बरको गाडीका चालक सुभाष राय यादव र सह–चालक मोहमद आसफाक आलमलाई ब्युरोको टोलीले पक्राउ गरेको छ । 

विपिन कुसवाहले सर्लाहीमा ४४ हजारको प्याज खरिद गरे । प्याज बिक्रेतालाई उनले भने–‘काठमाडौँ सम्म लैजाने गाडी चाहियो ।’ भाडामा कुरा मिलेपछि उनी प्याजको गाडी लिएर नेपाल भारत सिमानातिर लागे । ‘सिमानामा भारतबाट डाइसक्स डिसी लुकाएर प्याक गरेर ल्याएको ६ बोरा तरकारी गाडीमा लोडर गरेर विपिन काठमाडौँ आएको देखिन्छ’ एसएसपी खनाल भन्छन्–‘भिण्डी र झिँगनीको बोरा खेलेर हेर्दा लागूऔषध भेटियो ।’ 

प्रहरीका अनुसार नेपाल भारत सिमानाको सर्लाही स्थित पर्सा सिमानाकाबाट उनले सो लागूऔषध काठमाडौँ ल्याएका हुन् । सो सामान लिएर आउँदा विपिन सहितका ३ जना जडीबुटीमा पक्राउ परेका हुन् । 

ब्युरोले गरेको अनुसन्धानबाट विपिन कुशवाहले यसअघि ४ पटक सम्म भारतबाट काठमाडौँमा तरकारीमा लुकाएर डायलेक्स डिसिको तस्करी गरेको थाहा भएको छ । विपिनले सिन्धुपाल्चोक घर भई बेसीगाउँ बस्दै आएका मानबहादुर तामाङलाई डायलेक्स डिसी बेच्ने गरेका थिए । मानबहादुरको घरबाट प्रहरीले १२७ बोतल डायलेक्स डिसी बरामद गरेको छ । 

मानबहादुरले कागेश्वरी मनहरा नगरपालिका–९ मा बस्ने बस्ने किशोर चौलागाईंलाई लागूऔषध दिने गरेका थिए । पेप्सीकोला नजिकै चौलागाईंको डिलर थियो । सो समूहबाट लागूऔषध लिएर सुनसरीका युवराज खड्का र ताप्लेजुङको मेरिङदेन घर भएकी तुलसा खड्काले बजारमा बेच्ने गरेको अनुसन्धानबाट थाहा भएको छ । सो चेनमा संलग्न १० जनालाई पक्राउ गरिएको ब्युरोले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप