शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कमल थापाको रणनीति : राजेन्द्र लिङ्देनका मान्छे तान्ने, सीमित क्षेत्रमा चुनावी तालमेल गर्ने !

मंसिर ४ को चुनाव हाम्रो निम्ति अग्निपरीक्षा हो : कमल थापा
सोमबार, ३० साउन २०७९, २१ : २३
सोमबार, ३० साउन २०७९

राप्रपा नेपालले संघीय निर्वाचनअघि संगठन सुदृढीकरणलाई प्राथमिकता दिने भएको छ । यस्तै केही सीमित चुनावी क्षेत्रमा अन्य राजनीतिक दलसँग तालमेल गर्ने र बाँकी क्षेत्रहरुमा एकल रुपमा उम्मेदवार खडा गर्ने राप्रपा नेपालले नीति लिएको हाे । 

सोमबारदेखि राजधानीमा सुरु भएको राप्रपा नेपालको केन्द्रीय समिति बैठकमा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै अध्यक्ष कमल थापाले पार्टीको मुख्य अवधारणा, प्राथमिकता, रणनीति, कार्यनीति र कार्यदिशाबारे स्पष्ट गरेका हुन् । ‘सकारात्मक परिवर्तनका लागि राष्ट्रवादी शक्तिको निर्माण’ शीर्षको राजनीति प्रतिवेदनमा थापाले ‘सम्बर्द्धनवाद’ को मूलभूत मान्यता कायम राख्दै पार्टीको कार्यनीतिमा केही परिमार्जन गरिएको उल्लेख गरेका छन् । जसमा थापाले लोकतन्त्र, सनातन हिन्दुराष्ट्र, केन्द्र र स्थानीय गरी दुई तहको सरकार, जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, पूर्णसमानुपातिक निर्वाचन प्रणाली अब राप्रपा नेपालको मुख्य अवधारणा हुने उल्लेख गरेका छन् ।

यस्तै  सुशासन र आर्थिक समृद्धिलाई प्राथमिकतामा राख्दै भ्रष्टाचार निवारण एवं बेरोजगारी समस्याको समाधान पार्टीको प्रमुख कार्यनीति उल्लेख गरिएको छ। ‘नेपालको भूराजनीतिक अवस्था एवं धार्मिक, सामाजिक एवं सांस्कृतिक परिवेशमा चुनावी राजनीति भन्दा माथि उठेको सबैको नेपालीलाई मान्य हुने साझा अभिभावक एवं राष्ट्रिय एकताको प्रतीकको रूपमा संवैधानिक राजसंस्था सहितको शासकीय स्वरुप उपयुक्त हुनसक्छ’, थापाको प्रतिवेदनमा भनिएको छ, ‘ तर गत सोह्र वर्षको अभ्यास, देशको धरातलीय यथार्थ र जनभावनाको सम्मान गर्दै हाललाई राजसंस्था पुनःस्थापनाको एजेण्डा राप्रपा नेपालको कार्यनीति हुने छैन। तथापि यस विषयलाई पार्टी भित्र सैद्धान्तिक एवं प्राज्ञिक बहसको निम्ति खुला राखिने छ।’

थापाले पार्टी नयाँ भएकाले राप्रपा नेपाललाई पुनर्जागृत गर्नु भनेको शून्यबाट नयाँ अभियान प्रारम्भ गर्नु सरह भएको उल्लेख गरेका छन् । ‘राष्ट्रिय राजनीति ध्रुवीकृत हुँदै गएको तथा गठवन्धनको अभ्यासमा प्रवेश गरेको वर्तमान समयमा नयाँ पार्टी खोलेर अघि बढ्ने कुरा स्वभावतः अत्यन्त कठिन र जोखिमपूर्ण कार्य हो’, थापाले भनेका छन्, ‘सबैको सत्प्रयासबाट प्रसव वेदनाको प्रारम्भिक चरण पार गरी अब संगठन निर्माणको दोस्रो चरणमा प्रवेश गर्दैछौँ ।’

थापाले संसदीय चुनाव केही समय पछि भएको भए पार्टीका लागि सजिलो हुने उल्लेख गर्दै जेजस्तो भएपनि अब युद्धस्तरमा तयारी गरेर भाग लिनुपर्ने बताएका छन् । ‘यो चुनाव हाम्रो निम्ति अग्निपरीक्षा हो । जुन परीक्षामा अनुत्तीर्ण हुने सुविधा हामीलाई छैन । हामी निश्चितरुपले सफल हुन्छौ, यही आत्मविश्वासका साथ हामीले आवश्यक तयारी गर्नुपर्छ । केन्द्रीय कार्यसमितिको यो बैठक मुख्यरुपले यसै विषयमा केन्द्रित रहने छ ।’

थापाले राप्रपा अब कुन दिशातर्फ अघि बढ्छ भन्नेमा जिज्ञासा र कौतुहलता सबैमा रहेको उल्लेख गर्दै नयाँ ऊर्जाका साथ पार्टीलाई अघि बढाउन जरुरी रहेको पनि बताएका छन् । ‘पुनर्जागृत भएपछि अब राप्रपा नेपाल कुन दिशा तर्फ अघि बढछ, पार्टीको विचार र नीतिमा के कस्तो परिवर्तन हुनेछ भन्ने जिज्ञासा र कौतुहलता सबैमा रहेको पाइन्छ’, थापाको भनाइ छ, ‘कतिपयले अब राप्रपा नेपाल चल्दैन, पार्टीको कुनै भविष्य छैन भन्ने टिप्पणीहरू गरेको पनि सुनिन्छ । यस्ता सोचाइलाई गलत सावित गर्दै यस बैठकले पार्टीलाई थप उर्जा र स्पष्ट दिशा निर्देश गर्न सक्नु पर्दछ ।’

थापाले देश संकटग्रस्त रहेको अवस्थामा प्रमुख राजनैतिक दलहरु भित्र कायम रहेको सैद्धान्तिक विचलन, आन्तरिक विवाद एवं ह्रासोन्मुख नेतृत्व क्षमताको पृष्ठभूमिमा देशलाई अहिले एउटा बलियो वैकल्पिक प्रजातान्त्रिक शक्तिको आवश्यकता रहेको दाबी गरेका छन् ।  मुख्य राजनैतिक दलहरूको मूल्य र मर्यादाहिन राजनीति तथा निरन्तरको निरर्थक विवादले गर्दा देशमा लामो समय सम्म अस्थिरता र अराजकता कायम हुन गएको हुँदा नयाँ विकल्पको आवश्यकता महशुस हुन थालेको उनको जिकिर छ । राष्ट्रको सामुन्ने विद्यमान संकट समाधानका लागि राप्रपा नेपालले फेरि एकपटक विगतका कमिकमजोरीहरुबाट पाठ सिकेर नयाँ ढंगबाट अघि बढनु आवश्यक रहेको थापाको धारणा छ ।  

राप्रपाको प्राथमिकता–संगठन निर्माण
देशको वर्तमान अवस्थालाई दृष्टिगत गर्दै पार्टीलाई देशको अग्रणी शक्ति बनाउने क्रममा संगठन निर्माण, जनमुखि कार्यक्रम र चुनावको तयारी प्राथमिकतामा रहने थापाको भनाइ छ ।  जसअनुसार राप्रपाले संगठन निर्माणमा जोड दिएको छ । राप्रपा महामन्त्री राजाराम बर्तौलाका अनुसार भाद्र मसान्तभित्र देशका सम्पूर्ण गाउँपालिका र  नगरपालिकाका वडाहरूमा पार्टी संगठनको इकाई समितिहरूको गठन तथा पुनर्गठन गर्ने थापाको प्रतिवेदनमा उल्लेख छ । यस्तै असोज मसान्तभित्र सम्पुर्ण जनवर्गीय संगठनहरुको गाउँपालिका र नगरपालिकाहरूमा ईकाईहरु खडा गर्ने  कार्तिकभित्र सबै स्थानीय तहमा प्रशिक्षण कार्यक्रम संचालन गरिनेछ । 

यस्तै भाद्र अन्तिम हप्तामा मेची–काली राष्ट्रिय स्वाभिमान यात्रा’ संचालन गर्ने, असोज ५ देखि ८ गतेसम्म ‘जनताको माझमा राप्रपा नेपाल’  अभियान अन्तर्गत देशव्यापी घरदैलो कार्यक्रम संचालन गर्ने तयारी गरिएको छ । जनताको माझमा राप्रपा नेपाल अन्तर्गत देशका महानगर, उपमहानगर र नगरपालिकामा ‘वर्तमानका चुनौति र विकल्प’ विषयमा स्थानीय बुद्धिजीवि एवं समाजका विभिन्न वर्ग र पेसाका प्रतिनिधिहरूसँग अन्तर्क्रिया कार्यक्रम संचालन गरिनेछ । 

निर्वाचनको तयारी कस्तो ?
राप्रपाले भाद्र मसान्त भित्र सबै पालिकाका वडाहरूमा पार्टी इकाई समितिहरु गठन कार्यलाई युद्धस्तरमा कार्यान्वयन गर्नेछ भने कात्तिक १५ भित्र सबै निर्वाचन बुथमा ‘बुथ कमिटि’ गठन गरिने छ । यस्तै भाद्र मसान्तभित्र सम्बन्धित तहका अध्यक्षको अध्यक्षतामा निर्वाचन परिचालन समिति गठन गरिने भने जिल्ला कार्यसमितिको सिफारिश सहित प्रदेश कार्यसमितिले भाद्र २५ सम्ममा प्रदेशसभा र प्रतिनिधिसभाका प्रत्यक्ष र समानुपातिक दुवै तर्फका उमेदवारहरूको नाम केन्द्रमा पठाउनुपर्ने डेडलाइन तय गरिएको छ ।

यस्तै केन्द्रिय कार्यसम्पादन समितिले संसदीय बोर्डको सिफारिशमा भाद्र मसान्तभित्र सम्पूर्ण उमेदवारहरूको नामावली टुङ्गो लगाउने थापाको प्रतिवेदनमा उल्लेख छ । यस्तै तालमेलबारे थापाले प्रतिवेदनमा भनेका छन्, ‘प्रदेशसभा र प्रतिनिधिसभाका केही सिमित क्षेत्रहरुमा अन्य राजनीतिक दलसँग चुनावी तालमेल गरिने छ । तालमेल नभएका बाँकी सबै क्षेत्रमा राप्रपा नेपालले उमेदवार खडा गर्नेछ ।’ यसबाहेक राप्रपाले संगठन सुदृढिकरण, निर्वाचन तयारीको समिक्षा र निर्वाचन घोषणापत्र तयारीका लागि असोज १ र २ गते वीरगंजमा पार्टीको वृहत राष्ट्रिय भेला आयोजना गर्ने पनि जनाएको छ । 

राजेन्द्रका नेता कार्यकर्ता तान्ने नीति !
थापाले पूर्वपार्टी राप्रपाका नेता कार्यकर्ता तान्ने नीति पनि लिएका छन् । थापाको प्रतिवेदनमा भनिएको छ, ‘राप्रपा नेपाललाई राष्ट्रको अग्रणी राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको रुपमा स्थापित गर्न समान विचारधारा भएका व्यक्ति, समुह र दलहरूसँग एकता र सहकार्य गर्ने नीतिलाई आगामी दिनमा राप्रपा नेपालले अवलम्बन गर्नेछ । खासगरी विगतमा सँगै काम गरेका साथीहरुलाई एकतामा आउन हामी आह्वान गर्दछौं ।’ थापाले विगतमा सँगै काम गरेकाहरु अहिले अधिकांश राप्रपामा रहेका छन् । उनीहरुलाई तानेर चुनावअघि नै पार्टीमा भित्र्याउने थापाको रणनीति छ । हाल राप्रपाको अध्यक्ष राजेन्द्र लिङ्देन रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप