शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कोठा खोजिदिने भन्दै हाम्रो बजारमा विज्ञापन, पैसा लिएपछि मोबाइलको स्वीच अफ !

सोमबार, ३० साउन २०७९, १५ : ४६
सोमबार, ३० साउन २०७९

गुल्मी घर भई काठमाडौँ बस्ने माया पाण्डेलाई मैतीदेवी आसपासमा कोठा चाहिएको थियो । आफैँ भौँतारिनु भन्दा अनलाइनमै हेरौँ भनेर हाम्रोबजार डटकम सर्च गरिन् । उनले खोजेको जस्तै कोठा सस्तो मूल्यमा पाइन् त्यो पनि मैतीदेवीमै । एउटा कोठा र एउटा किचन र बाथरुम भएको कोठा मासिक १० हजार रुपैयाँमै पाइने विज्ञापन हाम्रो बजारमा देखिन् । 

हाई भिजन नाम दिइएको कम्पनीबाट पोष्ट गरिएको उक्त विज्ञापनमा नम्बर दिइएको छ, ९८२०६२९५१६ । मायाले त्यही नम्बरमा सम्पर्क गरिन् । एक महिलाले फोन उठाइन् र कोठा रहेको जानकारी दिइन् । मासिक भाडा १० हजार रुपैयाँ लाग्ने र सर्भिस चार्ज भनेर एउटा फारम भरेर ५ सय रुपैयाँ दिनुपर्ने बताइन् । त्यसपछि मात्रै घरधनीको नाम र फोन नम्बर पाइने बताइन् । 

मायाले एउटा फारम भरेर अनलाइनबाटै ५ सय रुपैयाँ ती महिलाले भनेको नम्बरमा तिरिन् । मायाले ९७४६४९००५६ नम्बरमा ममता चपाइ भन्ने व्यक्तिको नाममा दर्ता भएको इसेवामा साउन ३० गते बिहान ९ बजे ५ सय रुपैयाँ ट्रान्सफर गरिदिइन् । 

तर रकम पठाए लगत्तै घरधनीको नम्बर पठाउँछु भनेकी ती महिलाले त्यसपछि मायाको नम्बर ब्लक लिस्टमा राखिदिइन् । पटकपटक सम्पर्क गर्दा पनि ती महिलाले मायाको फोन उठाइनन् । जब मायाले अर्को नम्बरबाट सम्पर्क गरिन् र कोठा खोजीको लागि फोन गरेको बताइन्, ती महिलाले फेरि त्यही कोठा छ भन्दै पहिले ५ सय रुपैयाँ पठाउन भनिन् । तर मायाले आफू पहिले नै पैसा पठाइसकेको व्यक्ति भएको र थप पैसा नपठाउने तर कोठा किन नदेखाएको भन्दै गाली गरेपछि ती महिलाले अर्को नम्बर दिइन् । तर उक्त नम्बरमा पनि फोन नै लागेन । 

त्यसपछि ती महिलाले मायाको सबै नम्बर नै ब्लक गरिदिइन् । मायाले उक्त ठगीको विषय रातोपाटीलाई जानकारी गराएपछि रातोपाटीले ९८२०६२९५१६ नम्बरमा सम्पर्क गर्दा आफूहरूको कम्पनी रुम फाइन्डर नेपाल रहेको बताइन् । आफूहरूको अनलाइन अफिस डिल्लीबजारमा रहेको र कम्पनीको कार्यालय बालाजुमा रहेको बताइन् । बालाजु कहाँनेर कार्यालय छ भनी सोध्दा उनले म अर्को नम्बर दिन्छु भन्दै पन्छिइन् । पछि आफू रातोपाटीबाट फोन गरेको र तपाइहरूले ठगेको विषय आएको छ के हो भनी सम्पर्क गर्दा त्यस्तो त हुन नपर्ने म अर्को नम्बर दिन्छु कुरा गर्नुहोस् भनिन् । त्यसपछि न उनले अर्को नम्बर पठाइन्, न दोस्रोपटक फोन उठाइन् । बरु रातोपाटीको नम्बरसमेत ब्लक लिस्टमा राखिदिइन् । 

इसेवा भन्छ, ‘पाँचसयको पेमेण्ट धेरै देखिन्छ, पैसा आउने बित्तिकै झिकिएको छ’

यस विषयमा पैसा जम्मा गर्न लगाउने ९७४६४९००५६ नम्बरको इसेवा आइडी कसको नाममा दर्ता छ र रकम कति जम्मा छ भनी इसेवालाई सम्पर्क गर्दा इसेवाले खातामा रकम नै नरहेको बताएको छ । इसेवाका एक प्रतिनिधिले रातोपाटीलाई भने, ‘यो इसेवा अकाउण्टमा रकम त जम्मा भएको देखिन्छ, तर रकम आउने बित्तिकै विथड्रल भएको छ । यस खातामा पटकपटक पाँचसय रुपैयाँ डिपोजिट भएको छ तर रकम आउने बित्तिकै झिकिएको छ । अहिले खातामा रकम नै छैन ।’

प्रहरी भन्छ, ‘ठगी बढेको छ, कारबाही गर्छौ’

यस विषयमा उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी कृष्ण कोइरालाले यस प्रकारको ठगी बढेको बताएका छन् । कोठा खोजिदिने वा जागिर दिने नाममा विभिन्न कम्पनीहरूले ठगी गरिरहेको बताउँदै त्यसका लागि सेवाग्राही नै बढी सजग हुनुपर्ने एसपी कोइरालाले बताए । 

कोइरालाले भने, ‘कोठा खोजिदिने वा जागिर दिलाइदिने नाममा पटकपटक ठगी भएको छ । कोठा देखाइदिने भन्दा पहिले नै पाँचसय रुपैयाँ लिने र त्यसपछि सम्पर्कविहीन हुने धेरै देखिएको छ । खल्ती वा इसेवामा पैसा हाल्न लगाउँछन् । पैसा हालेपछि ब्लक गरिदिने वा सम्पर्कविहीन हुने समस्या बढेको छ । पाँचसय त हो नि भनेर मानिसहरू उजुरी गर्न पनि आउँदैनन् । त्यसपछि उनीहरूले अर्को मोबाइल नम्बर परिवर्तन गर्छन् । जसका कारण अनुसन्धान र अपराध नियन्त्रणमा पनि समस्या परिरहेको छ ।’

एसपी कोइरालाका अनुसार मोबाइल सेवा प्रदायकले प्रयोगकर्ताको पहिचान राम्रोसँग नगरीकनै सिमकार्ड वितरण गर्ने र इसेवा, खल्तीजस्ता मोबाइल वालेटले पनि वास्तविक ग्राहकको पहिचान नगर्ने गरेको कारण ठगीका घटना बढिरहेको छ । इसेवा वा खल्तीका वास्तविक प्रयोगकर्ता अर्कै हुने र खाता खोलिने व्यक्ति अर्कै हुँदा ठगीका घटनामा संलग्नलाई कारबाही गर्न पनि नसकिएको कोइरालाको भनाई छ । यद्यपि कुनै व्यक्ति उजुरी लिएर कार्यालयमा आएमा अनुसन्धान र कारबाही गर्ने एसपी कोइरालाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप