शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चौबीस जिल्लामा सतप्रतिशत धान रोपाइँ सकियो

सोमबार, ३० साउन २०७९, १६ : ५५
सोमबार, ३० साउन २०७९

यसवर्ष समयमा पानी परेकाले वर्षे धान रोपाइँ उत्साहजनक रुपमा सकिएको छ । नेपालमा हिमाल पारीका दुइजिल्ला मनाङ र मुस्ताङ बाहेक ७५ जिल्लामा रोपाइँ सकिएको हाे ।

चौबिस जिल्लामा सतप्रतिशत रोपाइँ भएको कृषि विभागले जनाएको छ ।  नेपालमा वर्षे धान साउन महिनाभर रोपिन्छ । यसवर्ष कर्णाली प्रदेशमा ९९ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष त्यहाँ ९८ प्रतिशत रोपाइँ भएको थियो । कर्णाली प्रदेशमा १० जिल्ला छन् । उक्त प्रदेशका जुम्ला, कालीकोट, मुगु, डोल्पा, हुम्ला, रुकुम पश्चिम र जाजरकोटमा सतप्रतिशत रोपाइँ भएको छ । नेपालमा सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला झापा हो । त्यहाँ यस वर्ष ८४ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ भए पनि  ८७ हजार ५०० हेक्टर जमिनमा धान खेती गर्न सकिन्छ । संसारको सवैभन्दा उच्चस्थानमा धानखेती हुने जुम्ला जिल्लाको छुमचौर हो ।  सबैभन्दा धेरै धान उत्पादन हुने झापा जिल्लालाई सरकारले धान उत्पादनको सुपर जोन घोषणा गरेको छ ।  
 
कर्णाली प्रदेशमा ९९ प्रतिशत  रोपाइँ हुँदा ३८ हजार तीनसय १६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । कूल ३८ हजार ८८६ हेक्टर जमिनमा  धान रोपाइँ गर्न सकिने  कर्णालीलाई  सुख्खा प्रदेश भनिन्छ  तर यसवर्ष समयमा वर्षा भएकाले कर्णाली भोकमरीको चपेटामा नपर्ने संकेत देखिन्छ । नेपालको अर्थतन्त्रमा धानको ठूलो महत्व छ । धानको उत्पादन बृद्धि हुँदा अर्थतन्त्र बलियो हुन्छ भने  उत्पादन घट्दा कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा असर पर्छ । उत्पादन बढ्दा जिडिपी माथि उक्लन्छ । कृषि क्षेत्रको उत्पादनमा  धानको योगदान १२ प्रतिशत  छ । 

यसवर्ष प्रदेश नं. १ को सोलुखुम्बु, ओखलढुङ्गा, वाग्मती प्रदेशको धादिङ, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, र चितवन, गण्डकी प्रदेशको म्याग्दी, स्याङ्जा, बाग्लुङ, नवलपुर, लुम्बिनी प्रदेशको बर्दिया, र सुदूरपश्चिम क्षेत्रको दार्चुला, बझाङ, बाजुरा र कञ्चनपुरमा सतप्रतिशत रोपाइँ भएको छ । “यसवर्ष हामी खुसी छौँ ।” भक्तपुरका  अगुवा किसान रामकृष्ण ढकालले भने ।  जेठ १५  देखि नै  मनसुन सक्रिय भइ समयमा रोपाइँ भएकाले यसवर्ष धेरै किसान खुसी देखिएका छन् । मौसमले साथ दिएपनि अझैसम्म केही किसानले  रासायनिक मल भने पाउन सकेका छैनन् । 

गतवर्षको यसै अवधिमा ९७ प्रतिशत  क्षेत्रफलमा रोपाइँ भएको थियो ।  गत वर्ष १३ लाख ४२ हजार ८१९ हेक्टर जमिनमा धान रोपाई भएको थियो तर यसवर्ष सोही अवधिमा १४ लाख १७ हजार १३१ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । गत वर्षभन्दा यसवर्ष ७४ हजार ३१२ हेक्टर बढी क्षेत्रफलमा धान रोपाइँ भएको छ ।  । नेपालमा झन्डै १६ लाख हेक्टर जमिनमा धान खेती गरिन्छ । यसवर्ष कर्णाली प्रदेश र  सुदूर पश्चिममा ९९ प्रतिशत,  लुम्बिनीमा ९०, बागमतीमा ९७, मधेश प्रदेशमा ९३ र प्रदेश १ मा पनि ९३ प्रतिशत क्षेत्रफलमा रोपाइँ  भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप