बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : चुनावी गठबन्धनका लागि दलहरूलाई चटारो, उम्मेदवार बन्न तम्सिए युवा नेता

काठमाडौंको फोहोरमा राजनीतिक दाउपेच
सोमबार, ३० साउन २०७९, २१ : २१
सोमबार, ३० साउन २०७९

आज २०७९ साउन ३० गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’ मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा नागरिकता विधेयक फिर्तापछि यस्तो छ सरकारको तयारी, नागरिकता विधेयक फिर्ता : कतै विरोध, कतै समर्थन,सत्ता गठबन्धनको कार्यदलको बैठक निष्कर्षविहीन, काठमाडौंको फोहोरमा राजनीतिक दाउपेच, पाँच बुँदे सहमतिपछि वीरगञ्ज महानगरले छाड्यो मल लोड भएका ट्रक, चुनावी गठबन्धनका लागि दलहरूलाई चटारो, आसन्न निर्वाचनमा उम्मेदवार बन्न तम्सिए युवा नेता लगायत छन् ।

१. नागरिकता विधेयक फिर्तापछि यस्तो छ सरकारको तयारी
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता सम्बन्धी विधेयक फिर्ता गर्नुलाई सरकारले संवैधानिक प्रक्रियाकै रुपमा लिँदै यसलाई संवैधानिक प्रक्रियाबाटै निकासमा लैजाने योजना बनाएको छ । विधेयक फिर्तापछि सरकारले औपचारिक धारणा सार्वजनिक नगरे पनि केही मन्त्रीले उक्त विधेयकलाई फेरि संसदले पारित गरेर राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि पठाउने जानकारी दिए । संविधानविद्हरुले पनि विधेयक फिर्ता गर्नु राष्ट्रपतिको संवैधानिक अधिकार भएको बताएका छन् । यद्यपि, उस्तै प्रकृतिको अध्यादेश स्वीकृत गरेर विधेयक फिर्ता गर्नुको नियतमा भने प्रश्न गर्न सकिने उनीहरुको भनाइ छ ।

​२. नागरिकता विधेयक फिर्ता : कतै विरोध, कतै समर्थन
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता सम्बन्धी अध्यादेश फिर्ता गरेकोमा कतै विरोध प्रदर्शन भइरहेको छ भने कतै समर्थनमा वक्तव्यबाजी भइरहेको छ । तराई मधेसमा विरोध प्रदर्शन भइरहँदा केही साना दलले भने विधेयक फिर्ताको समर्थन गरेका छन् ।

​३. सत्ता गठबन्धनको कार्यदलको बैठक निष्कर्षविहीन
सत्ता गठबन्धनको कार्यदलको बैठक बिना निष्कर्ष सकिएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक बिना निष्कर्ष टुंगिएको हो । अर्को बैठक बुधबार ४ बजे बस्ने जनाइएको छ । कार्यदलको बैठकमा अहिलेसम्म ठोस रुपमा छलफल अगाडि नबढेको काँग्रेस महामन्त्री गगन थापाले बताए । 

४. चुनावी गठबन्धनका लागि दलहरूलाई चटारो
सत्तारुढ पाँच दलबीच चुनावमा तालमेल हुने भएसँगै अन्य दल पनि गठबन्धनका लागि पहल गरिरहेका छन् । राप्रपाले पनि गठबन्धनका लागि पहल गर्ने भएको छ । यसका लागि अध्यक्ष राजेन्द्र लिङदेनलाई पार्टीले जिम्मेवारी दिएको छ । यता जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग गठबन्धनबारे छलफल गरेका छन् ।

५. काठमाडौंको फोहोरमा राजनीतिक दाउपेच
काठमाडौं उपत्यकामा फोहोरको समस्या बल्झिँदै गएको छ । काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापनमा लगातार अवरोध झेल्दै आएको छ । राजनीतिक स्वार्थका आधारमा फोहोर व्यवस्थापनको विषयलाई दलहरुले हेर्ने गर्दा राजधानीवासी भने असुविधान झेल्न बाध्य हुँदै गएका छन् ।

६. पाँच बुँदे सहमतिपछि वीरगञ्ज महानगरले छाड्यो मल लोड भएका ट्रक
वीरगञ्ज महानगरपालिकाले रासायनिक मल लोड गरिएका ट्रकहरु लोड भएको अवस्थामा कब्जामा लिएपछि सोमबार खैलाबैला मच्चियो । पर्साका किसानलाई मल नहुने तर आफ्नै घर आँगनबाट ट्रकका ट्रक मल अन्यत्र पठाइएको भन्दै महानगरले मल लोड भएका ट्रक नियन्त्रणमा लिएको थियो । सोमबार पाँच बुँदे सहमतिपछि भने महानगरले ती ट्रक छाडिदिएको छ ।

७. स्थानीय तहका जनप्रतिनिधिलाई काँग्रेसको अभिमुखीकरण
नेपाली काँग्रेसले आफ्नो पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिका लागि राजधानीमा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउने गरी खटिन आफ्ना जनप्रतिनिधिलाई निर्देशन दिएका छन् ।

८. संक्रमणकालीन न्यायलाई छिटो टुङ्गोमा पुर्याउन पीडित परिवारको माग
द्वन्द्वपीडित साझा चौतारी, बेपत्ता परिवार राष्ट्रिय सञ्जाल लगायतका संघ संस्थाले संक्रमणकालीन न्यायलाई छिटो टुङ्गोमा पु¥याउन कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालालाई आग्रह गरेका छन् । सोमबार कानुन मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै द्वन्द्व पीडितहरूको संघ–संस्थाले संसदमा पेस गरिएको विधेयक केही परिमार्जन गरी छिटो अगाडि बढाउन आग्रह समेत गरेका छन् ।

९. आसन्न निर्वाचनमा उम्मेदवार बन्न तम्सिए युवा नेता
प्रमुख राजनीतिक दलका युवा नेताहरु आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा जबरजस्त उपस्थिति जनाउने तयारीमा छन् । राजनीतिमा युवा पुस्ताको आकर्षण बढ्दै गएको समयमा मुख्यतः नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका युवा नेताहरु संघीय संसदमा इन्ट्री मार्न चुनावी मैदानमा उत्रिने गृहकार्यमा देखिन्छन् । 

१०. र यो पनि,
न्यायाधीशमाथि छानबिन तीव्र पारेको न्याय परिषद्ले चार जिल्ला न्यायाधीशको छानबिन सकाएको छ । न्याय परिषद् स्रोतका अनुसार छानबिनमा परेका चार जिल्ला न्यायाधीशको प्रतिवेदन न्याय परिषद्मा पेस भएको छ ।  

काठमाडौं उपत्यकामा ठगीको नयाँ तरिका प्रकाशमा आएको छ । भाडामा कोठा उपलब्ध गराउने भन्दै सेवाग्राहीसँग सर्भिस चार्जबापत विद्युतीय माध्यमबाट पाँच सय रुपैयाँ लिएर सम्पर्कविहीन हुने घटना प्रकाशमा आएको हो ।

केहीदिन यताको लगातार करेक्सनपछि सोमबार सेयर बजार परिसूचक नेप्सेमा ५५ अंकमाथिको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यसदिन नेप्से सूचक ५५.८८ प्रतिशतले वृद्धि हुँदै २ हजार ६५.८९ अंकमा उक्लिएको हो ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप