शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गायिका स्मिता घिमिरेको निधन

सोमबार, ३० साउन २०७९, २२ : ०१
सोमबार, ३० साउन २०७९

गायिका स्मिता घिमिरेको निधन भएको छ । करिब तीन वर्षदेखि क्यान्सर रोगबाट पीडित गायिकाको साेमबार साँझ ललितपुरको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

मोरङ समाज काठमाडौंले सामाजिक सञ्जालमा एक सूचना प्रकाशित गर्दै गायिका घिमिरेको असामयिक निधनले मोसका परिवार मर्माहत भएको जनाएको छ । समाजका अध्यक्ष नरेन्द्र खतिवडाद्वारा जारी सूचनामा भनिएको छ, ‘अन्तिम दाहसंस्कार पशुपति आर्यघाट आज मिति २०७९ साल श्रावण ३० गते सोमबार बेलुका ९ बजे गरिनेछ ।’

घिमिरे पछिल्लो पटक बोनम्यारोको क्यान्सरबाट पीडित थिइन् । उनको सोमबार साँझ नै पशुपति आर्यघाटमा अन्तिम संस्कार भएको छ । गायिका घिमिरेले थुप्रै नेपाली गीतहरू गाएकी छन् । केही महिना अगाडि आफ्नो जीवनकै पहिलो उपन्यास ‘हराएको मुस्कान’ समेत उनले सार्वजनिक गरेकी थिइन् । ४–५ वर्षको उमेरदेखि नै गायनमा सक्रिय उनले संगीतकार दीपक जंगमसँग संगीतको औपचारिक प्रशिक्षण लिएपछि व्यवसायिक  रुपमा गायन क्षेत्रमा काम थालेकी थिइन् ।

मनोविज्ञान र नेपालीमा स्नातक गरेकी गायिका घिमिरेले यो अवधिमा सुगम संगीतमा आधारित थुप्रै गीत तथा गीति संग्रह सार्वजनिक गरेकी थिइन् । सांगीतिक क्षेत्रमा सक्रिय रहेको बेला तथा उपन्यासलाई अन्तिम स्वरुप प्रदान गरिरहेको बेला करिव साढे दुई वर्षअघि गायिका घिमिरेलाई देब्रे स्तनमा क्यान्सर देखिएको थियो ।

प्रशस्त आत्मविश्वासले भरिएकी ऊर्जाशील गायिका घिमिरेले काठमाडौंमै स्तन क्यान्सरको शल्यक्रिया गराएर त्यसमाथि विजय प्राप्त गरेकी थिइन् । केही साताअघि नेपाली कलाकारहरुको एक समूहले गायिका घिमिरेलाई उनकै निवासमा पुगेर स्वास्थ्यलाभको कामना गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप