शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

साउने सोमबार व्रत समापन

सोमबार, ३० साउन २०७९, २२ : २०
सोमबार, ३० साउन २०७९

सौरमासअनुसार साउनको पहिलो सोमबारदेखि देवादिदेव महादेवको पूजा आराधनासहित व्रत बसेका भक्तजनले आज गोदान, पूर्णपात्र गरी व्रत समापन गरेका छन् ।  केही भक्तजनले शिवको विशेष पूजा आराधना गरी साउने सोमबारको व्रत समापन गर्ने गरेका छन् । धेरैजसो भक्तजनले भने साउन महिनाका पाँचवटै सोमबार गरेको व्रत समापनका लागि गोदान, पूर्णपात्र गर्ने गर्छन् । पशुपतिनाथ मूल मन्दिर परिसरमा गोदान, पूर्णपात्र गर्न बस्ने ब्राह्मण पुरोहित र व्रतालु भक्तजनको घुइँचो थियो । 

विशेष गरी वैदिक सनातन हिन्दू धर्मावलम्बीले साउनको सोमबार नियमित व्रत बस्ने गर्छन् । साउन महिना र सोमबारलाई शिवजीको महिना एवं बार भनी धर्मग्रन्थमा उल्लेख गरिएको छ । साउनको सोमबार जलधारा मात्र दिए पनि शिवजी प्रसन्न भई इच्छा पूरा गरिदिने, पारिवारिक सुख शान्ति दिने भएकाले सनातन धर्मावलम्बीले विशेष महिनाका रुपमा मनाउने गरेका छन् । साउनको पनि सोमबार विशेष मानिन्छ ।

धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम शिवजीले चन्द्रमालाई शिरमा धारण गरेकाले सोमबारलाई शिवजीको बारका रुपमा मानी यस दिन आराधना गर्ने गरिएको बताउँछन् ।

परम्पराअनुसार कुनै कुल विशेषले चन्द्रमास अनुसारका श्रावण महिनामा साउने सोमबारको व्रत गरे पनि कर्कट राशिमा सूर्य भएका सोमबार विशेष रुपमा शिवजीको आराधना गर्ने शास्त्रीय विधि रहेको उनले सुनाए । यसवर्ष साउन २, ९, १६, २३ र ३० गते गरी पाँच सोमबार परेकामा आज अन्तिम सोमबार व्रत विशेष पूजा वा गोदान, पूर्णपात्र गरी विधिपूर्वक समापन गरिएको हो । 

नयाँ व्रत सुरु गर्नेले पाँच सोमबार परेको वर्षबाट सुरु गर्नुपर्छ भनी लोकमा गरिने व्यवहारमा शास्त्रीय मत नमिल्ने पनि धर्मशास्त्रविद् गौतमले जानकारी दिए । शास्त्रीय मान्यताअनुसार चार सोमबार परेको वर्षबाट पनि नयाँ व्रतालुले आराधना गर्न सक्छन् ।

साउने सोमबारको व्रत गरेमा यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त गरिने शिव पुराणलगायत धर्मग्रन्थमा उल्लेख गरिएको छ । साउने सोमबार र तीजको हरितालिका व्रत महिलाले मात्र गर्नुपर्ने भन्ने व्यवहारमा देखिए पनि शास्त्रीय मतअनुसार महिला पुरुष दुवैले यो व्रत गर्नुपर्छ । प्रायः परिवारमा महिलाले सबैको प्रतिनिधित्व गरेर व्रत बस्ने गरेका हुन् । 

धेरैले शिवजीको महिना भनी साउनमा मांस, मदिरा सेवन गर्दैनन् । शिवजीलाई जलधारा प्रिय हुने भएकाले यस महिनामा पवित्र तीर्थस्थलबाट जल लगेर पशुपतिनाथलगायत शिवालयमा चढाउने भक्तजनको पनि भीड लागेको थियो ।

बोल बम यात्रीले वाग्मती मुहान क्षेत्र सुन्दरीजलबाट पशुपतिसम्म खाली गोडा पैदल यात्रा गरी जल चढाएका छन् । भोलेनाथ काँवरिया सङ्घ, बोल बम काँवरिया सङ्घलगायत संस्थाले यसवर्ष बोल बम काँवर यात्रा सम्पन्न गरेका छन् । धेरै नेपालीले वर्षमा एक पटक साउन महिनामा घरमा वैदिक रुद्राभिषेकसमेत गर्ने परम्परा छ ।

साउनको अन्तिम सोमबार आज गोकर्णेश्वर महादेव मन्दिर, नागेश्वर महादेव मन्दिर, डोलेश्वर महादेव मन्दिर, सन्तानेश्वर महादेव मन्दिरलगायत देशभरका शिवालया गोदान, पूर्णपात्र गरी साउने सोमबारको व्रत समापन गर्ने भक्तजनको भीड लागेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप