बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

श्याम थापा : पेले र म्याराडोनासँग मैदान सेयर गरेका लिजेन्ड

मङ्गलबार, ३१ साउन २०७९, ०९ : ३३
मङ्गलबार, ३१ साउन २०७९

पेले र म्याराडोनासँगै खेल्नु सबै फुटबल खेलाडीको सपना हुन्थ्यो । तर त्यो सहज भने थिएन । त्यसमाथि दक्षिण एसियाका खेलाडीका लागि दुई लिजेन्डसँग मैदान सेयर गर्ने कुरा धेरै टाढाको कुरा थियो । नेपाली भूमिमा जन्मिएका श्याम थापाले भने त्यो स्वर्ण अवसर पाए । उनले पेले र म्याराडोनासँग मैदान सेयर गरे । 

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक थापाले नेपाली फुटबलका लागि धेरै योगदान गरेका छन् । भारतीय राष्ट्रिय टोलीबाट खेले पनि उनी नेपालका धेरै फुटबल खेलाडीका लागि प्रेरणाका स्रोत हुन् । नेपालको गुल्मीमा जन्मिएका थापासँग इस्ट बंगाल, मोहन बगान र भारतीय राष्ट्रिय टिमबाट खेल्नेदेखि प्रशिक्षक जीवनका थुप्रै अनुभव छन् । 

थापाले सन् १९७७ मा पेलेविरुद्ध खेल्ने मौका पाएका थिए । मोहन बगानबाट खेलिरहेका थापाले पेलेविरुद्ध खेल्न पाउने कुराले धेरै उत्साहित बनायो । पेले सम्मिलित अमेरिकाको न्युयोर्क कसमस टिम भारत आएको थियो । विश्व फुटबलमा राज गरिरहेको व्यक्ति आफ्नै देशमा आउँदा कुन फुटबल प्रेमी उत्साहित हुँदैन र ? पेलेको टिम उनको टिम मोहन बगानसँग मैत्रीपूर्ण खेलका लागि भारत आएको थियो । 

मैत्रीपूर्ण खेलका लागि टिकटको चर्चा सुरु भइसकेको थियो । उक्त खेल कोलकाताको इडेन गार्डन रंगशालामा हुने तय भयो । रंगशालामा ९० हजार जति उपस्थित थिए । मैदानबाहिर पनि भिड त्यतिकै थियो । पेलेलाई हेर्न दर्शकहरू सबै त्याग गर्न तयार थिए । 

थापाले आफूहरू पनि पलेसँग खेल्न र उनीसँग फोटो खिच्न पाउने कुराले उत्साहित रहेको बताए । ‘विश्व फुटबल कै महान् खेलाडी भारत आएको समय । दर्शकहरूको भिडमा जताततै उनको नाम गुञ्जिरहेको थियो । हामी खेलाडीहरू उनीसँग खेल्न आतुर थियौँ, फोटो खिच्न र उनलाई छुनका लागि पनि । फोटो खिच्ने कुरामा प्रशिक्षकबाट गाली पनि खायौँ,’ थापाले त्यो क्षणलाई सम्झेँ । 

थापाका लागि उक्त खेल झनै अविस्मरणीय बन्यो किनभने उनले उक्त खेलमा गोल पनि गरे । मोहन बगान २–१ गोलले पछि परिरहेको समयमा थापाले गोल गर्न सफल भएका थिए । उनको सोही गोलको सहयोगमा मोहन बगानले खेल बराबरीमा सकायो । 

‘टिम २–१ गोलले पछि परेको थियो । न्युयोर्क कसमसमा ब्राजिलका पूर्व कप्तान कार्लोस अल्बार्टो गोलरक्षक थिए । मैले कार्लोसलाई कटाएर गोल हानेँ । त्यो गोलपछिको आवाज मेरो स्मरणमा अझै ताजा छ,’ थापाले भने । 

त्यो खेलमा थापालाई पेलेले सम्झिएको अझै याद छ । भारतीय पत्रकारले पेलेलाई कुन खेलाडीको खेल राम्रो लाग्यो भन्दा पेलेले उनलाई स्मरण गरेका थिए । पेलेले थापाको नाम थाहा नपाएपनि थापाको जर्सी नम्बर २२ लाई इङ्गित गरेका थिए । 

थापासँग म्याराडोनाविरुद्ध खेलेको अनुभव पनि छ । उनले राष्ट्रिय टोलीबाट या क्लबबाटको खेलमा म्याराडोनासँग खेलेका भने होइनन् । थापाले भेट्रान टिमबाट खेले । थापाले म्याराडोनासँग खेल्दा उनले एक टोलीको कप्तानी गरेका थिए भने अर्को टोलीको कप्तानी म्याराडोनाले गरेका थिए । सन् १८८७ मा थापाले म्याराडोनासँग मैदान सेयर गर्ने मौका पाएका थिए । 

यसरी विश्व फुटबलका ठूला हस्तीसँग मैदान सेयर गर्न पाउँदा थापा आफूलाई भाग्यमानी ठान्छन् । ‘नेपालको छोरा म । पले र म्याराडोना जस्ता खेलाडीसँग मैदान सेयर गरेको छु । मलाई यो कुराको गर्व छ,’ थापाले भने । 

नेपालको गुल्मीमा जन्मिएका थापाले सन् १९७० देखि १९७७ सम्म भारतको राष्ट्रिय टोलीबाट खेलेका थिए । थापा सन् २००६ देखि २००७ सम्म नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक थिए । थापा सन् १९७० को एसियन गेम्सका ब्रोन्ज मेडलिस्ट पनि हुन् । थापा अहिले भारतीय फुटबल महासंघको प्राविधिक समितिमा पनि छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप