शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पौराणिक कथा : चाहना भए असम्भव केही पनि हुँदैन

मङ्गलबार, ३१ साउन २०७९, ११ : १८
मङ्गलबार, ३१ साउन २०७९

नेपालीमा एउटा उखान छ खाने मुखलाई जुँगाले छेक्दैन । उखानहरू बहुअर्थी हुन्छन् । अनेक स्थानमा प्रयोग हुन्छन्, प्रयोग गर्न सकिन्छ । यो उखान पनि त्यस्तै हो । यसका धेरै अर्थ छन्, अवस्था अनुसार धेरै स्थानमा प्रयोग गर्न सकिन्छ । यीमध्ये एउटा हो गर्न चाहने मानिसलाई समयको अभव हुँदैन । आफूसँग जति सयम छ वा जति समय पाइएको छ त्यसैबाट जस्तोसुकै काम पनि पूरा गर्न सकिन्छ ।

भागवतमा एउटा कथा छ, व्यासजीले भनेका । प्राचीनकालमा सूर्यवंशमा खट्वाङ्ग नामका राजा थिए । धार्मिक प्रकृतिका यी राजा जति ज्ञानी, गुणी र विवेकी थिए त्यति नै यहयोगी र पराक्रमी पनि थिए । आपतविपदमा उनीसमक्ष सहयोग माग्न स्वर्गका देवताहरूसमेत आउने गर्थे । उनको स्वभाव नै यस्तो थियो कि जसले जे भने पनि हुनेसम्म र सक्नेसम्म सहयोग गर्थे ।

इतिहासमा अहिलेसम्म छैन कतिवटा राजामहाराज भइसके । तीमध्ये अधिकांश इतिहासको गर्तमा यसरी पुरिएर गए कि नामोनिशानै छैन । कति त यस्ता राजामहारा पनि भए, जसको नामै लिन पनि सितिमिति कोही चाँहदैनन् । लिनै परे पनि घृणा वा खलपात्रका रूपमा लिने गरेको पाइन्छ । रावण, कंश, जरासन्ध आदि यस्तै पात्र हुन् तर कतिपय यस्ता राजामहाराज पनि भएका छन्, जसलाई समाजले अहिलेसम्म पनि सम्मानपूर्वक सम्भना गर्दै आएको छ । राजा खट्वाङ्ग पनि यस्तै राजामा पर्थे । यसको कारण थियो उनले गरेका सेवा सहयोग र देखाएका सद्भाव आदि नै । शरीर मर्छ मर्ने नै हो । जसले पनि ढिलोचाँडो मर्नैपर्छ तर उसले गरेका राम्रो कामको सम्भना भने पछिसम्म पनि कायम रहन्छ । राजर्षि खट्वाङ्ग यसैका प्रतिनिधि पात्र हुन् ।

एकपटक असुरहरूले स्वर्गमाथि आक्रमण गरे । असुरहरूका स्वभावै त्यस्तै मौका पाउनासाथ अरूलाई दुःख दिहाल्ने, मारकाट गरिहाल्ने । उनीहरू विना कारण जति बढी अरूको प्राण लिन पाइयो वा सकियोे त्यति नै खुुसी हुने गर्थे । अरूको प्राण लिन चाहने वा प्राण लिन नहिचकिचाउने भएकैले उनीहरूलाई असुर भनिएको हो ।

असुरहरू खासगरी सुर अर्थात् देवताहरूलाई जानी दुष्मन मान्थे । हमेशा मौका कुरेर बस्थे र अलिकति अवसर पाउनासाथ देवताहरूलाई दुःख दिन पुगिहाल्थे । यसरी असुरहरूबाट बारम्बार हुने अत्याचारबाट देवताहरू हैरान थिए । तैपनि कुनै उपाय थिएन । कि स्वर्ग छाडेर भाग्नुपर्ने हुन्थ्यो कि असुरहरूका आक्रमणलाई प्रत्याक्रमण गर्न तत्पर भएर बस्नुपर्ने हुन्थ्यो ।

एकपटक उनीहरूलाई निकै गाह्रो प¥यो । केही यस्ता पराक्रमी असुरहरू स्वर्गमाथि आक्रमण गर्न आएकि तिनीहरूमाथि विजय पाउन निकै गाह्रो प¥यो । त्यसैले सहयोग माग्न उनै खट्वाङ्ग समक्ष गए । उनले पनि आफ्नो स्वभाव अनुसार नाइनास्ति केही नभनी तत्कालै असुहरूसँग युद्ध गर्न स्वर्ग गए । केही दिनको युद्धपछि उनीहरूमाथि विजय हासिल गरी फर्कन के लागेका थिए देवताहरूले आफूहरूलाई उनले लगाएका गुन बिर्सन सकेनन् र विनम्रतापूर्वक भने–

‘महात्मन् ! आभारी छौँ सहयोगका लागि । गुन तिर्ने तागत त हामीसँग छैन । तैपनि कुनै अवश्यकता छ भने भन्न सक्नुहुन्छ ।’ 

देवताहरूको आग्रह सुनेर खट्वाङ्गले केही सोचेजस्तो गर्दै भने–

‘के भनौँ खोइ, यहाँहरूका सद्भावले र भगवान्को कृपाले सबै छन् । मुख्य कुरो त मन हो । मन असन्तुष्ट भए जति भए पनि पुग्दैन । सन्तुष्ट भए जति छ त्यतिबाटै काम चलाउन सकिन्छ । तैपनि भनिहाल्नुभयो कुन चीज चाहिने भए त भनौँला नै तर पहिले यो बताउनुस् कि मेरो आयु कति बाँकी छ ।’

उनको कुरा सुनेर देवताहरूले आश्चर्य मान्दै भने–

‘यहाँले आफूलाई चाहिने चीज नमागेर किन आयु सोध्नुभयो त्यो त थाहा छैन । सायद थाहा नभएर पनि हुन सक्छ तर के चाहिँ भन्न सक्छौँ भने हामीसँग वरदानी शक्ति छ । त्यसैले जे मागे पनि पाउन सक्नुहुन्छ ।’

‘कुरा त सही हो तर ...।’ खट्वाङ्गले अनकनाउँदै भने

‘जीवन रहे नै सबै हुने हो । जीवन नै नरहे के गर्ने । त्यसैले आयु सोधेको हुँ । आयु बाँकी भए मात्र वैभवले काम गर्ने हो । आयु नै छैन भने वैभवको पनि के अर्थ रह्यो र ।’

त्यसपछि देवताहरूले उनको भाग्यरेखा हेर्दै भने–

‘तपाईँको आयु त मात्र दुई घडी अर्थात् ४८ मिनेट मात्र बाँकी रहेछ । अब भन्नुस् के चाहिन्छ ?’

त्यसपछि उनी कुनै उत्तर नदिई भगवान्को ध्यानमा बसे । अन्ततः त्यही दुई घडी समयलाई सदुपयोग गरी मुक्ति प्राप्त गरे ।

यस कथामा केकति सत्यता छ त्यो त व्यासजी नै जानुन् तर गर्न चाहने मानिसलाई समयको अभाव हुँदैन । आफूसँग जति समय छ वा जति समय आफूले पाइएको छ त्यसैलाई सदुपयोग गरी उद्देश्य पूरा गर्न सकिन्छ । सयम भएन, समयले दिएन वा समय पुगेन भनेर पन्छिने त केही पनि गर्न नचाहनेले मात्र हो । गर्न चाहनेका लागि संसारका कुनै पनि तागतले रोक्न सक्दैन । जब राजा खट्वाङ्गले दुई घडीमै मुक्तिजस्तो दुर्लभ मानिएको अवस्था त प्राप्त गर्न सके भने अरू चीजको के कुरा भयो र । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप